शाक्यमुनि बुद्ध र अन्य बुद्ध सम्बन्धित यी प्राचीन स्थानहरु

पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौँ संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बुद्ध (क्रकुछन्द र कनकमुनि) को जन्मस्थलको चर्चा र महिमा अझैसम्म ओझेलमा परेको छ । लुम्बिनी र यस आसपासमा बुद्धको जन्मस्थल मायादेवी मन्दिर बाहेक अन्य थुप्रै स्थान रहेका छन् । ती मध्ये केही यसप्रकार छन् ।

ओझेलमा परेको गोटिहवा (क्रकुछन्द बुद्ध)
शाक्यमुनि गौतमवुद्धको जन्मस्थल लुम्बिनीबाट करिब ३१ किमी दूरीको यात्रापछि क्रकुछन्द बुद्धको जन्मस्थल गोटिहवा पुगिन्छ । क्रकुछन्दले बुद्धत्व प्राप्ति गरेको तथा बुद्ध प्राप्ति गरेपश्चात पहिलोपटक बुबासँग भेट भएको पवित्र स्थलको रुपमा गोटिहवालाई लिइन्छ । इपूको तेस्रो शताब्दीमा सम्राट अशोकले यस पवित्र स्थलमा आई आफैँले शीलास्तम्भ गाडी यहाँको स्तुप निर्माण गरेका थिए ।

कुदान (प्राचीन निग्रोधारामा)
कपिलवस्तुको तौलिहवाबाट तीन किमीको दूरीमा पर्ने कुदान प्राचीन निग्रोधराको नामले चिनिन्छ । यस स्थलमा शाक्यमुनि बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछि तीनसय भिक्षुका साथ आएर उपदेश दिनुभएको थियो । यस पवित्र धार्मिक स्थलमा हाल तीनवटा स्तुप, एक पोखरी र एक इनार रहेका छन् ।

निग्लिहवा (कनकमुनि बुद्ध)
कपिलवस्तुको तौलिहवाबाट आठ किलोमिटर दूरीमा पर्ने निग्लिहवा शाक्यमुनि बुद्ध पूर्वका कनकमुनि बुद्धको जन्मस्थलको रुपमा लिइन्छ । जहाँ सम्राट अशोकले शिला निर्माण गरेका थिए अहिले उक्त पिलर ढलेको छ ।
तिलौराकोट

तौलिहवाबाट तीन किमीको यात्रापछि तिलौराकोट पुगिन्छ । तिलौराकोट दरबारको भग्नावशेष छ । यहाँ विगत छ वर्षदेखि विभिन्न अनुसन्धान तथा उत्खननको कार्य भइरहेको छ । कोषका सदस्य–सचिव बस्नेतका अनुसार अहिले कपिलवस्तुमा उत्खननको कार्य सञ्चालन भइरहेको छ । तिलौराकोट, रामग्रामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारले युनेस्कोलाई प्रस्ताव गरेको कोषले जनाएको छ ।

लुम्बिनी
एक हजार १५५ बिघा क्षेत्रफलमा फैलिएको लुम्बिनीभित्रका सातवटा गाउँलाई तत्कालीन राज वीरेन्द्रका पालामा सरकारले परिवारलाई मुआब्जा दिएर एउटै क्षेत्र बनाएको थियो । सन् १९६७ मा एक जापानी नागरिक केन्जो टाँगेले गुरुयोजना तयार पारी तीनवटा क्षेत्र सेक्रेट गार्डेन, स्तुप क्षेत्र र नयाँ लुम्बिनी गाउँको रुपमा विभाजन गरी विभिन्न देशले बुद्धको आकर्षक स्तुप बनाएका छन् ।
– रासस

Share

Related posts

Leave a Comment