कृत्रिम बुद्धिमत्ताको नैतिकतामाथि बौद्ध दर्शनको बहस : एल्गोरिदममा पनि जिम्मेवारी खोज्नुपर्ने तर्क

काठमाडौं, २० कार्तिक: कृत्रिम बुद्धिमत्ता (एआई)को प्रयोग विश्वभर विस्तार भइरहेका बेला यसको नैतिकता र जिम्मेवारीबारे नयाँ बहस सुरु भएको छ । एआईले गर्ने निर्णयका कारण कुनै व्यक्ति ऋण पाउनबाट वञ्चित भयो, रोजगारीमा विभेद भयो वा आर्थिक तथा सामाजिक क्षति बेहोर्नुपर्‍यो भने त्यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न अहिले महत्त्वपूर्ण बन्दै गएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध सञ्चारमाध्यम बुद्धिस्टडोर ग्लोबलमा नोभेम्बर ५ मा प्रकाशित अमेरिकी विद्यार्थी ग्याभिन लामको आलेखले यस विषयलाई बुद्धको दर्शनसँग जोडेर व्याख्या गरेको छ । अमेरिकाको युनिभर्सिटी अफ सदर्न क्यालिफोर्नियामा कानुन अध्ययनरत लामले आफ्नो आलेखमा बुद्धको चेतना, कर्म, प्रतीत्यसमुत्पाद र करुणासम्बन्धी शिक्षाका आधारमा आधुनिक प्रविधिको नैतिक पक्षबारे चर्चा गरेका छन् ।

आलेखमा बैंकको एआई प्रणालीले पुरानो तथ्याङ्कका आधारमा कुनै व्यक्तिको ऋण आवेदन अस्वीकार गर्ने उदाहरण प्रस्तुत गरिएको छ । व्यक्तिको आम्दानी र ऋण तिर्न सक्ने क्षमता राम्रो भए पनि ऊ बसोबास गर्ने क्षेत्रमा विगतमा ऋण नतिर्ने मानिस धेरै भएकै कारण जोखिमपूर्ण ठहरिन सक्छ । यस्तो अवस्थामा भएको विभेदको जिम्मेवारी बैंक, सफ्टवेयर निर्माण गर्ने इन्जिनियर वा तथ्याङ्क उपलब्ध गराउने संस्थामध्ये कसले लिने भन्ने प्रश्न उठाइएको छ ।

लेखकले बौद्ध दर्शनको ुचेतनाु अवधारणालाई यस बहसको महत्त्वपूर्ण आधार मानेका छन् । बौद्ध कर्म सिद्धान्तमा कुनै कार्य पछाडिको अभिप्रायलाई विशेष महत्त्व दिइन्छ । तर एआईले विभेदपूर्ण निर्णय गर्दा त्यसको पछाडि एउटा व्यक्तिको मात्र नभई कम्पनीको व्यावसायिक उद्देश्य, इन्जिनियरको काम र प्रणालीमा प्रयोग भएको पुरानो तथ्याङ्कको संयुक्त प्रभाव हुन सक्छ । लामले यस अवस्थालाई ुवितरित अभिप्रायु को अवधारणाबाट व्याख्या गरेका छन् । यसको अर्थ एआईमा मानिसजस्तै चेतना हुन्छ भन्ने नभई त्यसले मानवीय तथा संस्थागत निर्णयको प्रभाव फैलाउने माध्यमको काम गर्न सक्छ भन्ने हो ।

त्यसैगरी, बौद्ध दर्शनको प्रतीत्यसमुत्पाद सिद्धान्तले कुनै पनि घटना विभिन्न कारण र परिस्थितिको परिणाम हुने बताउँछ । यही सिद्धान्तलाई आधुनिक प्रविधिमा जोड्दै लेखकले एआईबाट उत्पन्न हुने समस्या समाधान गर्न एउटै व्यक्तिलाई दोष दिएर मात्र नपुग्ने बताएका छन् । सामाजिक सञ्जालमा उत्तेजक सामग्री फैलिनुमा प्रयोगकर्ताको व्यवहार, विज्ञापनबाट हुने आम्दानी र सामग्री सिफारिस गर्ने प्रणाली सबैको भूमिका हुन सक्छ । त्यसैले समस्या उत्पन्न गराउने समग्र संरचनामा सुधार आवश्यक हुने उनको तर्क छ ।

बौद्ध दर्शनमा लोभ, द्वेष र मोहलाई दुःखका प्रमुख कारण मानिन्छ । लेखकले डिजिटल अर्थतन्त्रमा पनि यी प्रवृत्ति देखिन सक्ने बताएका छन् । प्रयोगकर्तालाई लामो समयसम्म सामाजिक सञ्जालमा व्यस्त राखेर नाफा बढाउने उद्देश्यले उत्तेजक सामग्रीलाई प्राथमिकता दिनु संस्थागत लोभको उदाहरण हुन सक्छ । त्यस्तै गलत सूचना र घृणात्मक सामग्रीको प्रसारले सामाजिक द्वेष बढाउन सक्छ । केवल क्लिक र आम्दानीलाई सफलताको मापदण्ड बनाउँदा मानवीय कल्याण ओझेलमा पर्ने उनको चिन्ता छ ।

आलेखमा बुद्धको कालाम सूत्रलाई पनि एआईको नैतिक मूल्याङ्कनसँग जोडिएको छ । कुनै विचार वा व्यवहारलाई परम्परा, प्रतिष्ठा वा अधिकारका आधारमा मात्र स्वीकार नगरी त्यसले हानि गर्छ कि कल्याण गर्छ भन्ने कुरा परीक्षण गर्नुपर्ने बुद्धको शिक्षालाई प्रविधिमा पनि लागू गर्न सकिने लेखकको धारणा छ । कुनै एआई प्रणालीले कम्पनीको नाफा बढायो भन्दैमा त्यो नैतिक रूपमा उचित नहुने भन्दै त्यसले समान अवसर, आर्थिक सुरक्षा र सामाजिक सद्भावमा कस्तो प्रभाव पार्छ भन्ने मूल्याङ्कन आवश्यक रहेको उनले बताएका छन् ।

यसको विकल्पका रूपमा लामले करुणा र परस्पर सहयोगमा आधारित ुकेयर इकोनोमीु अर्थात् हेरचाहमुखी अर्थतन्त्रको अवधारणा अघि सारेका छन् । उनका अनुसार आर्थिक प्रणालीको उद्देश्य नाफा कमाउनु मात्र नभई मानिसको कल्याण, सुरक्षा र सम्मान सुनिश्चित गर्नु पनि हुनुपर्छ । बैंकिङ प्रणालीले कमजोर समुदायलाई विभेद नगर्ने, डिजिटल श्रम प्लेटफर्मले कामदारको उचित पारिश्रमिक सुनिश्चित गर्ने र सामाजिक सञ्जालले सामाजिक कल्याणलाई प्राथमिकता दिने व्यवस्था आवश्यक रहेको उनको तर्क छ ।

एआई आफैँले नैतिक जिम्मेवारी लिन सक्छ भन्ने विषयमा पनि आलेखले स्पष्ट भिन्नता देखाएको छ । प्रविधिले समाजमा नैतिक प्रभाव पार्नु र त्यसले आफैँ नैतिक उत्तरदायित्व वहन गर्नु फरक विषय हुन् । त्यसैले एआईका कारण कुनै व्यक्तिलाई क्षति पुगेमा प्रविधि निर्माण गर्ने कम्पनी, प्रयोग गर्ने संस्था, निर्णय लिने अधिकारी र नियामक निकायको जिम्मेवारी महत्त्वपूर्ण हुने लेखकको धारणा छ ।

यो बहस नेपालका लागि पनि सान्दर्भिक छ । बैंकिङ, डिजिटल भुक्तानी, सामाजिक सञ्जाल, अनलाइन व्यापार र सार्वजनिक सेवामा एआईको प्रयोग बढ्दै जाँदा नागरिकको व्यक्तिगत विवरणको सुरक्षा, निर्णय प्रक्रियाको पारदर्शिता र विभेदरहित सेवाको सुनिश्चितता आवश्यक हुँदै गएको छ । कुनै स्वचालित प्रणालीले नागरिकलाई सेवा दिन अस्वीकार गरेमा त्यसको कारण बुझ्ने र निर्णय सच्याउने व्यवस्था हुनुपर्ने देखिन्छ ।

बुद्धको जन्मभूमि नेपालमा बौद्ध दर्शनलाई धार्मिक अनुष्ठान र ध्यानमा मात्र सीमित नराखी आधुनिक प्रविधि, अर्थतन्त्र र सामाजिक न्यायका विषयसँग जोडेर अध्ययन गर्न सकिने सम्भावना पनि यसले देखाएको छ । करुणा, प्रज्ञा, अहिंसा र मध्यम मार्गजस्ता बौद्ध शिक्षाले प्रविधिको जिम्मेवार प्रयोगका लागि नैतिक दृष्टिकोण प्रदान गर्न सक्छन् ।

आलेखको अर्को रोचक पक्ष लेखकले यसलाई तयार पार्दा कृत्रिम बुद्धिमत्ताको सहयोग लिएको स्वीकार गर्नु हो । एआईले विचार स्पष्ट पार्न र तर्क परिमार्जन गर्न सहयोग गरे पनि मूल विचार र अन्तिम निर्णय आफूले गरेको उनले उल्लेख गरेका छन् । यसले प्रविधिको प्रयोगसँगै मानवीय विवेक र उत्तरदायित्व कायम राख्नुपर्ने आवश्यकतालाई पनि देखाउँछ ।

समग्रमा, कृत्रिम बुद्धिमत्ताको विकाससँगै त्यसको उद्देश्य र सामाजिक प्रभावबारे गम्भीर बहस आवश्यक रहेको आलेखको निष्कर्ष छ । प्रविधि कति शक्तिशाली भयो भन्नेभन्दा त्यसको प्रयोगले मानिसको दुःख कम गर्‍यो कि बढायो, समान अवसर सिर्जना गर्‍यो कि विभेदलाई निरन्तरता दियो भन्ने प्रश्न महत्त्वपूर्ण छ । बुद्धको प्रतीत्यसमुत्पाद, करुणा र प्रज्ञाको शिक्षाले आधुनिक प्रविधिको नैतिक मूल्याङ्कनमा नयाँ दृष्टिकोण दिन सक्ने लेखकको तर्क छ ।

Share

Related posts

Leave a Comment