१९ कार्तिक,काठमाडौं: काठमाडौं उपत्यकाको चोभारमा नयाँ विहार उद्घाटनसँगै नौदिने विशेष धर्मशिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । अक्टोबर २९ देखि नोभेम्बर ६ सम्म आयोजना गरिएको कार्यक्रममा विश्वका विभिन्न देशबाट आएका श्रद्धालु, साधक तथा बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको छ ।
कार्यक्रममा छोक्नी रिन्पोछे र खाम्त्रुल रिन्पोछेले विभिन्न चरणमा बौद्ध दर्शन, ध्यान तथा आध्यात्मिक साधनासम्बन्धी शिक्षा प्रदान गरिरहेका छन् । नौ दिनसम्म सञ्चालन हुने कार्यक्रमलाई तीनवटा खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्ड तीन दिनको रहेको छ । यस अवधिमा गुरु रिन्पोछेसम्बन्धी दीर्घायु अभिषेकलगायत विशेष धार्मिक अनुष्ठानसमेत समावेश गरिएको छ ।
नयाँ शिक्षाकेन्द्रले आधुनिक शिक्षासँगै आध्यात्मिक साधना र बौद्ध दर्शनको अध्ययनलाई जोड दिएको छ । विशेषगरी महिलाहरूको बौद्धिक, आध्यात्मिक तथा व्यक्तिगत क्षमता विकास गर्ने उद्देश्यले शिक्षा र साधनालाई एकीकृत रूपमा अघि बढाइएको छ । यसले महिलालाई परम्परागत धार्मिक भूमिकामा मात्र सीमित नराखी नेतृत्व र आत्मविकासका अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
बौद्ध दर्शनमा प्रज्ञा र करुणालाई मुक्ति मार्गका दुई महत्त्वपूर्ण आधार मानिन्छ । प्रज्ञाले यथार्थको वास्तविक स्वरूप बुझ्ने क्षमता विकास गर्छ भने करुणाले अरूको दुःखप्रति संवेदनशील हुँदै सबै प्राणीको कल्याणका लागि काम गर्ने प्रेरणा दिन्छ । नयाँ शिक्षाकेन्द्रले अध्ययन, ध्यान र दैनिक जीवनको अभ्यासमार्फत यी दुई आदर्शलाई व्यवहारमा उतार्ने लक्ष्य राखेको छ ।
पाँच जना भिक्षुणीबाट सुरु भएको तीन दशक लामो यात्रा अहिले एक सय ५० भन्दा बढी भिक्षुणीको समुदाय र आधुनिक सुविधासम्पन्न शिक्षाकेन्द्रसम्म विस्तार भएको छ । चोभारमा स्थापित नयाँ विहार तथा शिक्षाकेन्द्रले भिक्षुणी शिक्षा, आध्यात्मिक साधना र नेतृत्व विकासमा नयाँ सम्भावना खोल्नुका साथै नेपाललाई अन्तर्राष्ट्रिय बौद्ध अध्ययन तथा साधनाको केन्द्रका रूपमा स्थापित गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


