आनीहरूको शिक्षाका लागि ऐतिहासिक पहल, चोभारमा भेला भए विश्वप्रसिद्ध धर्मगुरु

छोक्नी रिन्पोछेको तीन दशक लामो अभियानले पायो नयाँ स्वरूप

१९ कार्तिक,काठमाडौं: आनीहरुको शिक्षादीक्षा, आध्यात्मिक साधना र आधुनिक अध्ययनका लागि निर्माण गरिएको ‘छोक्नी गेचक लिङ’ विहारको नयाँ परिसर उद्घाटन गरिएको छ । विश्वप्रसिद्ध बौद्ध गुरु छोक्नी रिन्पोछेको पहलमा स्थापित यो केन्द्रलाई आनीहरूको शिक्षा र सशक्तीकरणका क्षेत्रमा महत्त्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ ।

अक्टोबर २६ र २७ मा आयोजित दुईदिने विशेष समारोहमा तिब्बती बौद्ध धर्मका विभिन्न परम्पराका वरिष्ठ गुरु, रिन्पोछे, भिक्षु, भिक्षुणी तथा अन्तर्राष्ट्रिय श्रद्धालुहरू सहभागी भएका थिए ।
उद्घाटन समारोह नवौँ खाम्त्रुल रिन्पोछे ग्याल्वा दोखाम्पा शेद्रुब न्यिमाको विशेष उपस्थितिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा छोकी निमा रिन्पोछे, फाक्छोक रिन्पोछे, खेनछेन नाम्द्रोल रिन्पोछेलगायत विभिन्न बौद्ध परम्पराका वरिष्ठ गुरुहरूको सहभागिता थियो । उद्घाटनपछि अक्टोबर २९ देखि सुरु भएको नौदिने विशेष धर्मशिक्षा कार्यक्रम नोभेम्बर ६ सम्म सञ्चालन हुने तालिका छ । छोक्नी गेचक लिङ विहारको मुख्य उद्देश्य भिक्षुणी तथा बालिकाहरूलाई आध्यात्मिक र आधुनिक शिक्षा एकसाथ उपलब्ध गराउनु हो ।

केन्द्रमा बौद्ध दर्शनको गहन अध्ययन, ध्यानसाधना, धार्मिक अनुष्ठान, परम्परागत बौद्ध कला तथा आधुनिक विषयहरूको अध्ययन गराउने योजना छ । यसअन्तर्गत प्राथमिक विद्यालय, आवासीय सुविधा, उच्च बौद्ध अध्ययनका लागि शेद्रा, तीनवर्षे ध्यानसाधना केन्द्र, अन्तर्राष्ट्रिय ध्यान शिविर सञ्चालन गर्ने भवन तथा विशाल पूजा कक्षको व्यवस्था गरिएको छ ।

छोक्नी रिन्पोछेको अवधारणाअनुसार भिक्षुणीहरूले केवल धार्मिक अनुष्ठान गर्ने अवसर मात्र होइन, बौद्ध दर्शनका विद्वान, ध्यानगुरु तथा आध्यात्मिक मार्गदर्शकका रूपमा विकास हुने अवसर पनि पाउनुपर्छ । उनले महिलाहरूको आध्यात्मिक क्षमता विकासलाई आफ्नो जीवनको प्रमुख उद्देश्य बनाएको बताएका छन् ।

उनको दृष्टिकोणमा महिलाले आधुनिक शिक्षा र प्रामाणिक बौद्ध शिक्षालाई एकसाथ अध्ययन गर्न पाउनुपर्छ । यसरी भिक्षुणीहरूलाई बौद्ध दर्शनको अध्ययन, ध्यानको गहन अभ्यास र सामाजिक जीवनका लागि आवश्यक आधुनिक ज्ञान उपलब्ध गराउने उद्देश्यले नयाँ परिसर निर्माण गरिएको हो ।

पाँच भिक्षुणीबाट सुरु भएको तीन दशक लामो यात्रा

छोक्नी गेचक लिङको इतिहास सन् १९९४ बाट सुरु हुन्छ । त्यस वर्ष पूर्वी तिब्बतको गेचक गोन्पाबाट पाँच जना भिक्षुणी आफ्ना गुरु छोक्नी रिन्पोछेलाई पछ्याउँदै नेपाल आएका थिए । सुरुमा सीमित स्रोतसाधनमा बसोबास गर्दै आएका उनीहरूको सङ्ख्या विस्तारै बढ्दै गयो । समुदाय ठूलो हुँदै गएपछि थप व्यवस्थित आवास र शिक्षाको आवश्यकता महसुस भयो । सन् २००९ मा भिक्षुणीहरूको समुदाय चोभारमा स्थानान्तरण भयो । सन् २०१० मा त्यहाँ ३२ जना भिक्षुणीसहित विहार सञ्चालनमा आएको थियो । त्यसको एक वर्षपछि सन् २०११ मा गोरखाको नुब्री क्षेत्रबाट थप ८२ जना बालिका तथा भिक्षुणीहरू यहाँ आएका थिए । यससँगै विहारको शैक्षिक र आवासीय जिम्मेवारी उल्लेखनीय रूपमा बढ्यो ।

अहिले यस समुदायमा १५० भन्दा बढी भिक्षुणी रहेका छन् ।भिक्षुणीहरूको सङ्ख्या बढ्दै गएपछि पुरानो संरचनाले उनीहरूको आवश्यकता पूरा गर्न कठिन भएको थियो । त्यसैले सन् २०१२ मा नयाँ विहार निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग सङ्कलन अभियान सुरु गरिएको थियो । करिब डेढ दशकको योजना, निर्माण र सहयोगपछि नयाँ परिसर उद्घाटन भएको हो ।

विश्वभरका श्रद्धालुको सहयोग

नयाँ विहार निर्माणमा विभिन्न देशका बौद्ध श्रद्धालु, विद्यार्थी, दातृ संस्था, स्वयंसेवक र छोक्नी रिन्पोछेका अनुयायीहरूले सहयोग गरेका छन् । आयोजकका अनुसार यो परियोजना हजारौँ व्यक्तिको आर्थिक सहयोग, श्रम र समर्पणबाट सम्भव भएको हो ।

छोक्नी रिन्पोछेले नयाँ केन्द्रको उद्घाटनलाई व्यक्तिगत उपलब्धिभन्दा पनि सामूहिक आध्यात्मिक प्रयासको परिणामका रूपमा व्याख्या गरेका छन् । उनले यो केन्द्रले भिक्षुणीहरूको आध्यात्मिक क्षमता विकास गर्दै बौद्ध धर्मको संरक्षण र प्रसारमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् । केन्द्रको लक्ष्य धार्मिक शिक्षा प्रदान गर्नु मात्र नभई मानसिक तथा भावनात्मक दुःख कम गर्न, करुणा विकास गर्न र मानिसको समग्र कल्याणमा योगदान पुर्‍याउनु पनि रहेको आयोजकले जनाएको छ ।

चोभारको ऐतिहासिक तथा आध्यात्मिक महत्त्व

नयाँ विहार स्थापना भएको चोभार काठमाडौं उपत्यकाको धार्मिक, सांस्कृतिक र ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण स्थल हो । बौद्ध परम्परागत कथाअनुसार बोधिसत्व मञ्जुश्रीले चोभारको डाँडा काटेर प्राचीन तालको पानी बाहिर निकालेपछि काठमाडौं उपत्यका मानव बसोबासका लागि उपयुक्त बनेको थियो । यो धार्मिक आख्यान काठमाडौं उपत्यकाको बौद्ध सांस्कृतिक पहिचानसँग गहिरो रूपमा जोडिएको छ । चोभार अर्को कारणले पनि बौद्ध साधकहरूका लागि महत्त्वपूर्ण छ ।
बौद्ध परम्पराअनुसार नवौँ शताब्दीकी प्रसिद्ध भिक्षुणी गेलोङ्मा पाल्मोले यही क्षेत्रमा न्युङ्ने साधनाको विकास गरेकी थिइन् ।

न्युङ्ने महायान तथा वज्रयान बौद्ध परम्परामा प्रचलित उपवास, प्रार्थना, करुणा र शुद्धीकरण सम्बन्धी विशेष साधना हो । यो अभ्यास विशेषगरी हजार हात भएका अवलोकितेश्वर अर्थात् सहस्रभुज करुणामयको साधनासँग सम्बन्धित छ । छोक्नी गेचक लिङको मुख्य पूजा कक्षमा पनि हजार हात भएका अवलोकितेश्वरको विशाल प्रतिमा स्थापना गरिएको छ । यसरी भिक्षुणीहरूको नयाँ शिक्षाकेन्द्र चोभारको प्राचीन बौद्ध आध्यात्मिक परम्परासँग पनि जोडिएको छ ।

को हुन् छोक्नी रिन्पोछे ?

सन् १९६६ मा काठमाडौंमा जन्मिएका छोक्नी रिन्पोछे प्रसिद्ध ध्यानगुरु हुन् । उनी तिब्बती बौद्ध धर्मको द्रुक्पा काग्यु र न्यिङ्मा परम्परासँग सम्बन्धित छन् । आठ वर्षको उमेरमा उनलाई १६औँ ग्याल्वाङ कर्मापाले पूर्वजन्मका प्रसिद्ध बौद्ध गुरु द्रुबवाङ छोक्नी रिन्पोछेको पुनर्जन्मका रूपमा पहिचान गरेका थिए ।

उनले आफ्ना पिता तुल्कु उर्ग्येन रिन्पोछे, दिल्गो ख्येन्त्से रिन्पोछे, न्योशुल खेन रिन्पोछे तथा खाम्त्रुल रिन्पोछेलगायत वरिष्ठ गुरुहरूबाट बौद्ध दर्शन र ध्यानसाधनाको शिक्षा प्राप्त गरेका थिए । सन् १९९१ देखि उनले विभिन्न देशमा विशेषगरी द्जोग्छेन अर्थात् महामुद्राभन्दा भिन्न न्यिङ्मा परम्पराको ‘महापूर्णता’ सम्बन्धी ध्यानशिक्षा प्रदान गर्दै आएका छन् ।

उनले आधुनिक मनोविज्ञान र स्नायुविज्ञानका अध्ययनलाई पनि बौद्ध ध्यान परम्परासँग संवादमा ल्याउने प्रयास गरेका छन् । उनका पुस्तकहरूमा ‘ओपन हार्ट, ओपन माइन्ड’, ‘केयरफ्री डिग्निटी’ र ‘फियरलेस सिम्प्लिसिटी’ उल्लेखनीय छन् । उनले विशेषगरी महिलाहरूको आध्यात्मिक शिक्षा र ध्यानसाधनामा पहुँच विस्तार गर्न लामो समयदेखि काम गर्दै आएका छन् ।

भिक्षुणीहरू पनि बौद्ध दर्शनका विद्वान बन्न सकून्

बौद्ध धर्मको इतिहासमा महिलाहरूले आध्यात्मिक साधना र धर्मप्रचारमा महत्त्वपूर्ण योगदान दिएका छन् । बुद्धकालीन थेरिगाथामा भिक्षुणीहरूको आध्यात्मिक अनुभूति र ज्ञानसम्बन्धी शिक्षाहरू सङ्गृहीत छन् । तर विभिन्न ऐतिहासिक कालखण्डमा भिक्षुणीहरूको औपचारिक उच्च शिक्षा र धार्मिक नेतृत्वमा पहुँच पुरुष भिक्षुहरूको तुलनामा सीमित भएको पाइन्छ ।

पछिल्ला दशकमा हिमाली बौद्ध समुदायमा महिलाहरूका लागि शास्त्रीय बौद्ध अध्ययन, दर्शन, तर्कशास्त्र र गहन ध्यानसाधनाका अवसर विस्तार गर्ने प्रयास भइरहेका छन् । छोक्नी गेचक लिङलाई पनि यही परिवर्तनको एउटा महत्त्वपूर्ण प्रयासका रूपमा लिन सकिन्छ ।

यहाँ भिक्षुणीहरूले परम्परागत धार्मिक शिक्षा मात्र नभई आधुनिक पाठ्यक्रम पनि अध्ययन गर्न पाउनेछन् । यसले उनीहरूलाई आध्यात्मिक साधनासँगै शिक्षण, अनुसन्धान, सामाजिक सेवा तथा बौद्ध दर्शनको अन्तर्राष्ट्रिय प्रसारमा भूमिका निर्वाह गर्न सक्षम बनाउने अपेक्षा गरिएको छ ।

Share

Related posts

Leave a Comment