तिब्बती बौद्ध भिक्षुणीहरूको शैक्षिक उपलब्धि : सन् २०२६ मा ३३ जनाले प्राप्त गरे गेशेमा उपाधि

२१ कार्तिक,काठमाडौं: तिब्बती बौद्ध परम्परामा महिलाको धार्मिक तथा शैक्षिक सहभागिता विस्तार हुँदै गएको छ । बौद्ध दर्शन, धर्मग्रन्थ र तर्कशास्त्रको लामो अध्ययनपछि भिक्षुणीहरूले उच्च शैक्षिक उपाधि हासिल गर्ने क्रमले नयाँ उपलब्धि थपिरहेको छ । सन् २०२६ मा ३३ जना तिब्बती बौद्ध भिक्षुणी गेशेमा उपाधि प्राप्त गर्न सफल भएको समाचारले बौद्ध शिक्षामा महिलाको बढ्दो उपस्थितिलाई उजागर गरेको छ ।

गेशेमा तिब्बती बौद्ध परम्परामा भिक्षुणीहरूले हासिल गर्ने उच्च शैक्षिक उपाधि हो । यो उपाधि प्राप्त गर्न वर्षौँसम्म बौद्ध दर्शन, विनय, अभिधर्म, प्रज्ञापारमिता, मध्यमक तथा बौद्ध तर्कशास्त्रलगायत विषयको गहन अध्ययन गर्नुपर्छ । अध्ययनसँगै मौखिक परीक्षा, शास्त्रार्थ तथा दार्शनिक विषयमा आफ्नो बुझाइ प्रस्तुत गर्ने क्षमता पनि आवश्यक हुन्छ । त्यसैले गेशेमा उपाधि केवल धार्मिक पदवी नभई अध्ययन, अनुसन्धान, अनुशासन र बौद्ध दर्शनप्रतिको समर्पणको शैक्षिक मान्यता पनि हो ।

यस वर्षको परीक्षामा भारत र नेपालका सातवटा भिक्षुणी विहारबाट १७३ जना भिक्षुणी सहभागी भएका थिए । तीमध्ये १५६ जना विभिन्न तहका परीक्षामा उत्तीर्ण भएका छन् । अन्तिम अर्थात् चौथो वर्षको परीक्षा दिएका सबै ३३ जना भिक्षुणी सफल भएपछि यस वर्ष नयाँ गेशेमा थपिएका हुन् । उनीहरूको दीक्षान्त समारोह अक्टोबर १७ मा धर्मशालामा आयोजित ३०औँ वार्षिक जाङ गोन्चो शीतकालीन बौद्ध शास्त्रार्थ कार्यक्रमका क्रममा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित लिङ रिन्पोछेले ३३ जना भिक्षुणीलाई गेशेमा उपाधिको प्रमाणपत्र प्रदान गरेका थिए । त्यस अवसरमा भिक्षुणीहरूले बौद्ध दर्शनसम्बन्धी शास्त्रार्थ तथा अध्ययनको उपलब्धि प्रस्तुत गरेका थिए । अक्टोबर १८ मा परमपावन दलाई लामाले पनि धर्मशालास्थित मुख्य तिब्बती मन्दिरमा आयोजित विशेष भेटघाटका क्रममा सबै उपाधि प्राप्त भिक्षुणीलाई आशीर्वाद दिएका थिए । उक्त कार्यक्रममा भारत र नेपालका करिब पाँच सय बौद्ध भिक्षुणी सहभागी थिए ।

गेशेमा उपाधि प्राप्त गर्ने प्रक्रिया सन् २०१२ मा महिलाका लागि औपचारिक रूपमा खुला गरिएको थियो । त्यसअघि तिब्बती बौद्ध परम्परामा उच्च तहको गेशे उपाधि प्राप्त गर्ने अवसर मुख्यतः पुरुष भिक्षुहरूमा सीमित थियो । दलाई लामाको पहल र केन्द्रीय तिब्बती प्रशासनको सहकार्यमा भिक्षुणीहरूलाई पनि उच्च बौद्ध दर्शन अध्ययन, परीक्षा र शास्त्रार्थमा सहभागी हुने अवसर प्रदान गरिएको हो । सन् २०१६ मा पहिलोपटक २० जना भिक्षुणीले गेशेमा उपाधि प्राप्त गरेका थिए । सन् २०२६ को नयाँ समूहसहित हालसम्म गेशेमा उपाधि प्राप्त गर्ने भिक्षुणीको सङ्ख्या १५३ पुगेको छ

यस उपाधिले भिक्षुणीहरूलाई बौद्ध दर्शनका शिक्षक, अध्येता, प्रशिक्षक तथा धार्मिक नेतृत्वकर्ताका रूपमा अघि बढ्ने अवसर प्रदान गरेको छ । उनीहरूले आफ्नो अध्ययन र अनुभवमार्फत नयाँ पुस्तालाई बौद्ध शिक्षा प्रदान गर्न, प्राचीन धर्मग्रन्थको संरक्षण गर्न र बौद्ध दर्शनको ज्ञानलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न योगदान दिन सक्नेछन् । नेपालस्थित कपन गुम्बाकी भिक्षुणीहरू पनि यस शैक्षिक यात्रामा सहभागी हुनु नेपाली बौद्ध समुदायका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

यस उपलब्धिले बौद्ध धर्ममा महिला शिक्षा, समान अवसर र नेतृत्व विकासको महत्त्वलाई थप स्थापित गरेको छ । लामो समयसम्म धार्मिक तथा शैक्षिक क्षेत्रमा सीमित अवसर पाएका भिक्षुणीहरूले उच्च शैक्षिक उपाधि हासिल गर्नुले बौद्ध परम्पराको संरक्षणमा महिलाको भूमिका अझ सशक्त बन्ने अपेक्षा गरिएको छ ।

Share

Related posts

Leave a Comment