काठमाडौं । नेपाल बौद्ध महासंघअन्तर्गतको बौद्ध विद्यालय समिति नेपालले परम्परागत धार्मिक प्रकृतिका गोन्पा विद्यालयहरूको बृहत् भेला सम्पन्न गरेको छ । कार्तिक २० गते काठमाडौंस्थित नेपाल बौद्ध महासंघको सभाहलमा आयोजित भेलाले टासी थुण्डु शेर्पाको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा पासाङ शेर्पा, महासचिवमा झाविन्द्र कुमार सुवेदी, सचिवमा पेम्बा छिरी शेर्पा र कोषाध्यक्षमा राश्मी केसी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा राजु गुरुङ र तेन्पा ग्याल्छेन चयन भए ।

नेपाल बौद्ध महासंघका अध्यक्ष तथा बौद्ध विद्यालय समिति नेपालका संयोजक नुर्बु थुन्डु शेर्पाको अध्यक्षतामा सम्पन्न भेलामा देशभरका २५ भन्दा बढी गोन्पा विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन महासचिव झाविन्द्र कुमार सुवेदीले गरेका थिए । नवनिर्वाचित अध्यक्ष टासी थुण्डु शेर्पाले गोन्पा विद्यालयहरूको शैक्षिक विकास, शैक्षिक नीतिको प्रभावकारी कार्यान्वयन तथा संस्थागत व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
गोन्पा विद्यालयहरूबीच आपसी सहकार्य र समन्वय सुदृढ गर्दै परम्परागत बौद्ध शिक्षा प्रणालीको संरक्षण तथा विकासमा नयाँ कार्यसमितिले सक्रिय भूमिका निर्वाह गर्ने अध्यक्ष शेर्पाले बताए ।

