लुम्बिनीमा विश्वशान्तिको कामनासहित पाँचदिने ताक्लुङ काग्यु महाप्रार्थना महोत्सव सम्पन्न

१२ कार्तिक,लुम्बिनी: विश्वशान्ति, मानव कल्याण र सम्पूर्ण प्राणी जगतको सुख, शान्ति तथा दीर्घायुको कामना गर्दै लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा आयोजना गरिएको पाँचदिने ताक्लुङ काग्यु राष्ट्रिय महाप्रार्थना महोत्सव शुक्रबार सम्पन्न भएको छ ।

तिब्बती बौद्ध परम्पराअनुसार आयोजना गरिएको महोत्सवमा मानवसहित सम्पूर्ण जीवजन्तुको रक्षा, हित र कल्याणका लागि महान् प्रणिधान प्रार्थना गरिएको थियो । महायानी तथा तिब्बती बौद्ध परम्परामा विशेष महत्त्व राख्ने उक्त प्रार्थना बौद्ध धर्मावलम्बीले विषेस रूपमा पाठ गर्ने प्रार्थनामध्ये एक मानिन्छ ।

महोत्सवका क्रममा काठमाडौंका तीन प्रतिष्ठित गुरु फडो रिम्पोछे, माफ्तो रिम्पोछे र छेम्टो रिम्पोछेले सहस्र बुद्धको अभिषेक तथा धर्मोपदेश प्रदान गरेका थिए । कार्यक्रममा दुई सय ५० जना भिक्षु तथा भिक्षुणीको सहभागिता रहेको थियो । त्यसैगरी अमेरिका, क्यानडा, मलेसिया, भियतनाम, चीन, हङकङ र थाइल्यान्डलगायत देशबाट करिब एक सय जना उपासक तथा उपासिकाको सहभागिता रहेको कार्यक्रम संयोजक खेम्पो लोप्हेलले जानकारी दिए ।

तिब्बती बौद्ध धर्मको महत्त्वपूर्ण पर्व ुल्हाबाब दुछेनु को अवसर पारेर महोत्सव आयोजना गरिएको हो । बौद्ध धार्मिक मान्यताअनुसार भगवान् गौतम बुद्धले देवताको लोकमा पुगेर आफ्नी मातासहित देवगणलाई धर्मदेशना दिएपछि पुनः पृथ्वीमा अवतरण गर्नुभएको घटनाको स्मरणमा यो पर्व मनाइन्छ । तिब्बती पात्रोको नवौँ महिनाको २२औँ दिन मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एकका रूपमा लिइन्छ ।

Share

Related posts

Leave a Comment