‘फादर अफ माइन्डफुलनेस’ उपाधि प्राप्त बौद्ध भिक्षु हानको निधन

‘फादर अफ माइन्डफुलनेस’को रूपमा चिनिएका विश्व प्रसिद्ध भियतनामी बौद्ध भिक्षु थिच न्हाट हानको निधन भएको छ । ९५ वर्षको उमेरमा शनिबार भियतनामको ह्युमा रहेको तु हिउ मन्दिरमा उहाँको शान्तिपूर्वक निधन भएको जेन बौद्ध शिक्षण संस्था, इन्टरनेशनल प्लम भिलेज कम्युनिटीले जनाएको छ । जेन बौद्ध भिक्षु, कवि र शान्ति अभियन्ता हान, सन् १९६० मा भियतनाम युद्धको विरोधी बनेर आध्यात्मिक यात्राबाट शान्तिको महाअभियानमा लाग्नुभएको थियो ।

उहाँले इंगेज्ड बुद्धिज्मको अवधारणा मार्फत बुद्ध धर्मको प्रचार गर्नुभएको थियो । पश्चिमा मुलुकमा अग्रगामीको रूपमा बुद्ध धर्मको फैलाउनु भएका उहाँले फ्रान्समा प्लम गाउूमा गुम्बा स्थापना गरेर माइन्डफुलनेसको ध्यान अभ्यासलाई विश्वमा फैलाउन योगदान गर्नु भएको थियो । सन् २०१४ मा उहाँलाई स्ट्रोक भए पछि बोल्न असमर्थ भएको थियो ।

आफ्नो जीवनको धेरैजसो समय निर्वासनमा बिताएपछि जन्मस्थल ह्युको मध्य शहरमा आफ्नो अन्तिम दिनहरू बिताउन उहाँ भियतनाम फर्कनुभएको थियो । उहाँको निधनले विश्व बौद्ध जगतमा अपुरणीय क्षति भएको भन्दै उहाँ श्रद्धामा अनुयायीहरुले विश्वभरबाट नै प्रतिक्रिया दिइरहेका छन् ।

Share

Related posts