कार्तिक १२, लुम्बिनी: बुद्धको जन्मस्थल लुम्बिनीमा यतिखेर विश्वभरका बौद्ध साधक आइरहेका छन् । उनीहरू आइतबारदेखि सातासम्म चल्ने दोस्रो अन्तर्राष्ट्रिय प्रनिधान समारोहमा सहभागी हुन आएका हुन् ।
प्रणिधानमा विश्वका विभिन्न देशबाट आउने बौद्ध भिक्षु, भिक्षुणी तथा साधकहरूले एकै ठाउँमा भेला भएर बुद्धका उपदेश सामूहिक रूपमा वाचन गर्नेछन् ।
प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजना हुने कार्यक्रम लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा सञ्चालन हुनेछ ।
कार्यक्रममा विभिन्न बौद्ध परम्पराका अनुयायीहरू सहभागी हुनेछन् । उनीहरूले पाली, संस्कृत, चिनियाँ, तिब्बती, भियतनामी, अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धवचन वाचन गर्नेछन् ।
आयोजकका अनुसार यस कार्यक्रमको उद्देश्य विभिन्न बौद्ध परम्पराबीच एकता र सद्भाव बढाउनुका साथै बुद्धका शिक्षालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्नु हो ।
कार्यक्रमको एउटा महत्त्वपूर्ण विशेषता बुद्धका उपदेशहरूको विशाल सङ्ग्रहलाई सामूहिक रूपमा वाचन गर्ने प्रयास हो ।
यसका लागि तिब्बती बौद्ध ग्रन्थ ‘काङ्ग्युर’मा सङ्गृहीत बुद्धवचनहरूको समेत उपयोग गरिनेछ । काङ्ग्युर तिब्बती बौद्ध परम्परामा बुद्धका उपदेशहरूको प्रामाणिक सङ्ग्रहका रूपमा मानिन्छ ।
कार्यक्रममा अङ्ग्रेजी भाषामा बुद्धवचन वाचन गर्न अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था ‘८४००० : ट्रान्सलेटिङ द वर्ड्स अफ द बुद्ध’ले अनुवाद गरेका ग्रन्थहरू प्रयोग गरिनेछन् ।
यो संस्थाले बुद्धका शिक्षालाई आधुनिक भाषामा अनुवाद गरी विश्वभरका पाठक तथा साधकका लागि उपलब्ध गराउने काम गर्दै आएको छ । संस्थाका अनुसार अङ्ग्रेजीमा अनूदित करिब २५ हजार पृष्ठका ग्रन्थहरू यस कार्यक्रमका लागि उपलब्ध छन् ।
आयोजकले तोकिएका पाठवाचकहरूको सहभागितामार्फत सम्पूर्ण निर्धारित बुद्धवचन वाचन गर्ने लक्ष्य राखेको छ ।
यो कार्यक्रम तिब्बती बौद्ध परम्पराको महत्त्वपूर्ण पर्व ‘ल्हाबाब दुछेन’को अवसर पारेर आयोजना गरिएको हो ।
बौद्ध परम्परागत मान्यताअनुसार बुद्धले देवताहरूको लोकमा आफ्नी मातासहित देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ ।
तिब्बती बौद्ध पात्रोअनुसार नवौँ महिनाको २२ औँ दिनमा मनाइने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ ।
यस अवसरमा बुद्धवचन वाचन, ध्यान, प्रार्थना तथा पुण्यकर्मलाई विशेष महत्त्व दिने गरिन्छ ।
कार्यक्रमसँगै लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ विहार उद्घाटनको दोस्रो वार्षिकोत्सव पनि मनाइनेछ ।
लुम्बिनीमा प्रत्यक्ष उपस्थित हुन नसक्ने बौद्ध धर्मावलम्बी तथा इच्छुक व्यक्तिहरूले अनलाइन माध्यमबाट पनि बुद्धवचन वाचनमा सहभागी हुन सक्नेछन् ।
आयोजकले फेसबुक, युट्युब र जुममार्फत कार्यक्रमको प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाएको छ ।
अनलाइनबाट स्वतन्त्र रूपमा बुद्धवचन वाचनमा सहभागी हुन पूर्वदर्ता आवश्यक छैन । सहभागीहरूले ‘८४००० रिडिङ रुम’बाट आफूले चाहेका सूत्र छनोट गरी वाचन गर्न सक्नेछन् ।
कार्यक्रमको दैनिक तालिकाअनुसार बिहान ८ बजेदेखि ९:३० बजेसम्म र १० बजेदेखि ११ बजेसम्म बुद्धवचन वाचन हुनेछ । त्यसैगरी दिउँसो १:३० देखि ३:३० बजेसम्म अर्को वाचन सत्र सञ्चालन गरिनेछ ।
अपराह्न ४ देखि ५ बजेसम्म बौद्ध दर्शनसम्बन्धी प्रवचन तथा शिक्षण सत्र आयोजना गरिनेछ ।
कार्यक्रमसँगै छोकी निमा रिन्पोछेको ४६ औँ वार्षिक शरदकालीन धर्मशिक्षा कार्यक्रम पनि सञ्चालन हुनेछ ।
यसको पहिलो चरण कात्तिक १५ देखि २२ सम्म र दोस्रो चरण नोभेम्बर २३ देखि २६ सम्म आयोजना गरिनेछ ।
दोस्रो चरणमा रिन्पोछेले विशेष धर्मोपदेश दिने कार्यक्रम रहेको छ ।
त्यसपछि २ दिन ताराको अभिषेक तथा शिक्षण कार्यक्रम र एक हप्तासम्म विशेष ध्यान साधना कार्यक्रम पनि तय गरिएको छ ।
आयोजकले यस अन्तर्राष्ट्रिय बुद्धवचन पाठ कार्यक्रमलाई सम्पूर्ण प्राणीको सुख, विश्वशान्ति र बुद्धधर्मको निरन्तर विकासप्रति समर्पित गर्ने जनाएको छ ।
विश्वभरका विभिन्न बौद्ध परम्पराका साधकहरूलाई बुद्धको जन्मभूमिमा एकत्रित गर्ने यो कार्यक्रमले लुम्बिनीको अन्तर्राष्ट्रिय धार्मिक तथा सांस्कृतिक महत्त्वलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।

