नेपाल बौद्ध महासंघले पछिल्लो समय गोन्पा (गुम्बा) तथा विहारहरूविरुद्ध तथ्यहीन, कपोलकल्पित, अतिरञ्जित र भ्रामक प्रचार गर्दै सामाजिक सञ्जाल युट्युब, फेसबुक आदि विभिन्न माध्यममार्फत भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै नेपालका विभिन्न स्थानहरूमा गत भदौ २३ र २४ गते भएको जेनजीहरूका आन्दोलनपश्चात् सो आन्दोलनसँग जोड्दै देशमा धार्मिक तथा सम्प्रदायिक द्वन्द्व निम्त्याउने प्रयत्नमा रहेका केही अराजक तत्वहरूले भ्रम फैलाउने अभिव्यक्ति र अन्तरवार्ताहरू दिदै आएको आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
‘प्राचीनकालदेखि नै बौद्ध गोन्पा तथा विहारहरू शाक्यमुनि बुद्धले जगत् हितका लागि प्रदान गर्नुभएको आगम र अधिगमको अध्ययन, अध्यापन र अभ्यासका केन्द्रको रूपमा स्थापित रहेका छन् । यी पवित्र स्थलहरू मानवता, करुणा, अहिंसा र परोपकारका शिक्षाबाट प्रेरित शैक्षिक तथा आध्यात्मिक संस्थान हुन् । गोन्पा तथा विहारहरूले कहिल्यै कुनै राष्ट्र वा समुदायको अहित गर्ने कार्य गरेका छैनन्, र भविष्यमा पनि त्यस्तो सम्भावना रहँदैन । शान्ति, एकता र सौहार्द सुदृढ पार्ने उद्देश्यले स्थापित यी केन्द्रहरू विश्वशान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकताको संवद्र्धनमा निरन्तर समर्पित छन् । अतः गोन्पाबाट देशको शान्ति, सुरक्षा वा अखण्डतामा खतरा उत्पन्न हुने भनाइ पूर्णतः निराधार र असत्य हो,’ विज्ञप्तिमा भनिएको छ ।
साथै देशमा अशान्ति चहाने केही अराजक व्यक्तिहरूले गोन्पाको वास्तविक उद्देश्य र भूमिकासम्बन्धी जानकारी बिना नै, काठमाडौँ उपत्यकाभित्र रहेका गोन्पाहरू विदेशी राष्ट्रहरूको अखडा बन्दै गएको र त्यहाँ हतियार लुकाइएको जस्ता भ्रामक, उच्छृङ्खल र गैरजिम्मेवार अभिव्यक्तिहरू सार्वजनिक रूपमा दिँदै आएको भन्दै यस प्रकारका दुराशयपूर्ण, तथ्यहीन र गैरजिम्मेवार अभिव्यक्तिहरूले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतामा नकारात्मक असर पु¥याउन सक्ने विज्ञप्तिमा भनिएको छ ।
त्यस्तै किरा–फट्याङ्ग्रदेखि सम्पूर्ण प्राणीहरूको हित चाहने बौद्धमार्गीहरू तथा उनीहरूका शान्तिपूर्ण पाठपूजा क्रियाकलापहरूबारे फैलाइएको तथ्यहीन प्रचार र दूष्प्रचारले सम्पूर्ण बौद्ध समुदायको मानमर्दन गरेको उल्लेख गरिएको छ । यस प्रकारका भ्रामक समाचार र अभिव्यक्तिहरूले समाजमा भ्रम र द्वेष फैलाउने जोखिम बढाएको हुँदा, सामाजिक सञ्जाल तथा सञ्चार माध्यममार्फत यस्तो गलत सूचना प्रवाह गर्ने व्यक्तिहरू, कार्यक्रमका प्रस्तोता र अन्तर्वार्ता दिनेहरूमाथि यथाशीघ्र सत्यतथ्य छानबिन गरी आवश्यक कानूनी कारबाही गर्न पनि महासंघले आग्रह गरेको छ ।
‘यस्ता भ्रम फैलाउने कार्यहरूको घोर भत्र्सना गर्दै, सम्पूर्ण सञ्चार माध्यम, सामाजिक अभियन्ता तथा नागरिक समाजलाई सत्य, तर्कसंगत र जिम्मेवार ढङ्गले प्रस्तुत हुन हार्दिक अपिल गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।

