९ मंसिर,लुम्बिनी: भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीको पर्यटन प्रवर्द्धन तथा स्थानीय समुदायको जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले ‘लुम्बिनी बाइ साइकल’ कार्यक्रम सुरु गरिएको छ। लुम्बिनीको धार्मिक तथा ऐतिहासिक महत्त्वलाई स्थानीय संस्कृति, परम्परा र जनजीवनसँग जोड्दै पर्यटकलाई नयाँ अनुभव प्रदान गर्ने लक्ष्यसहित मंगलबारदेखि साइकल पर्यटन कार्यक्रम सञ्चालनमा ल्याइएको हो। कार्यक्रमको पहिलो चरणमा आठ किलोमिटर लामो ‘मैत्री मार्ग’ पर्यटकका लागि खुला गरिएको छ।
मैत्री मार्ग लुम्बिनी बजार चोकबाट सुरु भई ओशो तपोवन, महिलवार, बुधनीपुर र लक्ष्मीपुर हुँदै पुनः लुम्बिनीको पाँच नम्बर गेटमा पुगेर टुङ्गिन्छ। यस मार्गमा साइकल यात्रा गर्दा लुम्बिनीको मुख्य धार्मिक तथा पर्यटकीय क्षेत्रबाहिर रहेका पुराना बस्ती, मठमन्दिर, पोखरी, खेतबारी र स्थानीय समुदायको दैनिक जीवनशैली अवलोकन गर्न सकिन्छ। करिब दुईदेखि तीन घण्टामा पूरा गर्न सकिने यस मार्गले पर्यटकलाई लुम्बिनीको प्राकृतिक वातावरण र स्थानीय सांस्कृतिक पहिचानसँग नजिकबाट परिचित गराउने अपेक्षा गरिएको छ।
कार्यक्रमअन्तर्गत मैत्री मार्गबाहेक थप दुईवटा साइकल पर्यटन मार्गसमेत तयार गरिएको छ। १६ किलोमिटर लामो ‘प्रज्ञा मार्ग’ पूरा गर्न चारदेखि पाँच घण्टा र २४ किलोमिटर लामो ‘करुणा मार्ग’ पूरा गर्न सातदेखि आठ घण्टा लाग्ने अनुमान गरिएको छ। तीनवटै मार्गलाई फरक–फरक दूरी र समयअनुसार तयार गरिएकाले पर्यटकले आफ्नो रुचि, समय र शारीरिक क्षमताअनुसार साइकल यात्रा छनोट गर्न सक्नेछन्।
लुम्बिनी विकास कोषकी उपाध्यक्ष आनी छोइङ डोल्माले साइकल यात्राको सुरु गदै लुम्बिनीको तीर्थाटनलाई थप शान्त, सहज र वातावरणमैत्री बनाउने बताएकी छन्। उनका अनुसार साइकल पर्यटनले सवारीसाधनबाट हुने ध्वनि तथा वायु प्रदूषण न्यूनीकरण गर्न सहयोग गर्नुका साथै पर्यटकलाई लुम्बिनीको प्राकृतिक सौन्दर्य र स्थानीय जीवनशैलीसँग प्रत्यक्ष जोड्नेछ। यसले धार्मिक पर्यटनलाई परम्परागत दर्शन र पूजाआजामा मात्र सीमित नराखी प्रकृति, संस्कृति र समुदायसँग जोड्ने अवसर प्रदान गर्नेछ।
‘लुम्बिनी बाइ साइकल’ कार्यक्रमले लुम्बिनीको पर्यटनलाई मुख्य मायादेवी मन्दिर तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रमा मात्र केन्द्रित नराखी आसपासका गाउँबस्ती र स्थानीय सम्पदासम्म विस्तार गर्ने अपेक्षा गरिएको छ। साइकल यात्रामार्फत स्थानीय होटल, होमस्टे, साना व्यवसाय, कृषि उत्पादन तथा हस्तकलाको प्रवर्द्धनमा समेत टेवा पुग्न सक्नेछ। धार्मिक, सांस्कृतिक र पर्यावरणमैत्री पर्यटनको नयाँ अभ्यासका रूपमा यस कार्यक्रमले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकका लागि थप आकर्षक गन्तव्य बनाउने विश्वास गरिएको छ।


