दलाई लामाको कार्यालयका लागि दिल्लीमा स्थायी सरकारी बंगला, सुरक्षाका लागि विशेष संरचना

९ कार्तिक, काठमाडौं: तिब्बती धर्मगुरु दलाई लामाको दिल्ली भ्रमणलाई सहज र सुरक्षित बनाउन भारत सरकारले राजधानीको अति सुरक्षित मानिने लुटियन्स क्षेत्रमा स्थायी सरकारी बंगला उपलब्ध गराएको छ ।

नयाँ दिल्लीको पण्डित रविशंकर शुक्ल लेनमा रहेको उक्त बंगला दलाई लामाको कार्यालय ुगादेन फोड्राङुका रूपमा प्रयोग गरिनेछ । यससँगै दिल्ली भ्रमणका क्रममा उनको आवास, कार्यालय सञ्चालन र सुरक्षा व्यवस्थापनमा देखिँदै आएको कठिनाइ समाधान हुने अपेक्षा गरिएको छ ।

बंगलाको सुरक्षा व्यवस्था थप मजबुत बनाउन भारत सरकारले ३४ लाख ९४ हजार भारतीय रुपैयाँ खर्च गर्ने भएको छ । यसका लागि केन्द्रीय लोक निर्माण विभागले सुरक्षा पूर्वाधार निर्माण तथा जडानसम्बन्धी टेन्डर आह्वान गरिसकेको छ । भवन परिसरमा अग्ला धातुका पर्खाल, काँडेतार, सुरक्षित प्रवेशद्वार तथा सुरक्षाकर्मीका लागि छुट्टै कक्ष निर्माण गरिएको छ ।

दलाई लामाको कार्यालयका अनुसार उनको बढ्दो उमेर र दिल्ली भ्रमणका क्रममा होटलमा आवास तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउन हुने कठिनाइलाई ध्यानमा राखेर स्थायी कार्यालयको आवश्यकता महसुस गरिएको हो । यस विषयमा भारतीय विदेश मन्त्रालय र दलाई लामाको कार्यालयबीच समन्वय भएको जनाइएको छ ।

भारतको केन्द्रीय राजधानी क्षेत्रअन्तर्गत पर्ने लुटियन्स दिल्ली उच्च सुरक्षा व्यवस्था र महत्वपूर्ण सरकारी तथा कूटनीतिक कार्यालयहरूका कारण परिचित छ । यस्तो संवेदनशील क्षेत्रमा दलाई लामाको कार्यालयका लागि स्थायी सरकारी आवास उपलब्ध गराइनुलाई उनको दिल्ली भ्रमण व्यवस्थापन र सुरक्षासँग जोडेर हेरिएको छ ।

Share

Related posts

Leave a Comment