बौद्ध धर्मावलम्वीको वर्षावास आजदेखि सुरु

बौद्ध धर्मावलम्बीको विशेष पर्व वर्षावास आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ । वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने परम्परा छ । यसै परम्परालाई निरन्तरता दिदै आजदेखि भिक्षुहरु वर्षावास बसेका छन् ।

भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा बिहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावासको संज्ञा दिइएको छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ ।

बौद्ध शास्त्रहरु अनुसार सिद्धार्थ गौतम असार पूर्णिमाको रातमा कपिलवस्तुका राजा शुद्धोधनकी रानी मायादेवीको गर्भमा प्रवेश गर्नुभएको थियो । उहाँले २९ वर्षपछि आजकै दिनमा महाभिनिष्क्रमण (घरबार त्याग) गर्नुभएको थियो ।

अनेक त्याग, तपस्या र ध्यान विधिबाट बुद्धत्व प्राप्त गरेपछि बुद्धले आजकै दिनमा पहिलो पटक पाँच जना ब्राह्मणहरुलाई शिक्षा दिनुभएको थियो । जसलाई बौद्धहरु धर्मचक्र प्रवद्र्धन भन्दछन् । अर्थात् असार पूर्णिमाकै दिनदेखि बुद्ध धर्मको प्रचारप्रसार अभियान प्रारम्भ भएको मानिन्छ ।

भिक्षुहरुले वर्षावास अवधिमा तीन महीना एकै बिहारमा बसेर अध्ययन एवं चिन्तन मनन गर्ने गर्छन् । वर्षाको समयमा मानिसहरु खेतीपातीमा लाग्नुपर्ने र भिक्षुहरु यताउता आवत जावत गर्न पनि गाह्रो हुने भएकोले भगवान् बुद्धले असार पूर्णिमादेखि आश्विन पूणिर्मासम्म वर्षावासको व्यवस्था गर्नुभएको हो ।

वर्षावासको समयमा बिहारमा दैनिक धार्मिक गतिविधि सञ्चालन हुने भएकाले उपासक उपासिका नियमित रूपमा बिहार गई पञ्चशील ग्रहण गर्ने, साप्ताहिक उपोसध धर्मपालना गर्ने, ध्यान बस्ने, नियमित दान प्रदान गर्ने कार्यक्रम हुने गर्छ ।

Share

Related posts

Leave a Comment