बाढीपहिरो प्रभावितका लागि छोग्याल रिन्पोछेद्वारा १० लाख सहयोग

काठमाडौँ, २ असोज २०८३। बीआईए फाउन्डेसन तथा रेपा नेपालका संस्थापक पुजनीय छोग्याल रिन्पोछेले बाढी–पहिरोपीडित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा १० लाख रुपैयाँ सहयोग गर्नुभएको छ।

रिन्पोछेले शुक्रबार काठमाडौँस्थित परराष्ट्र मन्त्रालयमा पुगेर राहत कोषका लागि उक्त रकम हस्तान्तरण गर्नुभएको हो। परराष्ट्रमन्त्रीसँगको भेटमा उहाँले रसुवा र नुवाकोटलगायत बाढी–पहिरो प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे चासो व्यक्त गर्नुभएको थियो।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै क्षतिग्रस्त बस्तीको पुनर्निर्माण र विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापनामा पनि सहयोग गर्न आफू प्रतिबद्ध रहेको रिन्पोछेले बताउनुभएको छ।

बीआईए फाउन्डेसन र रेपा नेपालले यसअघि नै प्रभावित क्षेत्रमा पुगेर खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री वितरण गर्दै आएका छन्। दुवै संस्थाले स्थानीय समुदायको आवश्यकता पहिचान गरी राहत तथा मानवीय सहयोगका गतिविधि निरन्तर सञ्चालन गरिरहेको जनाएका छन्।

छोग्याल रिन्पोछे बौद्ध गुरु, ध्यान शिक्षक तथा सामाजिक अभियन्ता हुनुहुन्छ। सन् १९८५ मा नेपालमा जन्मनुभएका उहाँ पाँच वर्षको उमेरमै सिक्किमको रुम्तेक गुम्बामा प्रव्रजित हुनुभएको थियो। उहाँले रुम्तेक र जुर्माङ गुम्बामा बौद्ध शिक्षा तथा वज्रयान अनुष्ठानको अध्ययन गर्नुभयो। त्यसपछि भारतको जोङ्सार बौद्ध विश्वविद्यालयलगायतका शिक्षण संस्थामा उच्च बौद्ध दर्शनको अध्ययन गरी खेन्पो उपाधि प्राप्त गर्नुभएको हो।

को हुन् छोग्याल रिन्पोछे ?

आध्यात्मिक शिक्षासँगै मानवीय सेवामा सक्रिय रिन्पोछेले विपन्न बालबालिकाको हेरचाह, अपाङ्गता भएका व्यक्तिको सीप विकास तथा रोजगारी, शिक्षा र समुदायको आत्मनिर्भरताका क्षेत्रमा विभिन्न संस्था तथा परियोजना सञ्चालन गर्दै आउनुभएको छ। उहाँले सन् २०१४ मा स्थापना गर्नुभएको बीआईए फाउन्डेसनले अपाङ्गता भएका व्यक्तिलाई थाङ्का चित्रकला, मूर्तिकला, बुनाइ तथा धूप निर्माणजस्ता सीप प्रदान गर्दै आयआर्जन र आत्मनिर्भरतामा सहयोग गरिरहेको छ। बीआईए फाउन्डेसन

“अरूलाई सहयोग गरौँ, जीवन सुन्दर छ” भन्ने मूल सन्देशका साथ रिन्पोछे बौद्ध शिक्षा, ध्यान तथा मानवीय सेवाका गतिविधिमा सक्रिय हुनुहुन्छ। उहाँको पछिल्लो सहयोगले विपत्तिको कठिन घडीमा आध्यात्मिक समुदायको जिम्मेवारी केवल प्रार्थनामा सीमित नरही प्रत्यक्ष सेवा र सहायतामा पनि अभिव्यक्त हुनुपर्ने सन्देश दिएको छ।

Share

Related posts

Leave a Comment