भोटेकोशीमा आएको बाढीका कारण केरुङ, रसुवा, नुवाकोट, धादिङलगायत विभिन्न स्थानमा भएको विपत्तिमा परी ज्यान गुमाएका सम्पूर्ण मानव तथा प्राणीहरूको चित्तविज्ञान मुक्तिको कामना गर्दै आयोजित विश्व शान्ति पूजा कार्यक्रम बिहिवार सम्पन्न भएको छ ।
विपत्तिको २१औँ दिनको पुण्यतिथिको अवसर पारेर बौद्ध स्तूपा परिसरमा आयोजित कार्यक्रममा मोन्लाम पूजा, दीप प्रज्वलन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको थियो। प्राकृतिक विपत्तिबाट प्रभावित परिवार तथा समुदायको शान्ति, साहस र कल्याणको कामनासहित विश्वमा शान्ति र करुणाको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा परम पूजनीय ख्याब्जे श्याल्पा रिन्पोछे ज्यू प्रमुख गुरुका रूपमा सहभागी हुनुभएको थियो। उहाँको मार्गदर्शनमा सम्पन्न पूजा कार्यक्रममा दिवंगत आत्माहरूको मुक्तिको कामना गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा प्रभावित परिवारहरूको सुख, शान्ति र कल्याणका लागि विशेष प्रार्थना गरिएको थियो।
यस्तो करुणामय धार्मिक तथा मानवीय कार्यक्रममार्फत धेरैलाई पुण्य आर्जन गर्ने अवसर प्रदान गर्नुभएकोमा परम पूजनीय ख्याब्जे श्याल्पा रिन्पोछे ज्यूप्रति आयोजक तथा सहभागी संस्थाहरूले हार्दिक आभार व्यक्त गरेका छन्।
अन्तिम दिनको पुण्य अवसरमा परम पूजनीय ख्याब्जे श्याल्पा रिन्पोछे ज्यूसँगै परम पूजनीय ९औँ अवतार क्याब्गोन जे ड्रुङ्पा ज्यूसमेत पूजामा सहभागी भई आफ्नो पावन ऊर्जा प्रदान गर्नुभएको थियो ।
यस पवित्र कार्यक्रमको सहजीकरण तथा समन्वयमा महत्वपूर्ण सहयोग पु¥याउनुहुने छेवाङ रिग्जिन लामाज्यूप्रति पनि हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ६ कार्यालय, श्री बौद्ध तामाङ कल्याण गुठी, ओम तामाङ सुखदुःख सेवा गुठी बौद्ध टुसाल, छोरडान महिला समाज बौद्ध, छ्योर्तेन टासी तामाङ गुम्बा, बौद्ध एकल महिला समूह तथा नेपाल बौद्ध शान्ति समाजलगायत संस्थाहरूको सहभागिता रहेको थियो।
त्यसैगरी रेपा नेपाल, नेपाल बोन बुद्धिष्ट महासंघ, विश्व बुद्धिष्ट मञ्च नेपाल, प्राचीन अनुवाद एकमात्र गुरु संघ नेपाल, टुसाल युवा क्लब बौद्ध, प्राकृतिक बौद्ध स्तूपा संरक्षण समिति, श्री साङडाग छोइलिङ गुम्बा, श्री रसुवागढी समाज सेवा काठमाडौं तथा नेपाल तामाङ घेदुङ रसुवा सहयोगी संस्थाका रूपमा सहभागी भएका थिए।
विश्व शान्ति धाम, लुम्बिनी, नेपाल को आयोजनामा बौद्ध स्तूपा परिसरमा २०८३ भदौ २९ गतेदेखि ३१ गतेसम्म, प्रत्येक दिन बिहान ७ः३० बजेदेखि १०ः०० बजेसम्म कार्यक्रम सञ्चालन भएको थियो।




