बाढीपीडितलाई योङ्गे मिग्युर रिन्पोछेद्वारा डेढ करोड रुपैयाँ सहयोग

काठमाडौँ, १ असोज— विश्वप्रसिद्ध बौद्ध ध्यानगुरु योङ्गे मिग्युर रिन्पोछेले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक करोड ५० लाख रुपैयाँ सहयोग गर्नुभएको छ।

बिहीबार शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा रिन्पोछेले शिक्षामन्त्री सस्मित पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो। सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने जनाइएको छ।

रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिपछि प्रभावित परिवारको राहत र पुनःस्थापनामा योगदान पुर्‍याउने उद्देश्यले सहयोग गरिएको रिन्पोछेले बताउनुभएको छ।

रकम हस्तान्तरण कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारलगायतको उपस्थिति थियो।

सो अवसरमा रिन्पोछेले आफ्नो चर्चित पुस्तक ‘द जोय अफ लिभिङ’ (The Joy of Living: Unlocking the Secret and Science of Happiness) पनि मन्त्री पोखरेललाई प्रदान गर्नुभएको थियो।

को हुन् योङ्गे मिग्युर रिन्पोछे ?

सन् १९७५ मा नेपालमा जन्मनुभएका योङ्गे मिग्युर रिन्पोछे विश्वभर परिचित ध्यानगुरु, लेखक तथा तेरगार ध्यान समुदायका प्रमुख हुनुहुन्छ। उहाँले परम्परागत बौद्ध ध्यान र दर्शनलाई आधुनिक मनोविज्ञान तथा मस्तिष्क विज्ञानसँग जोडेर सरल र व्यावहारिक रूपमा प्रस्तुत गर्दै आउनुभएको छ।

बाल्यकालमा चिन्ता र अत्यधिक डरको समस्या भोग्नुभएका रिन्पोछेले ध्यान अभ्यासकै सहायताले त्यसलाई सामना र रूपान्तरण गर्नुभएको थियो। यही व्यक्तिगत अनुभवका कारण उहाँका ध्यानसम्बन्धी शिक्षा संसारभर लोकप्रिय बनेका छन्।

उहाँले ध्यानले मानव मस्तिष्कमा पार्ने प्रभावबारे अमेरिकाको विस्कन्सिन विश्वविद्यालयका मस्तिष्क वैज्ञानिक र मनोवैज्ञानिकहरूसँग अनुसन्धानमा समेत सहकार्य गर्नुभएको छ। हाल उहाँले विश्वका ३० भन्दा बढी देशमा रहेका तेरगार ध्यान समुदायका अभ्यासकर्तालाई मार्गदर्शन गर्दै आउनुभएको छ।

उहाँको पहिलो पुस्तक ‘द जोय अफ लिभिङ’ द न्युयोर्क टाइम्सको सर्वाधिक बिक्री हुने पुस्तकको सूचीमा परेको थियो। उक्त पुस्तक २० भन्दा बढी भाषामा अनुवाद भइसकेको छ।

Share

Related posts

Leave a Comment