पद्मवर्ण महायान विहारमा एकमहिने तारा पूजा जारी, करिब पाँच सय श्रद्धालुको सहभागिता

ललितपुर। गुँला पर्वका अवसरमा पाटनको ज्याठाबहालस्थित श्री पद्मवर्ण महायान विहारमा एकमहिने तारा पूजा सञ्चालन भइरहेको छ। दैनिक बिहान ५ः३० देखि ८ बजेसम्म हुने पूजामा करिब पाँच सय श्रद्धालु सहभागी हुँदै आएका छन्।

यस वर्ष गुँला पर्व २०८३ साउन २८ गतेदेखि सुरु भएको हो। पात्रोअनुसार यो पर्व भदौ २७ गते सम्पन्न हुनेछ। विहारमा सञ्चालित तारा पूजा भने आयोजकले दिएको जानकारीअनुसार भदौ २९ गतेसम्म जारी रहनेछ।

स्वर्गीय भिक्षु मञ्जुघोष धर उक्त विहारका पूर्वप्रमुख गुरु हुनुहुन्थ्यो। विहारमा नियमित रूपमा तारा पूजा सञ्चालन गर्न थालिएको २४ वर्ष पूरा भएको आयोजकले जनाएको छ।

विहारमा गरिने तारा पूजा ङिङ्मा परम्पराको क्षोग्लिङ निधिमा आधारित छ। उक्त निधि गुरु पद्मसम्भवको निर्देशनअनुसार महान् निधिपति क्षोग्युर लिङ्पाले प्रकट गर्नुभएको मानिन्छ।

पूजनीय गुरु क्षोकी ङिमा रिन्पोक्षेबाट प्रदान गरिएको शरणगमन, सम्वर, अभिषेक (वाङ) तथा आगम (लुङ) का आधारमा तारा पूजा सञ्चालन हुँदै आएको छ।
पूजनीय गुरु क्याब्गोन फाग्क्षोक रिन्पोक्षे र याङ्सी टुल्कु उर्गेन रिन्पोक्षेले पनि समय–समयमा विहारमा धर्मदेशना तथा आध्यात्मिक मार्गदर्शन प्रदान गर्दै आउनुभएको छ।

हाल विहारका प्रमुख गुरु श्रद्धेय ज्यिन्पा ग्याछो हुनुहुन्छ। उहाँको नेतृत्व तथा मार्गदर्शनमा सञ्चालित पूजामा सहभागी श्रद्धालुहरूले सम्पूर्ण प्राणीको सुख, शान्ति, आरोग्य र कल्याणको कामना गर्दै तारा स्तुति, मन्त्रपाठ तथा प्रार्थना गरिरहेका छन्।

गुँला पर्व नेवार बौद्ध समुदायको महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। यस अवधिमा बुद्धको पूजा, ध्यान, सूत्र तथा परित्राण पाठ गर्ने तथा परम्परागत बाजागाजासहित चैत्य, विहार र बौद्ध तीर्थस्थलहरूको परिक्रमा गर्ने प्रचलन छ।

Share

Related posts

Leave a Comment