काठमाडौं, जेठ २९ — अनुवादक तथा लेखक रत्न मङ्गलद्वारा नेपाली भाषामा अनूदित ‘मणि साधना’ पुस्तक आज एनबिटिभी ( NB Tv) को प्राङ्गणमा विमोचन गरिएको छ । विमोचन कार्यक्रममा बौद्ध अनुवादक तथा विद्वान छिरिङ रावल, रेपा साधक जीवराज गुरुङ लगायत धर्मप्रेमीहरूको उपस्थिति रहेको थियो ।
‘मणि साधना’ परम्पराअनुसार महासिद्ध थाङ्तोङ ग्याल्पोका शिष्य ङारी छुल्ठिम शायोलाई स्वयं आर्य अवलोकितेश्वरबाट प्राप्त भएको गूढ निधि धर्म (तेर्मा) मानिन्छ । पछि महान् आचार्य ज्याम्याङ खेन्चे वाङ्पोले समेत यस साधनालाई पुनः प्राप्त गर्नुभएको परम्परागत विवरण पाइन्छ ।

रत्न मङ्गल (तेन्जी शेर्पा) लेखक, अनुवादक तथा बौद्ध धर्मका अध्येता एवं शिक्षक हुनुहुन्छ । उहाँका ‘अनात्मादेखि परमात्मासम्म?’, ‘उपवास विधि’, ‘मनोकामना सिद्ध पूजा’ र ‘पूर्ण मुक्तिको मार्ग’ लगायतका कृति प्रकाशित तथा अनूदित छन् । हाल उहाँ रेपा अनुवाद समितिमा परियोजना प्रबन्धक तथा अनुवादकका रूपमा कार्यरत रहँदै बौद्ध शास्त्रहरूको अध्ययन, अनुवाद र अनुसन्धानमा संलग्न हुनुहुन्छ ।



