११ देशका भिक्षुहरूले गुन्जयमान बनाए बोधगया

गौतम बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको बोधगया शुक्रवार बुद्ध वचनले गुन्जयमान बन्यो । अन्तर्राष्ट्रिय त्रिपिटक सुत्त पाठको अवसरमा बुद्ध भूमि बौद्धगया गुन्जयमान बनेको हो । सुत्त पाटमा सहभागि भिक्षु, उपासक–उपासिकाहरुको नमो तस्स भगवतो अरहतो सम्मासम्बुद्धसको ध्वनीले बोधगया बिहानैदेखि गुन्जयमान बनेको हो । बोधगयामा १७ औँ अन्तर्राष्ट्रिय त्रिपिटक सुत्तपथ भव्य शोभायात्राका साथ शुरु भएको थियो । परम्परागत पोशाकमा ११ भाषा, तर भगवान बुद्धप्रति समान श्रद्धा, अभिवादन र कृतज्ञताका साथ हजारौ सहभागि थिए ।

कालचक्र मैदानमा भएको सुत्तपाठमा त्रिपिटकमा रहेका बुद्ध वचनहरुको श्रद्धापूर्वक पाठ गरिएको थियो । बिहान १० बजे कालचक्र मैदानमा भियतनामी स्वागत नृत्यबाट सांस्कृतिक कार्यक्रम सुरु भएको थियो । त्यसपछि दिउँसो १ः३० बजे यात्रा महाबोधि मन्दिरतर्फ प्रस्थान भएको थियो जहाँ कार्यक्रमको औपचारिक उद्घाटन गरियो ।

लाइट अफ बुद्धधर्म फाउन्डेसन इन्टरनेशनलको सहकार्यमा अन्तर्राष्ट्रिय त्रिपिटक पाठ परिषद्को आयोजनामा १० दिने कार्यक्रम सुरु भएको हो । जसमा करिब चार हजार बौद्ध भिक्षु तथा भक्तजनहरुको सहभागिता रहेको छ । यस सुत्तपाठमा थेरवाद बौद्ध परम्परा मान्ने एसियाका नौ देश म्यानमार, थाइल्याण्ड, नेपाल, भारत, भियतनाम, श्रीलंका, लाओस, कम्बोडिया र बंगलादेशको सहभागिता रहेको छ । साथै मुस्लिम बाहुल्य इन्डोनेसिया र मलेसियाका बौद्ध धर्मावलम्बीहरुको पनि सहभागिता रहेको थियो ।

यसपटक भियतनाम बौद्ध संघ आयोजक राष्ट्र हो । प्रत्येक थेरवाद बौद्ध राष्ट्रलाई दुई वर्षसम्म आयोजना गर्ने जिम्मेवारी दिइएको हुन्छ । पहिलो तीन त्रिपिटक सूत्रपाठ भारतको महाबोधि समाजले श्रीलंकामा गरेको थियो । थाइल्याण्डले चौथो–पाँचौं, बंगलादेश र लाओसले संयुक्त रूपमा छ–सात आयोजना गरेका छन्।

म्यानमारले आठौं र नवौं सूत्रपाठ आयोजना गरेको थियो । कम्बोडियाले १० र ११ औं आयोजना गर्यो । अन्तर्राष्ट्रिय त्रिपिटक सुत्तपथ काउन्सिलले १२ औँ सूत्रपाठको आयोजना गरेको हो । १३ र १४ थाई बौद्ध संघद्वारा आयोजना गरिएको थियो । १५ औं सुत्तपथ भियतनामले आयोजना गरेको थियो । यसपटकको १७ औं सुत्तपाठको आयोजक पनि भियतनाम नै हो ।

Share

Related posts