लुम्बिनी बौद्ध विश्वविद्यालयको भिजन २०३० सार्वजनिक

लुम्बिनी बौद्ध विश्वविद्यालयले रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरेको छ । विश्वविद्यालयको १८ औं वार्षिकोत्सवको अवसरमा बुधबार लुम्बिनीमा आयोजित एक समारोहकाबीच रणनीतिक योजना ‘भिजन २०३० प्लस’ सार्वजनिक गरिएको हो ।

विश्वविद्यालयले २०३० सम्म अन्तर्राष्ट्रिय विश्वविद्यालयका रुपमा स्थापित गर्ने जनाएको छ । मुलुककै एक मात्रै विशिष्टिकृत विश्वविद्यालयले बौद्ध दर्शन, संस्कृति सहित अन्य विषयमा अध्यापन गराउँदै आएको छ । रणनीतिक योजना सार्वजनिक गर्दै विश्वविद्यालयका उपकुलपति प्रा.डा.हृदयरत्न बज्राचार्यले तीन आधार बनाएर विश्वविद्यालय अघि बढ्ने बताउनुभयो ।

अन्तर्राष्ट्रिय विश्वविद्यालय निर्माण गर्ने, बौद्ध साहित्य, संस्कृतिको अनुशरण सहितको शिक्षा प्रवर्धन गर्ने र सामाजिक उत्तरदायित्व विकासका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने प्रमुख तीन आधार रहने उहाँले बताउनुभयो । उहाँका अनुसार यी आधरभित्रै रहेर अनुसन्धान, शैक्षिक कार्यक्रम सञ्चालन गर्ने रणनीति विश्वविद्यालयको रहेको छ ।

भिजन २०३० प्लस कार्यान्वयनका सन्दर्भमा विश्वविद्यालय अनुदान आयोगका नीति, अन्तर्राष्ट्रिय शिक्षासँगको स्तरमिलान, गुणस्तरियता र अनुसन्धानमा आधारित शिक्षालाई नीतिका रुपमा अंगिकार गरिने रणनीतिक योजनामा उल्लेख छ । विश्वविद्यालयका रजिष्ट्रार डा. तिलकराम आचार्यले मुलुकको सातौं स्तरमा रहेको विश्वविद्यालयलाई अबको केही वर्षभित्रै तेस्रो स्थानसम्म पु¥याउने लक्ष्य राखिएको बतनाउनुभयो ।

विश्वविद्यालयले यसअघि प्राज्ञिक तथा भौतिक गुरुयोजना निर्माण गरेको थियो । त्यो गुरुयोजनाका मुलभूत पक्षहरुलाई अंगिकार गर्दै विश्वविद्यालयले यो रणनीति बनाएको हो । विश्वविद्यालयले अबको केही समयमै तीन संकायमा १० वटा भन्दा बढी विभाग स्थापना गर्ने लक्ष्य बनाएको छ ।

रजिष्ट्रार आचार्यले रणनीति कार्यान्वयनमा दिगो आर्थिक स्रोतको सुनिश्चितता, विषयगत दक्ष जनशक्ति चुनौतीका रुपमा रहेको भन्दै त्यसलाई चिर्दै अघि बढिने बताउनुभयो । पछिल्लो ६ वर्षमा विश्वविद्यालयको चमत्कारिक विकास भएको भन्दै त्यसलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।

कार्यक्रममा बयोद्धकुशुम धर्म महासंघका अध्यक्ष महायोगी श्रीधर राणा रिम्पोछेले बौद्ध दर्शनको अनुयायी हुनुमात्रै नभई यसको दार्शनिक चेतना सबैमा हुनुपर्ने बताउनुभयो । नेपालमा थुप्रै बौद्ध संस्कृति र परम्परा रहेको भन्दै त्यसको उजागर गर्दै प्रवर्धन गर्न विश्वविद्यालयले गहिरो अध्ययन अनुसन्धान गराउनुपर्ने उहाँको भनाई छ । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले बौद्ध दर्शनको सतही जानकारी मात्रै फैलिरहेको भन्दै यसको गहिराई बाहिर आउन नसकेको बताउनुभयो ।

उपाध्यक्ष मैत्तेयले लुम्बिनी विकास कोषले बौद्ध दर्शन, क्षेत्र, पुरातत्वको अध्ययन अनुसन्धानमा विश्वविद्यालयसँग सहकार्य गर्दै अघि बढ्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालय अनुसन्धान केन्द्रले प्रकाशन गरेका पाँच वटा पुस्तक समेत विमोचन गरिएको थियो । अनुसन्धान केन्द्रबाट धम्मपद अट्टकथा, स्वयम्भु पुराण, त्रिशिंखा, बोधि चाइनिज भाग १ र २ विमोचन गरिएको हो ।

Share

Related posts