कोरोना भाइरसका कारण यो वर्ष बुद्धजयन्तीमा ललितपुरको रुद्रवर्ण महाविहारमा बुद्ध पूजा मात्र हुने

नेपालको लुम्बिनीमा सम्पूर्ण सत्व प्राणिहरुको कल्याणार्थ जन्मेका महाकारुणिक महामानव शाक्यमुनी सिद्धार्थ गौतम बुद्धको जन्म, सम्बोधिज्ञान लाभ र महापरिनिर्वाणको त्रि–संयोग भएको पवित्र दिन बैशाख पूर्णिमाको पावन अवसरमा ललितपुर महानगरमा ६८ वर्ष देखि निरन्तर रुपमा विभिन्न धार्मिक कार्यक्रमहरुको आयोजना गरी बुद्ध जयन्ती मनाउँदै आइरहेकोमा यो बर्ष सिमित रुपमा मात्र मनाइने प्रेस विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

२५६४ औं बुद्धजयन्ती मूल समारोह समिति ललितपुरले जारी गरेको विज्ञप्ति अनुसार, लिच्छवी राजा शिवदेव प्रथमद्वारा प्रतिस्थापित कलात्मक एवं पौराणिक, ऐतिहासिक ललितपुर महानगरको महत्वपूर्ण यस शिवदेव संस्कारित ओंकुलि श्री रुद्रवर्ण महाविहार, ओकुबाहाःमा २५६४औं बुद्ध जयन्ती समारोह आयोजना गर्ने पालो यस बर्ष रहेको छ।

साप्ताहिक रुपमा कार्यक्रम गर्ने योजना रहेकोमा बुद्ध जयन्तीको सम्मुखैमा कोरोनाभाइरसको विश्वव्यापी महामारी फैलिएका कारण नेपाल सरकारद्वारा देशव्यापी बन्दाबन्दी गरेका हुनाले साथै आगामी २०७७ बैशाख २५ गते बैशाख पूर्णिमासम्म पनि बन्दाबन्दी थप भएअनुसार यस परिस्थितिलाई मध्यनजर गर्दै बुद्ध जयन्ती समारोह समितिले ललितपुर बुद्ध जयन्ती कोषसंग सल्लाह गरी बैशाख पूर्णिमाका दिन यो बर्ष बुद्ध प्रतिमा नगर परिक्रमा एवं शान्ति पदयात्राका साथै ज्ञानमाला भजन संचालन नगर्ने भएको छ।

महाविहार परिसर भित्र परम्परालाई निरन्तरता दिनको लागि मात्रै केही सिमित संख्यामा समितिका प्रमुख सल्लाहकारहरु, कार्यकारिणी पदाधिकारीहरु, कार्यकारिणी सदस्यहरु, संचालन समिति सदस्यहरु, श्री रु.म.सं.स.का सदस्यरु साथै ललितपुर बुद्ध जयन्ती कोषका पदाधिकारीहरु मात्रको उपस्थितिमा रोगबाट संक्रमित नहुनका लागि आवश्यक व्यक्तिगत दूरी कायम गरी प्रहरी सुरक्षाबलको घेराभित्र रही महाविहारका प्रमुख थपाः आजु एवं मानार्थ सल्लाहकारका साथै धर्मानुशासक सल्लाहकारहरुद्वारा बुद्ध वन्दना गरी बुद्ध पूजा सम्पन्न गर्ने समितिका कार्यकारिणी बैठकबाट निर्णय भएको विज्ञप्तिमा उल्लेख रहेको छ।

Share

Related posts