कोरोना भाइरसका कारण नेपाल सहित विश्व नै आक्रान्त बनेका कारण नेपाल बौद्ध महासंघले यो वर्ष बुद्ध जयन्तीमा वृहत कार्यक्रम नगर्ने भएको छ । महासंघले विज्ञप्ती जारी गर्दै आउँदै गरेको २५६४ औँ बुद्धजयन्ती वृहतरुपमा कार्यक्रम आयोजना नगर्ने निर्णय गरेको हो । कोरोना भाइरसको महामारीबाट जोगिन विश्वभर नै अधिकांस मुलुकमा लकडाउन गरिएको र नेपाल सरकारको निर्देशन अनुसार भिडभाड गरेर सभा-सम्मेलन गर्न रोक लगाइएका कारण र महामारी फैलिन नदिन महासंघले बुद्धजयन्तीमा विशेष कार्यक्रम नगर्ने भएको हो ।
महासंघका अध्यक्ष आचार्य नुर्बु शेर्पाद्वारा प्रेशित विज्ञप्तीमा विभिन्न गुम्बा, विहार, बौद्ध संघसंस्थाहरुलाई पनि सरकारको निर्देशन अनुसार कोरोना भाइरसबाट बच्न तथा बचाउउनका लागी अनावश्यक भीडभाड नगर्न र भौतिक दुरी कायम राख्दै विश्व शान्तिको कामना गर्दै ध्यान, भावना, प्रार्थना एवम् पाठपूजा गरी यो वर्षको बुद्धजयन्ती मनाउन अनुरोध गरिएको छ ।
नेपाल बौद्ध महासंघले लामो समयदेखि वार्षिक रूपमा नेपालमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी बौद्ध संघसंस्थाहरूसँग समन्वय गरी बुद्ध जयन्ती कार्यक्रमहरू आयोजना गर्दै आइरहेको थियो ।