कोरोना भाइरस (कोभिड १९) कारणले २५६४ औं बुद्ध जयन्तीमा लुम्बिनीमा हुने सबै कार्यक्रम स्थगित भएको छ । सबै कार्यक्रम स्थगित भएपछि बुद्ध जयन्तीमा लुम्बिनीमा भिक्षु भिक्षुणी तथा लामा गुरुमाहरुबाट विश्व शान्तिको कामना गर्दै पाठपूजासहित २५६४ वटा दीप प्रज्वलन गरिने भएको छ ।
२५६४ औं बुद्ध जयन्तीमा नेपालः भगवान बुद्धको जन्मस्थल, बौद्ध धर्मको उद्गमभूमि तथा विश्व शान्तीको मुहान भन्ने नाराका साथ २५६४ औं बुद्ध जयन्ती तथा तेस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनलाई अन्तराष्ट्रिय प्रतिनिधिहरूको सहभागिता गराई भव्यताका साथ मनाउन नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७६।१०।२० मा बसेको बैठकले निर्णय गरेको थियो ।
तर विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारणले सबै कार्यक्रम स्थगित गरिएको हो । लुम्बिनी विकास कोषले एक बिज्ञप्ति जारी गर्दे उक्त कुरा उल्लेख गरेको छ । बिज्ञप्ति अनुसार २५६४ औं बुद्ध जयन्ति मूल समारोह समिति तथा सोभन्दा दुई दिनअगाडिका लागि तय भएको दोस्रो अन्तराष्ट्रिय बौद्ध सम्मेलनका कार्यक्रमहरु कोरोना भाइरसका कारण स्थगित गरिएको छ ।
२५६४ औं बुद्ध जयन्ती बौद्ध समुदायलगायत सम्पूर्ण समुदायले नेपाल सरकारबाट जारी भएको निर्देशनको पूर्णरुपमा पालना गर्दै आ-आफ्नो स्थानमा सुरक्षित रही सुरक्षित तवरले प्रार्थना एवं पुजापाठ गरी मनाउन अनुरोध समेत गरिएको छ ।




