बसन्त महर्जन
गौतम बुद्ध ई.पू. ५२८ को वैशाख पूर्णिमाका दिन उरुबेलामा बुद्धत्व प्राप्त गरी धर्मचक्र प्रवत्र्तनका लागि सारनाथतर्फ जाँदै गर्दा गया र बोधिवृक्षको बीच बाटोमा उपक नामका आजीवकसँग भेट भएको थियो । उनी नाङ्गा साधु थिए । बुद्धको मुखमुद्रा अचम्म लाग्दो गरी तेजिलो र आकर्षक जीउडाल देखेर उपकले सोधेका थिए, ‘‘तिम्रा इन्द्रियहरू अति परिशुद्ध छन् । तिम्रो छवि वर्ण अति चम्किलो छ । कसको उद्देश्यले तिमी प्रव्रजित भएका हौ ? तिम्रा गुरु को हुन् ? कसको धर्म तिमी रुचाउछौ ?’’
उपकको सोधाइ थियो– गुरुको नाम के हो ?
गौतम बुद्धले पनि आफूले बुद्धत्व प्राप्त गरेको, आफ्नो कुनै आचार्य नभएको बरु आफू समान अरु कोही नभएको र ‘सम्यकसम्बुद्ध’ भइसकेको बताए ।
उपकको मान्यता थियो, बिना गुरु ज्ञान प्राप्त गर्न सकिन्न । आफ्नो गुरु कोही नभएको जवाफ पाउँदा उनले त्यसो भए तिमी ‘अनन्त जीन’ हुनसक्छौ भनेर प्रतिकृया दिए । बुद्धले पनि मजस्ता नै ‘अनन्त जीन’ हुने हो भनी जवाफ दिए । तर बिना गुरु पनि यस्तो हुन्छ र भन्दै संशय गरे । तर वहस गरेर नबसी ‘हुनसक्छ’ भन्ने भावले शिर मात्रै तलमाथि हल्लाएर बाटो लागे ।
साँच्चै गौतम बुद्धको कोही गुरु वा आचार्य थिएन त ? बुद्धलाई बुझ्ने एउटा कडी यही एउटा प्रश्न पनि काफी हुनसक्छ ।
बुद्धत्व प्राप्त गर्नुअघि उनी श्रमण गौतम नामले चिनिन्थे । यो नाम त गृहत्याग गरी श्रमण जीवन यापन गरेपछिको हो । शिशु जन्मेको पाँचौं दिनमा आएर लक्षण बताउने ब्राह्मणहरू राम, धज, लक्खन, मन्त्री यज्ञ, सुयाम, सुभोज र सुदत्तले स्वस्तिवाचन गरेका थिए । यसको केही समयपछि कुलगुरुका रूपमा रहेका असीत ऋषि घरमा आई शिशुको लक्षण हेरेका थिए । शिशुलाई देखेर सुरुमा खुसी हुने र त्यसको लगत्तै रुने ऋषि यिनै हुन् । शिशु पक्कै बुद्ध हुन्छन् भनेर खुसी भएका थिए भने शिशु हुर्के र बुद्धत्व प्राप्त गर्ने बेलासम्ममा आफ्नो मृत्यु भइसक्ने र बुद्धबाट उपदेश सुन्न नपाउने भएर दुःखी भई रोएका थिए । यी व्यक्तित्वहरूलाई गौतम बुद्धका सन्दर्भमा कुन रूपमा लिने भन्ने सवाल आफ्नै ठाउँमा छ भने बालक भएपछि राम्रो शिक्षादीक्षा दिन बाबु सुद्धोदनले आचार्य सब्बमित्र नामका एक ब्राह्मणको बन्दोबस्त गरेका थिए । यी ब्राह्मण उच्च कुलका, शब्दशास्त्र जानेका, व्याकरण र वेदका ६ अङ्गहरूका पण्डित थिए । सब्बमित्रबाहेक अन्य गुरुबाट पनि शिक्षादीक्षाको प्रबन्ध मिलाएको हुनु धेरै संभव छ ।

श्रमण गौतमले वैशालीमा प्रसिद्ध ऋषि आलारकालामको नाम सुने । उनैको आश्रमतर्फ जाँदै गर्दा भृगु नामका अन्य एक ऋषिको आश्रममा पुगे । भृगुसँग तपश्याबाट हुने फाइदाका सम्बन्धमा सिकेर वैशालीतर्फ नै लागे । आलारकालामकहाँ दीक्षित भएर अल्प समयमा सिद्धान्त र ध्यानका सम्पूर्ण विधिहरू सिके । यहाँबाट उनले आकिञ्चन्यायतनको ज्ञान प्राप्त गरेका थिए । श्रमण गौतम यति ज्ञानले सन्तुष्ट पार्न सकेनन् । यसभन्दा उच्चस्तरको ज्ञान स्वयं आलारकालामसँग पनि थिएन । उनले आफूले जति सिकेको हो त्यति नै श्रमण गौतमलाई पनि सिकाइ सकेको र आफू सरह भइसकेको बताए । साथै, आफूसरहकै दर्जा दिई आश्रमलाई चलाउने प्रस्ताव पनि राखे । तर श्रमण गौतमको रुची यतातर्फ थिएन । यस अवस्थामा आलारकालामले नै एक तहमाथिको ज्ञानका लागि उद्दकरामपुत्र नामका अर्को गुरुकहाँ जानका लागि सुझाए । उद्दकरामपुत्रबाट पनि अल्प समयमा नै सम्पूर्ण कुराहरू सिके जसलाई नैवसंज्ञानासंज्ञायतन ज्ञान भनिन्छ । यस ज्ञानले पनि श्रमण गौतमको चित्त बुझाउन सकेन । उनीसँग यसभन्दा उच्चस्तरको ज्ञान थिएन । श्रमण गौतमसँग यी गुरु प्रभावित थिए र आफूसरहकै दर्जा दिएर आश्रम संचालन गर्ने प्रस्ताव राखे तर श्रमण गौतमले मानेनन् । थप ज्ञानका लागि अन्यत्र सिफारिस गर्न अरु गुरु नै थिएनन् । यस प्रकार भृगु, आलार कालम र उद्दकरामपुत्रबाट शिक्षा प्राप्त गरेको बुझ्न सकिन्छ ।
हामीलाई थाहा छ, ज्ञानको खोजीमा श्रमण गौतमलाई ठुलै अभ्यास गर्नु परेको थियो । यसका लागि उनले दुश्कर चर्या पनि गरे । यी जम्मै प्रयत्नबाट केही नभएपछि मध्यममार्गी भई ध्यान गर्नतिर लागे । यही ध्यानलाई अगाडि बढाउँदै अन्ततः इ.सं. ५२८ को वैशाख पूर्णिमाको रात प्रथम प्रहरमा ध्यानको द्वितीय, तृतीय र चतुर्थ अवस्था प्राप्त गरी समाहित चित्त, परिशुद्ध, निर्मल क्लेशरहित भई मृदु भएपछि कर्मण्य भई पूर्वानुस्मृतिज्ञान प्राप्त गरे । यो अनेक पूर्वजन्महरूको कुरा थाहा पाउने ज्ञान हो । यसबाट अविद्या नाश भयो, विद्या उत्पन्न भयो । एवं प्रकारले सत्वहरूको च्युति र उत्पत्ति हुने ज्ञानतिर चित्त झुकाएर मनुष्य चक्षुभन्दा टाढा पुग्नसक्ने विशुद्ध दिव्य चक्षुद्वारा च्युत र उत्पन्न भएको तथा आआफ्नो कर्मअनुसार हीनप्रणीत, सुवर्ण दुर्वर्ण, सुगति दुर्गतिमा गइरहेका प्राणीहरू देखे । यसरी अप्रमत्त भई क्लेश सन्तप्त गरिरहँदा रातको द्वितीय प्रहरमा जन्म र मरणको ज्ञान प्राप्त भयो । यसपछि आस्रयवक्षय ज्ञान, कामास्रव, भवास्रव र अविद्यास्रवबाट पनि उनको चित्त विमुक्त भयो । एवं रीतले तेस्रो प्रहरमा बुद्धत्व प्राप्त भयो ।
बुद्ध हुनुअघि श्रमण गौतमले जे जति सिकेपनि ती ज्ञानहरूले बुद्धत्व लाभ गराएको थिएन । ललितविस्तर ग्रन्थअनुसार उनले थुप्रै लौकिक ज्ञान हासिल गरेका थिए । अन्य प्रसङ्गबाट उनले गृहस्थ जीवनमै दर्शनलगायत आध्यात्मिक ज्ञान पनि हासिल गरेका थिए । प्राप्त ज्ञानबाट उनी सन्तुष्ट हुन सकेका थिएनन् । तत्कालीन समाजमा प्रचलित अनेक साधना उच्चतम बिन्दूमा पुगेर अभ्यास गरेका थिए तर त्यसबाट पनि उनलाई खासै लाभ भएन । यस अवस्थामा बच्चा बेलामा सिकेको एउटा ध्यान विधिको सम्झना हुन पुगेको थियो जसलाई विपश्यना ध्यान भनिन्छ । यही ध्यान विधिअनुसार पुनः अभ्यास गर्दै अन्ततः बुद्धत्व लाभ गर्न सफल भएका थिए ।
विपश्यना ध्यान त एउटा विधिमात्रै थियो, बुद्धत्व प्राप्तिको पृष्ठभूमिमा पूर्णजन्महरूमा अनेकौं जन्ममा बोधिसत्व भई गरेका बोधिचर्याहरू थियो । ती बोधिचर्याका सम्बन्धमा पूर्वजन्महरूमा विभिन्न बोधिसत्व तथा कल्याणमित्रहरूबाट सिकेका थिए । तर बुद्धत्व प्राप्त भएको अन्तिम जन्ममा यसका सम्बन्धमा कसैले केही सिकाएको पाइँदैन किनभने अन्यलाई बुद्ध र बुद्धत्वबारेमा थाहा नै थिएन । गौतम बुद्ध आफैले बुद्धत्व लाभ गरेका थिए । तसर्थ यस सम्बन्धमा कोही गुरु वा आचार्य थिएनन् । यही कुरा नबुझेर त्यो बेला उपक आजीवक ज्ञानको असीम भण्डारबाट लाभान्वित हुन सकेनन् ।




हेलो बसन्त भाई नमस्ते । तपाईको लेख अध्ययन सान्दर्भिक लाग्यो तर तपाईको लेखको हरफमा “हामीलाई थाहा छ…. भन्ने लाईनमा इ.सं ५६३ लेख्नु भएको छ । त्यो संवत् गौतमबुद्ध लुम्बिनीमा जन्मेको बर्ष होइन र ?