परिचय नखुलाई पाँचमाने स्तुपको जिर्णोद्वारमा रिन्पोछेको साढे दुई करोड दान

झण्डै एक हजार वर्षअघि काठमाडौंबाट पश्चिम नेपालतिर जान जितपुरफेदी (अहिलेको तारकेश्वर नगरपालिका–३) एक मात्रै मूल बाटो थियो। त्यहाँबाट नुवाकोट, त्रिशूली, गोरखा, पोखरा, धादिङ लगायत स्थानतिर पैदल नै जानुपर्थ्यो ।

यही बाटो स्वदेशी तथा विदेशी व्यापारी र पर्यटकको लावालस्कर लाग्थ्यो, रसुवाको केरुङ हुँदै तिब्बतसम्म पुग्न। जितपुरफेदीको नामले चिनिने यो गाउँको उत्तरतिर अग्लो पहाडमा छ, तारकेश्वर महादेवस्थान। जहाँ जनैपूर्णिमा र श्रीपञ्चमीका दिन पूजापाठ हुन्छ, भक्तजनको घुइँचो नै लाग्छ।

यही पहाडको फेदीमा बौद्ध धर्मावलम्बीको अर्को पवित्रस्थल पनि छ, पाँचमाने। यो भने झण्डै एक हजार वर्षअघि निर्माण गरिएको हो।

बुद्धको उपमा पाएका अतिश दीपङ्कर केरुङको बाटो तिब्बत जाने क्रममा सन् १०४० मा जितपुरफेदी पुगेका थिए। त्यहाँ केही समय बिताउँदा उनले पाँच वटा माने (बुद्धको थुम्का) स्थापना गरेको इतिहास छ।

अहिले त्यही पाँचमानेको जीर्णोद्धार गरिंदै छ। पाँचमाने अर्थात् पञ्चमणि जीर्णोद्धार समाजका अध्यक्ष खड्गबहादुर लामा ऐतिहासिक स्थल भएकाले जीर्णोद्धार गर्न थालिएको बताउँछन्। यो दीपङ्करको चिह्न भएको उनको भनाइ छ।

जीर्णोद्धारका लागि १० वर्षअघि निर्मलरत्न तुलाधरको अगुवाइमा अभियान शुरू भएको थियो। तुलाधरको नेतृत्वमा २०७२ सालमा सामान्य जीर्णोद्धार गरिएको लामा बताउँछन्। “त्यस वेला सहयोग जुटाउन सकिएन र भूकम्पले पनि काम रोकियोे,” उनी भन्छन्।

तत्कालीन अध्यक्ष तुलाधरको अगुवाइमा पुरातत्त्व विभागको टोलीले पनि पाँचमानेको उत्खनन गरेको थियो। त्यति वेला एउटा अम्खोरा र थाली भेटिएको अध्यक्ष लामा बताउँछन्। “त्यो अम्खोरा र थाली पुरातत्त्वकै संरक्षणमा राखिएको छ,” उनी भन्छन्, “भगवान दीपङ्कर बसेको ठाउँ हो, पाँचमाने। जीर्णोद्धारपछि अम्खोरा र थाली पनि यहीं ल्याउँछौं।”

भूकम्पसँगै आर्थिक अभावले रोकिएको जीर्णोद्धार फेरि प्रारम्भ भएको छ। अहिले भने आफ्नो परिचय खुलाउन नचाहने विदेशी रिम्पोछेले सहयोग गरेका छन्। “दुई करोड ५० लाख नगदै सहयोग गरेका छन्,” अध्यक्ष लामा भन्छन्।

यो सहयोगको पछाडि पनि रोचक प्रसङ्ग छ। मलेशियाली रिम्पोछे जब ध्यानमा मग्न भए, त्यति वेला उनलाई पूर्व जन्ममा नेपाल आएको बोध भयो। पूर्व जन्ममा नेपाल आउँदा काठमाडौंमा पाँचमाने बनाएको सम्झिए। त्यसपछि २०७३ सालमा नेपाल आएर पाँचमाने पुगेको अध्यक्ष लामा बताउँछन्। “रिम्पोछेले ध्यानमग्न हुँदा प्राप्त गरेको पूर्व जन्मको जानकारीका आधारमा पाँचमाने जीर्णोद्धारमा सहयोग गर्नुभएको हो,” अध्यक्ष लामा भन्छन्, “आम मान्छेले त्यसलाई रिम्पोछेले सपना देखेको भन्ने गरेका छन्।”

रिम्पोछेले आफ्नो परिचय भने गोप्य राखिदिन आग्रह गरेका छन्। “बौद्ध धर्ममा ‘एक हातले गरेको दान, अर्को हातले थाहा नपाओस्’ भन्ने मान्यता हुन्छ,” अध्यक्ष लामा भन्छन्, “त्यसैले पाँचमाने जीर्णोद्धारमा सहयोग गरेका व्यक्तिले परिचय खुलाउन नचाहेका होलान्। यति भनौं उनी मलेशियाली रिम्पोछे हुन्। त्योभन्दा बढी दाताबारे खुलाउन मिल्दैन।” सरकारी निकायमा आवश्यक परेको वेलामा भने खुलाइने उनको भनाइ छ।

दाताले आफ्नो प्रचार नगरेरै दान गर्नमा आनन्द मानेको समाजका संरक्षक मदनकृष्ण श्रेष्ठ बताउँछन्। “परिचय लुकाएर दान गर्दा नै उनलाई आनन्द मिल्छ भने ठीकै छ,” कलाकार श्रेष्ठ भन्छन्, “उनको व्यक्तिगत स्वतन्त्रतालाई पनि सम्मान गर्नुपर्छ।”

कलाकार श्रेष्ठ आफ्नो जन्मे–हुर्केको ठाउँ भएकाले पनि पाँचमानेसँग जोडिएका छन्। दीपङ्कर तिब्बत जाने वेला बसेको ठाउँ भएको सुनाउँदै श्रेष्ठ भन्छन्, “पाँचमानेलाई बौद्ध धर्मसँगै पर्यटकीय गन्तव्य बनाउनुपर्छ ।” अनिता भेटवाल, हिमालखबर

Share

Related posts