अलोकासहित भिक्षु पन्याकर नेपालमा, शान्तिको सन्देश बोकेर लुम्बिनी र काठमाडौंमा पदयात्रा

विश्व शान्तिको सन्देश फैलाउने उद्देश्यले अमेरिकामा १०८ दिन लगाएर ३ हजार ७ सय किलोमिटर पदयात्रा गरेका भियतनामी बौद्ध भिक्षु पन्याकर नेतृत्वको टोली यतिबेला नेपालमा छ । ‘वाक फर पिस’ नाम दिइएको अभियानअन्तर्गत १८ जना भिक्षु तथा उपासक–उपासिकाको टोलीले बुद्ध जन्मस्थल लुम्बिनीदेखि काठमाडौंसम्म विभिन्न बौद्ध सम्पदास्थलको भ्रमण गरिरहेको छ ।

टोलीले आइतवार लुम्बिनीस्थित अखण्ड शान्ति द्वीपबाट मायादेवी मन्दिरसम्म शान्ति पदयात्रा गर्दै पूजा–आराधना गरेको थियो । त्यसपछि काठमाडौं आइपुगेको टोलीले सोमबार बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती विहार तथा ऐतिहासिक आनन्दकुटी विहारको अवलोकन गरेको छ । यो टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग समेत भेटवार्ता गरेको छ ।

अभियानका अगुवा भिक्षु पन्याकरले अमेरिकामा सम्पन्न पदयात्राले विश्वभर शान्ति, करुणा र मैत्रीभावको सन्देश फैलाउन महत्वपूर्ण योगदान पुगेको बताए । उनका अनुसार बुद्धका शिक्षालाई व्यवहारमा उतार्दै समाजमा सहिष्णुता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। उनले प्रज्ञाको अभाव र अज्ञानता नै शान्तिको मार्गमा प्रमुख बाधक रहेको उल्लेख गर्दै विश्व समुदायलाई करुणा र समझदारीको बाटो रोज्न आग्रह गरे ।

धर्म, राजनीति र विचारधाराले विभाजित समाजमा समेत शान्ति र सहअस्तित्वप्रतिको आकर्षण बढ्दै गएको अनुभव आफूले अमेरिकाको यात्राका क्रममा गरेको पन्याकरको भनाइ छ ।

यस अभियानको अर्को विशेष आकर्षण भने ‘अलोका’ नामक कुकुर बनेको छ । पदयात्राभर भिक्षुहरूको साथमा रहेको अलोकाले विश्वभर चर्चा कमाएको छ । करुणा र मित्रताको प्रतीकका रूपमा हेरिएको अलोकासँग तस्बिर खिच्न तथा भेट्न मानिसहरू घण्टौं पर्खिने गरेका छन् । सहज, मिलनसार र सबैसँग आत्मीय व्यवहार गर्ने स्वभावका कारण अलोका जहाँ पुग्छ, त्यहाँ आकर्षणको केन्द्र बन्ने गरेको छ ।

Share

Related posts

Leave a Comment