काठमाडौँ । बौद्ध स्तूप परिसरमा हिजो आइतवार साँझ एक भव्य एवं आध्यात्मिक वातावरणबीच १,००,००० (एक लाख) दीप प्रज्वलन धार्मिक अनुष्ठान सम्पन्न गरिएको छ । हिमाली बौद्ध शिक्षा तथा सम्भोटा लिपि प्रशिक्षण केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा “सबै प्राणीहरूको हित, शान्ति र कल्याण” का लागि विशेष प्रार्थना तथा प्रणिधान गरिएको थियो ।

कार्यक्रम साँझ ५ः०० बजेदेखि ८ः०० बजेसम्म सञ्चालन भएको थियो । सो कार्यक्रममा हजारौँ श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । स्तूप परिसरलाई दीपहरूको उज्यालोले झिलिमिली बनाउँदै सम्पूर्ण वातावरण आध्यात्मिक ऊर्जा र श्रद्धाले भरिएको देखिन्थ्यो ।

कार्यक्रममा केन्द्रका अध्यक्ष गुरु कोशिस लोप्साङ वाइबा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो । त्यस्तै करुणा बुद्धिसिम नेपालका अध्यक्ष सोनाम रुम्बा गुरुले पनि विशेष उपस्थिति जनाउँदै धार्मिक प्रार्थनामा सहभागिता जनाउनुभएको थियो ।

अनुष्ठानका मुख्य प्रायोजक मिन्जु लामा रहनुभएको थियो । आयोजकका अनुसार दीप प्रज्वलनसँगै विशेष प्रार्थना, संकल्प (प्रणिधान) तथा सबै प्राणीहरूको हितका लागि मंगलकामना गरिएको थियो ।
कार्यक्रमले बौद्ध परम्परामा दीप प्रज्वलनको आध्यात्मिक महत्वलाई पुनः स्मरण गराउँदै सहभागीहरूमा शान्ति, करुणा र मैत्रीभाव विस्तार गर्ने उद्देश्य राखेको आयोजकले जनाएको छ ।





