महायान बौद्ध धर्मका महान बुद्ध अमिताभ : श्रद्धा, शान्ति र मुक्तिको मार्ग

अभिताभ बुद्ध महायान बौद्ध धर्मका अत्यन्त महत्वपूर्ण बुद्धमध्ये एक हुनुहुन्छ । अमिता” शब्दको अर्थ अनन्त प्रका” हो । उहाँलाई असीम करुणा, ज्ञान र प्रकाशका प्रतीकका रूपमा सम्मान गरिन्छ । विशेष गरी पूर्वी एशियाका देशहरू जस्तै चीन, जापान, साउथ कोरिया र भियतनाममा अमिताभ बुद्धप्रतिको श्रद्धा व्यापक रूपमा पाइन्छ ।

बौद्ध ग्रन्थअनुसार अमिताभ बुद्ध पहिले धर्मकार नामका एक बोधिसत्त्व हुनुहुन्थ्यो । उहाँले सबै प्राणीलाई दुःखबाट मुक्त गराई सुखमय लोकमा जन्म दिने महान प्रतिज्ञा गर्नुभयो । दीर्घकालीन साधना र पुण्य सञ्चयपछि उहाँ बुद्धत्व प्राप्त गरी सुखावती नामक पवित्र लोकका अधिपति बन्नुभयो । सुखावतीलाई पश्चिम दिशामा रहेको शुद्ध भूमि मानिन्छ । यो भूमिमा जन्म लिने जीवहरूले सजिलै धर्म अभ्यास गरेर निर्वाण प्राप्त गर्न सक्छन् ।

अमिताभ बुद्धको उपासना गर्ने परम्परालाई शुद्ध भूमि बौद्ध धर्म भनिन्छ । यस परम्परामा भक्तजनहरूले श्रद्धापूर्वक अमिताभ बुद्धको नाम स्मरण गर्छन् । नमो अमिताभाय वा जापानी परम्परामा नमु अमिदा बुत्सु भन्ने मन्त्र जप गर्दा सुखावतीमा जन्म प्राप्त हुने विश्वास गरिन्छ । यसले मानिसलाई आशा, शान्ति र आध्यात्मिक प्रेरणा प्रदान गर्छ ।

अमिताभ बुद्धका मूर्तिहरूमा उहाँलाई प्रायः ध्यानमुद्रामा बसेको वा करुणाको भावसहित उभिएको रूपमा चित्रण गरिन्छ । रातो वा सुनौलो प्रकाशले घेरिएको स्वरूपले उहाँको अनन्त प्रकाश र ज्ञानलाई जनाउँछ । बौद्ध कला, साहित्य तथा धार्मिक साधनामा अमिताभ बुद्धको विशेष स्थान रहेको छ ।

यसरी अमिताभ बुद्ध करुणा, दया, आशा र मुक्तिको प्रतीक मानिन्छन् । उहाँको शिक्षाले सबै प्राणीप्रति प्रेम, सहानुभूति र सदाचारको मार्ग अपनाउन प्रेरित गर्दछ ।

Share

Related posts

Leave a Comment