रत्नसम्भव बुद्ध महायान तथा वज्रयान बौद्ध परम्परामा वर्णित पाँच ध्यानी बुद्धमध्ये एक महत्वपूर्ण बुद्ध मानिन्छ । रत्नसम्भव शब्दको अर्थ “रत्नबाट उत्पन्न भएको वा रत्नको स्रोत भन्ने हुन्छ । उहाँ समता, उदारता र करुणाको प्रतीकका रूपमा पूजनीय हुनुहुन्छ । बौद्ध दर्शनअनुसार रत्नसम्भवले मानिसमा रहेको घमण्ड, अहंकार र सामाजिक विभेदको भावनालाई रूपान्तरण गरी समताको ज्ञान प्रदान गर्नुहुन्छ ।
रत्नसम्भव बुद्धको प्रतीकात्मक रंग पहेंलो वा सुनौलो मानिन्छ । यसले समृद्धि, ज्ञान र पृथ्वी तत्त्वलाई जनाउँछ । उहाँको दिशा दक्षिण हो र उहाँको सम्बन्ध पृथ्वी तत्त्वसँग जोडिएको छ । मूर्तिकलामा र चित्रकलामा उहाँलाई प्रायः सिंहासनमा विराजमान अवस्थामा देखाइन्छ । उहाँको दाहिने हात वरद मुद्रामा रहेको हुन्छ । जुन दान, उदारता र आशीर्वादको संकेत हो । बायाँ हातमा भने रत्न वा रत्नयुक्त पात्र समातेको चित्रण पाइन्छ ।
वज्रयान बौद्ध साधनामा रत्नसम्भव बुद्धको ध्यान र मन्त्रको अभ्यासले विशेष महत्त्व राख्छ । उहाँको ज्ञानलाई समता ज्ञान भनिन्छ भने यसले सबै प्राणी समान मूल्य र सम्मानका अधिकारी हुन् भन्ने बोध गराउँछ । यस शिक्षाले जात, वर्ग, लिङ्ग वा आर्थिक अवस्थाका आधारमा गरिने भेदभाव हटाउन प्रेरणा दिन्छ ।
विशेष गरी नेपाल, तिब्बत र भुटान तथा तथा अन्य हिमाली बौद्ध परम्परामा रत्नसम्भव बुद्धको व्यापक सम्मान गरिन्छ । विभिन्न मण्डलाहरूमा उहाँलाई दक्षिण दिशाको अधिष्ठाता बुद्धका रूपमा चित्रित गरिन्छ । उहाँको उपदेशले लोभ, घमण्ड र असमानताको भावनालाई हटाई दया, उदारता र समानताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ । यस कारण रत्नसम्भव बुद्ध केवल धार्मिक आस्थाका पात्र मात्र नभई मानवतावादी मूल्य, सामाजिक सद्भाव र आध्यात्मिक विकासका प्रतीकका रूपमा पनि सम्मानित छन् ।


