बौद्ध धर्म धार्मिक आस्था मात्र नभई मानव जीवनलाई अनुशासित, शान्त र सकारात्मक बनाउने अभ्यासका रूपमा पनि चिनिन्छ । पछिल्ला वर्षहरूमा ध्यान, करुणा र नैतिक जीवनशैलीमा आधारित बौद्ध अभ्यासप्रति विभिन्न उमेर समूहका मानिसहरूको आकर्षण बढ्दै गएको छ ।
विशेषज्ञहरूका अनुसार बौद्ध धर्मको नियमित अभ्यासले मानसिक तनाव कम गर्न, आत्मसंयम बढाउन तथा जीवनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पु¥याउँछ । विशेष गरी ध्यान (मेडिटेशन) ले मनलाई एकाग्र बनाउने, चिन्ता र तनाव घटाउने तथा भावनात्मक सन्तुलन कायम राख्ने काम गर्छ ।
बौद्ध धर्मले अहिंसा, करुणा, मैत्री र सहिष्णुताको शिक्षा दिन्छ । यी अभ्यासले व्यक्तिलाई अरूप्रति सम्मानपूर्ण व्यवहार गर्न प्रेरित गर्छ । समाजमा आपसी सद्भाव, सहयोग र शान्तिको वातावरण निर्माण गर्न पनि बौद्ध शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ ।
शिक्षाविद्हरूका अनुसार बौद्ध दर्शनले मानिसलाई वर्तमान क्षणमा बाँच्न सिकाउँछ । विगतका दुःखद अनुभव वा भविष्यको अत्यधिक चिन्ताबाट मुक्त भई वर्तमानमा केन्द्रित हुन सके जीवनप्रति सन्तुष्टि बढ्ने उनीहरूको भनाइ छ । लोभ, क्रोध र मोहजस्ता नकारात्मक भावनामाथि नियन्त्रण गर्न बौद्ध अभ्यास उपयोगी मानिन्छ ।
युवापुस्तामाझ पनि ध्यान र माइन्डफुलनेसको अभ्यास लोकप्रिय बन्दै गएको छ । अध्ययन तथा पेशागत जीवनमा एकाग्रता बढाउन र मानसिक स्वास्थ्य सुदृढ बनाउन यस्ता अभ्यास प्रभावकारी रहेको अनुभव धेरैले साझा गरेका छन् ।
धार्मिक तथा सामाजिक अगुवाहरूका अनुसार बौद्ध धर्मको मूल उद्देश्य मानिसलाई दुःखका कारण बुझ्न र त्यसबाट मुक्ति प्राप्त गर्ने मार्ग देखाउनु हो । त्यसैले यसको अभ्यासले केवल आध्यात्मिक उन्नति मात्र होइन, व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनमा समेत सकारात्मक परिवर्तन ल्याउन सक्छ ।
बढ्दो व्यस्तता र तनावपूर्ण जीवनशैलीका बीच बौद्ध धर्मका सिद्धान्त र अभ्यासले शान्त, सन्तुलित र जिम्मेवार जीवन निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने गरेको छ ।


