बुद्ध जन्मस्थल लुम्बिनीमा कुलपुत्र प्रवज्या अर्थात् अल्पकालीन भिक्षु कार्यक्रम र चौथौ लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने भएको छ । लुम्बिनीमा फागुन दोस्रो हप्तादेखि यी दुई कार्यक्रम हुँदैछन् । यसपटक कुलपुत्र प्रवज्यामा ५ सय जना अल्पकालिन भिक्षुहरुलाई समावेश गराइदैछ ।
कुलपुत्र प्रवज्या अर्थात अल्पकालीन भिक्षु कार्यक्रम लुम्बिनीमा प्रत्येक वर्ष हुने गर्छ । अखिल नेपाल भिक्षु महासंघ, थाई भिक्षु महासंघ र लुम्बिनी विकास कोषको संयुक्त आयोजना यसपटक फागनु १४ गतेदेखि चैत ३ गतेसम्म ५ सय जनाको बृहत श्रामणेर कुलपुत्र प्रवज्या कार्यक्रम हुनेछ । यसैगरी अखिल नेपाल भिक्षु महासंघको आयोजनामा फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तर्राष्ट्रिय त्रिपिटक पाठ समारोह हुने भएको हो ।
त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित अल्पकालिन भिक्षुहरु सहभागिता रहनेछ । फागनु २१ गते औपचारिक उद्घाटन गरी शुरु हुने चौथो अन्तर्राष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकले जनाएका छन् । गत वर्षमा जस्तै फागुन महिनामा दुई ठूला कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए ।
फागुन १४ गतेसम्म अल्पकालिन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासंघले जनाएको छ । भगवान बुद्धको शिक्षा अनुशरण गर्ने पवित्र प्रवज्यामा सहभागी भएर लाभ लिन समेत बिशेष गरी स्थानीयहरुलाई भिक्षु तेछावरले आग्रह गरे ।
फागुन २० गते मंगलबार लुम्बिनीमा प्रवज्या गराइनेछ । त्यसपछि फागनु २२ गते लुम्बिनी हलमा भिक्षाटन, फागुन २४ गते दीप प्रज्जवलन, चैत २ गते देवदह, बुटवल, रामग्रामसम्म धम्मयात्रा गराई चैत ३ गते समापन गर्ने गरी कार्यतालिका बनाइएको छ ।