बसन्त महर्जन
बौैद्ध विषयसम्बद्ध लेखरचना तथा प्रसार सामग्रीमा प्रायशः ‘बुद्धकाल’ वा ‘बौद्ध काल’ दुई शब्दको प्रयोग पाइन्छ । यी दुई शब्द प्रायशः नेपाली तथा हिन्दी भाषामा प्रकाशित हुने पत्रपत्रिकाहरुमा देख्न पाइन्छ । काल अवधिको बोध गराउन प्रयोग गर्ने यी दुई शब्दले बेग्लाबेग्लै अर्थ दिन्छ । तर प्रयोगकर्ताहरुमा ‘बुद्धकाल’ र ‘बौद्धकाल’ भनेर समानार्थी शब्दको बुझाइ रहेको पाइन्छ र त्यही अनुसार बुझाउन खोजेको देखिन्छ । यो बुझाइमा रहेको त्रूटिहरुमा घोट्लिँदा सामान्यदेखि गम्भीर भूलहरु पनि दुष्टिगोचर हुन्छ । तसर्थ अलिकति मात्रै होस् पु¥याउन सकेमा पनि धेरै कुरा स्पष्ट हुनसक्छ ।
सामान्यतः बुद्ध भनेर गौतम बुद्धलाई बुझ्ने गरिन्छ । अन्य ऐतिहासिक श्रोतहरु भिडाएर हेर्दा उनको महापरिनिर्वाण इ.पू. ४८३ मा देखिन आउँछ । उनी अस्सी वर्षको उमेरसम्म जीवित रहेको भन्ने तथ्यमा कुनै मतैक्य छैन । यसो भएकाले जन्म साल इ.पू. ५६३ निर्धारण गर्न सकिएको हो ।
अब स्पष्ट हुन्छ, बुद्धकाल वा बुद्धकालीन भन्नाले गौतम बुद्धको जीवन अविधिलाई मात्र जनाउने हुन्छ । उनी जन्मदै बुद्ध थिएनन् । ३५ वर्षको उमेरमा बुद्धत्व लाभ गरेका थिए । यस अर्थमा ३५ वर्षसम्मको अवधिलाई बोधिसत्व सिद्धार्थको जीवनकाल भन्न सकिन्छ । इ.पू. ५२८ मा बुद्धत्व लाभ गरेपछि मात्रै बोधिसत्वको पहिचानबाट बुद्धको पहिचानमा रुपान्तरण भएको थियो । महापरिनिर्वाण इ.पू ४८३ मा ८० वषएको उमेरमा भएका कारण बुद्धत्व प्राप्तीपश्चातको जीवन काल भन्नु केबल ४५ वर्ष मात्रै रहयो । यस अवस्थामा बुद्धकालीन भन्नाले इ.पू. ५२८ देखि इ.पू. ४८३ मात्र हुन आउँछ । अलि उदार दृष्टि अपनाएर गणना गर्ने हो भने इ.पू ५६३ देखि ४८३ सम्मलाई गणना गर्दा आपत्तीदोष लाग्दैन ।

बुद्धकालीन भनी जुन कुराको लेखन वा रिपोर्टिङ हुन्छ ती गौतम बुद्धको जीवनकालसँग प्रायः सम्बन्धित हुँदैनन् । उदाहरणका लागि, बुद्धकालीन संरचना भनेर गरिने लेखन वा न्यूज रिपोटिङमा प्रायः इँटा निर्मित संरचना पनि भेटिन्छन् । वास्तविकता त के हो भने, बुद्धको जीवन कालमा इँटाको प्रचलन आइसकेको पाइँदैन । पुरातात्विक अध्ययन गर्दा बुद्धभन्दा निकै समयपछि मात्रै इँटा संस्कृतिको प्रसव काल सुरु हुन्छ । सिन्धुघाँटीको सभ्यतामा इँटा संस्कृति पाइन्छ तर त्यो संस्कृति बुद्धको जीवनकालअघि नै हराइसकेको वा बिर्सिसकेको अवस्था थियो । वर्तमान इँटा संस्कृति सिन्धुघाँटीमा पाइएको इँटा संस्कृतिको निरन्तरता होइन । गौतम बुद्धभन्दा निकै पुरानो वैदिक सभ्यतामा पनि इँटा संस्कृतिको अस्तित्व देखिँदैन । मौर्य कालको सुरुवाती दिनमा आएका ग्रीक लेखक मेगस्थनीजले मगध तथा वरिपरिको वस्तुस्थिति वर्णन गरेको ‘इन्डिका’ मा इँटा निर्मित वास्तुसंरचनाको वर्णन पाइँदैन । लुम्बिनीमा प्राप्त इँटाको अवशेषलाई पूर्व मौर्यकालिन भनिएपनि त्यसलाई इँटाको प्रारम्भिक अवस्था मात्रै भनेर बुझ्न सकिन्छ । यस अर्थमा परिष्कृत इँटाका संरचनाहरुलाई बुद्ध कालीन भन्नुको कुनै तुक छैन । मौर्यकालदेखि यता इँटा संस्कृति बडो परिष्कृत हुँदै आएको पाइन्छ । गुप्त र त्यसभन्दा पछिका इँटाद्वारा निर्मित संरचनालाई पनि बुद्ध वा बौद्धकालीन भनेर चिनाउनु इतिहाससम्बन्धी सामान्य जानकारी नै नहुनु वा हेक्का नराख्नु हो । बौद्ध विषयवस्तु भन्नु बेग्लै कुरा हो ।
अर्को शब्द हो, बौद्ध काल । बौद्ध काल भनेर कुन समयावधिलाई बुझाउन खोजेको हो स्पष्ट हुँदैन । बुद्धसँग सम्बन्धित सबै विषयवस्तु बौद्ध हुन् । बौद्ध विषयवस्तुले गौतम बुद्धको बेलादेखि आजपर्यन्त निरन्तरता पाइ नै रहेको छ । काल विभाजन गर्दा फलाना समयदेखि फलना समयसम्म भन्ने हुन्छ । यस अर्थमा उहिलेदेखि अहिलेसम्मका सबै बौद्ध कालअन्तर्गत नै पर्दछ । तर ‘बौद्ध काल’ शब्दले इतिहासको एक समयमा सुरु भयो र केही समय रहेर अन्त्य भइसकेको जनाउ दिन्छ । जस्तो, मौर्य साम्राज्यको स्थापना भयो र अन्त्य पनि भयो । स्थापनादेखि अन्त्यसम्मको अवधि जनाउनु पर्दा मौर्यकाल भन्ने गरिन्छ र त्यसपछि एवंरीतले शुंगकाल, कुषाणकाल, गुप्तकाल, पालकाल, सेनकालको गणना गरिन्छ । भारतीय सन्दर्भमा बाह्रौं तेह्रौ शताब्दीपछि बौद्ध गतिविधि कम भएको पाइन्छ र प्रायःले भारतीय भूमिबाट बौद्ध धर्म लुप्त भएको व्याख्या गर्दछन् । तर यो अतिशयोक्ति र एकांकी व्याख्या हो । लुप्त भयो भनिएको क्षेत्रमा बौद्ध धर्मको संघ परम्परा नदेखिएपनि कश्मीर, लद्दाख, स्पीति, अरुणाञ्चललगायत अनेकौं भूभागमा बौद्ध धर्ममा कुनै शिथिलता आएको थिएन । भारतमा बौद्ध धर्म लुप्त भयो भनेको बेलामा नेपाललगायत विश्वको ठुलै भूभागमा बौद्ध धर्म बुलन्द रुपमा फैलिएको थियो । बौद्ध काल भनी काल निर्धारण गर्नु इतिहासदेखि वर्तमानसम्म यो धर्मले निरन्तरता पाइराखेको कुरा नदेख्ने, यसलाई अतीतको विषयवस्तु भनी पन्छाइदिने अविवेकी कर्म मात्रै हो । बौद्ध धर्म भन्नुको पर्याय भारतमात्रै होइन । बौद्ध धर्मसँग क्षेत्रीयतावादको कुनै सम्बन्ध छैन । गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ बोधगया वर्तमान भारतमा पर्दछ र यस भूखण्डमा यो धर्म बुलन्द रुपमा फैलिएको पनि जरुर हो । बुद्धको जीवन कालमा नै काठमाडौं उपत्यकामा बौद्ध धर्मको प्रसार भइसकेको थियो भने त्यो अखण्ड रुपमा आजपर्यन्त अभ्यासमा नै छ । यस अर्थमा गौतम बुद्धको समयदेखि आजपर्यन्तको समयलाई बौद्ध काल भन्नु पर्ने हुन्छ । इतिहासमा काल विभाजनका लागि ‘बुद्ध काल’ ले थोरै अवधि (४५ वर्ष) जनाउने भएकोले थोरै अर्थ दिएपनि ‘बौद्ध काल’ निकै लामो भएका कारण इतिहासमा यसको कुनै अर्थ लाग्दैन ।
बुद्ध र बौद्ध विषयमा काम गर्ने तर यस सम्बन्धमा सामान्य ज्ञान नै नभएको अवस्थामा धेरै प्रकारका गल्तीहरु हुने गरेको पाइन्छ । सामान्य शब्दमा हुने गल्तीले पनि अर्थमा गम्भीर असर पर्ने गर्दछ । सम्बन्धित ज्ञानका अभावमा अन्य शब्दहरुको पनि गलत अर्थ र प्रयोग हुने गर्दछ । यो सम्बेदनशील कुरा हो । यसका लागि सम्बन्धित विषयको ज्ञान हासिल त गर्नै पर्दछ ।



