बुद्धजन्मस्थल लुम्बिनीस्थित मायादेवि मन्दिरमा राखिएको दानपेटिकाबाट १ करोड ४३ लाख ५९ हजार ९ सय ९० रूपैयाँ संकलन भएको छ । आर्थिक वर्ष २०८१÷०८२ अन्तर्गत दोस्रो पटक गणना गरिएको दानपेटिकाबाट उक्त रकम संकलन भएको लुम्बिनी विकास कोषले जनाएको छ । पुस १८ गतेदेखि २३ गतेसम्म ५ दिनसम्म लगाएर दानपेटिकाको गणना गरिएको लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले जानकारी दिए ।
स्थानीय तह, सुरक्षाकर्मी, प्रहरी र अन्य सरोकारवालाहरूको उपस्थितिमा दानपेटिका खोली गणना गर्ने गरिएको भट्टराईले बताए । दानपेटिकामा संकलित दानलाई सिसिटिभि क्यामेराको निगरानीमा कोषका ३२ जना कर्मचारीहरू खटाएर गणनाको व्यवस्था मिलाइएको थियो । मायादेवी मन्दिरको अवलोकन गर्ने तीर्थयात्रुहरूले श्रद्धाले दान चढाउँछन् । दानवापत संकलित आम्दानीबाट कोषको आन्तरिक खर्च व्यवस्थापन हुँदै आएको छ ।