अलपत्र ‘ग्रेटर लुम्बिनी’ परियोजना, चर्चा बेलाबेलामा, काम निराशाजनक

लुम्बिनीसंगै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलाई एकीकृत विकास गर्ने लक्ष्यसहित १२ वर्ष अगाडि ग्रेटर लुम्बिनी परियोजना गठन भएको थियोे । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै यसअघिको प्रधानमन्त्रीकालमा ‘ग्रेटर लुम्बिनी परियोजना शुरु गरेका थिए । सिद्धार्थ गौतम बुद्धसँग जोडिएका बौद्ध स्थलहरुलाई जोडेर बृहत्तर विकास गर्ने र विश्व शान्ति शहर बनाउने भन्दै शुरु गरिएको परियोजनाको बेलावेला चर्चा हुने गरेपनि काम भने गुमनाम जस्तै छ ।

सरकारले ०६८ सालमा बृहत्तर लुम्बिनी परियोजना गठन गरेको थियो । तर अहिले त्यो संस्था कहाँ छ, के गरिरहेको छ भन्नेबारे नेपाल सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष लगायतलाई नै थाहा छैन । आफै प्रधानमन्त्री भएको बेला शुरु भएको परियोजनाको उद्घाटन पुष्पकमल दाहाल प्रचण्ड आफैले गरेपनि अहिले त्यो परियोजना कहाँ छ र के गर्दैछ भन्नेबारे सरोकारवालालाई कुनै जानकारी नै छैन । गत मङ्सिर २६ गते प्रधानमन्त्री ‘प्रचण्ड’ले नवलपरासीको रामग्राम स्तूपा क्षेत्रमा आयोजित कार्यक्रममा ‘ग्रेटर लुम्बिनी परियोजना’को प्रसङ्ग निकाले । एक दशकअघि आफैले सरकारको नेतृत्व गर्दा सुरु भएको उक्त परियोजनाको चर्चा प्रधानमन्त्री प्रचण्ड आफैले गरेका थिए ।

ग्रेटर लुम्बिनी परियोजनाले लुम्बिनी, कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम, रुपन्देहीको देवदहलाई एकीकृत विकास गर्ने लक्ष्य लिएको थियो । ग्रेटर लुम्बिनी परियोजना गठन हुनुअघि बुद्ध जन्मेको स्थानलाई मात्रै सरकारले संरक्षण, विकासमा ध्यान दिने गरेको थियो तर अहिले तिलौराकोट, रामग्राम, देवदह लगायतका ठाउँको विकासका लागि पनि ध्यान दिँदै धेरै काम गरेको कोषको दाबी छ ।

बुद्ध जन्मस्थल लुम्बिनी, अष्ट धातु रहेको रामग्राम, मावली स्थल देवदहलाई समेटेर बुद्ध सर्किटका रूपमा विकास गरिएको छ । त्यहाँ पुग्न सडक सञ्जाल विस्तार भएको छ । परिणामस्वरुप पर्यटक संख्या वृद्धि भएको लुम्बिनी विकास कोषले जनाएको छ । बुद्धसँग सम्बन्धित सबै ठाउँलाई विकास गर्ने अवधारणासहित ग्रेटर लुम्बिनी स्थापना गरेको भएपनि उक्त संस्था अहिले गुमनामकै अवस्थामा छ । तर त्यसैले ल्याएको अवधारणा अनुसार केही कामहरु भने सुरु भएको लुम्बिनी बिकास कोषको दावी छ । साढे चार दशक पार गरिसकेको लुम्बिनी विकास गुरुयोजना अझै सम्पन्न हुन सकेको छैन भने विश्व शान्ती शहर बनाउने महत्वकांक्षी उद्देश्य सहित आएको ग्रेटर लुम्बिनीको सपना कहिले पुरा हुने हो निश्चित छैन ।

Share

Related posts