लुम्बिनीमा तेस्रो अन्तराष्ट्रिय त्रिपिटक वाचन सुरु

बुद्धजन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु भएको छ । बौद्ध धर्मको मुख्य ग्रन्थको त्रिपिटक वाचनमा स्वदेश तथा विदेशी धर्मगुरु सहभागी छन् । त्रिपिटक वाचनले बुद्ध जन्मस्थल लुम्बिनीको प्रबद्र्धनका साथै विश्वभर शान्तिको सन्देश फैलाउने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शनसहित त्रिपिटकको महत्वबारे जानकारी गराउने उद्देश्यसहित बुद्ध जन्मस्थल लुम्बिनीमा त्रिपिटक वाचन हुँदै आएको छ । अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषको समन्वयमा सुरु त्रिपिटक वाचनले बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रबद्र्धन गर्ने विश्वास गरिएको छ । तीन दिनसम्म लुम्बिनीस्थित पवित्र उद्यानमा त्रिपिटक वाचन हुनेछ । यसले विश्व समुदायमा शान्ति र अहिंसाको सन्देशसमेत प्रभाह गर्ने विश्वास गरिएको छ ।

त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यान्मार, थाइल्याण्ड, कोरिया, जापानलगायत एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायी गरी एक हजार जनाको सहभागिता छ । उक्त कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटक अन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटकको वाचन हुँदैछ । सुत्रपिटक अन्तर्गतको दीर्घनिकायको बह्रमजालसूत्र, अभिधर्म पिटक वाचन र विनयपिटक वाचन गरिने छ । त्रिपिटक वाचनका क्रममा शान्ति पदयात्राको कार्यक्रम समेत राखिएको छ । यसपटक सर्वसाधारणसमेत सहभागी हुने गरी कार्यक्रम आयोजना गरिएको छ । त्रिपिटक बौद्ध धर्मको मूल ग्रन्थ हो ।

हीनयान, महायानलगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश संग्रहित छ । यो ग्रन्थ पाली भाषामा लेखिएको भए पनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ । त्रिपिटक वाचनको उद्घाटन अघि शान्ति बौद्ध र्याली निकालिएको थियो । उद्घाटन सत्रमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, बौद्ध धर्मगुरु, विभिन्न देशका राजदुत तथा विज्ञले लुम्बिनीमा हुने यस्ता धार्मिक कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा यहाँको महत्व अझै झल्काउने विश्वास गरे ।

Share

Related posts