बुद्ध जन्मस्थल लुम्बिनीमा विश्व शान्ति अर्थात् मोन्लम पूजा जारी छ । महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघले तीनदिने मोन्लम पुजा गरिरहेको छ । संसारभर बुद्ध नेपालमा जन्मिएको सन्देश दिन र विश्व शान्तिका लागि वार्षिक रुपमा यस्तो पूजा गर्ने गरिएको छ
मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पिपलको रुखुमुनी दुई दिनयता रिपोन्छे खेन्छेन पेमा शेर्पा र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा तथा अन्य लामा गुरुहरुले यसैगरी मोन्लम अर्थात् विश्वशान्ति पुजा गरिरहेका छन् । बौद्ध धर्मको महायान परम्परा अनुसार नेपाल बौद्ध लोट्स श्रमणेरिका (आनी) संघको आयोजना र लुम्बिनी विकास कोषको सहयोगमा पुजा भइरहेको हो । विश्व शान्ति र मानव कल्याणको प्रार्थनासहित मोन्लम पूजा गरिएको हो । विकास कोषले लुम्बिनीमा धार्मिक पुजालाई प्राथमिकता दिँदा पर्यटन विकासका साथै बुद्ध भूमिबारे संसारभर सन्देश प्रभाव हुने जनाएको छ । यस्तै कोषले विश्व शान्तिका लागि मोन्लम पूजाको महत्व झन बढ्दै गएको बताएको छ । भगवान बुद्धका उपदेशका पाठहरु गर्दै बोद्धिसत्व गरेकाहरुको स्मरणमा गरिएको पूजाको महायान परम्परामा निकै ठूलो महत्व रहन्छ भने कोषले मोन्लम जस्ता पुजाहरुलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।
नेपालबौद्ध लोट्स श्रमणेरिका (आनी) संघले प्रत्येक वर्ष लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा मोन्लम पुजा गर्दै आएको छ । बुद्धजन्मस्थल नेपाल र लुम्बिनी हो भन्ने सन्देश दिन र विश्वभर नै शान्तिको कामना गर्दै विगत ६ बर्षदेखि मोन्लम पुजा गरिँदै आएको छ । प्रत्येक वर्ष पुजाको महत्व बढ्दै जाँदा पूजामा सहभागी हुन टाढाटाढाबाट बौद्धमार्गी, अनुयायी, लामागुरुहरु तथा आनीहरु आएका छन् ।
यो वर्षका लागि पूजा शुरु भएको बताउँदै नोभेम्बर र डिसेम्बरमा पनि यस्तै पूजा लुम्बिनीमा हुने कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले बताए ।