दिवङ्गतहरूको सुगति र विश्वशान्तिका लागि खुलामञ्चमा सामूहिक प्रार्थना हुने

आनी छोइङ डोल्मासँगै बुद्धि तामाङ र ऋचा शर्माबाट सहभागिताको आह्वान

काठमाडौँ । भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको ४९औँ दिनको स्मृतिमा आगामी असोज २८ गते बुधबार काठमाडौँको खुलामञ्चमा सामूहिक प्रार्थना सभा आयोजना हुने भएको छ। आनी छोइङ डोल्मा फाउन्डेसनको आयोजना तथा मानवसेवा आश्रमको सहआयोजनामा अपराह्न ४ः३० बजेदेखि ‘प्रेयर्स फर पिस’ कार्यक्रम हुन लागेको हो।

आनी छोइङ डोल्माले सार्वजनिक गरेको सूचनाअनुसार कार्यक्रममा संयुक्त मणि मोन्लम पाठ, दीप प्रज्वलन तथा सामूहिक प्रार्थना गरिनेछ। दिवङ्गतहरूको सुगतिको कामना गर्दै पुण्य समर्पण गर्ने, शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्ने र विपद्को सामना गर्न सबैमा शक्ति तथा धैर्यको कामना गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

आनी छोइङ डोल्माले सामाजिक सञ्जालमार्फत सबैलाई सामूहिक प्रार्थनामा सहभागी हुन आग्रह गरेकी छन्। अभिनेता बुद्धि तामाङले पनि भिडियो सन्देश जारी गर्दै आफू र मण्डला थिएटर परिवार कार्यक्रममा उपस्थित हुने जनाएका छन्। अभिनेत्री ऋचा शर्माले समेत दिवङ्गतहरूको शान्तिका लागि प्रार्थनामा सहभागी हुन सर्वसाधारणलाई आह्वान गरेकी छन्।

हिमाली महायान–वज्रयान बौद्ध परम्परामा मृत्यु र पुनर्जन्मबीचको अन्तरावस्थालाई ‘बर्दो’ भनिन्छ। यो अवस्था बढीमा ४९ दिनसम्म रहन सक्ने मान्यताअनुसार दिवङ्गतहरूको हितका लागि प्रार्थना र पुण्य समर्पण गर्ने परम्परा छ। ४९औँ दिनलाई विशेष महत्त्व दिँदै पाठपूजा तथा प्रार्थना गरिन्छ।

आयोजकका अनुसार यो कार्यक्रम दिवङ्गतहरूको सुगतिको कामना गर्ने अवसर मात्र नभई जीवितहरूमा करुणा, आपसी सहयोग र परहितको भावना अभिवृद्धि गर्ने माध्यम पनि हो। कार्यक्रममा सहभागी भई दिवङ्गतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न आयोजकले सबैलाई अनुरोध गरेका छन्।

Share

Related posts

Leave a Comment