रसियामा बौद्ध धर्मको इतिहास

नेपाल, भारत र तिब्बत बाहेक रुसमा पनि प्राचीन समयदेखि नै बौद्ध धर्म पुगिसकेको ऐतिहासिक अभिलेख पाइन्छ । ऐतिहासिककालदेखि नै बौद्ध धर्मको विस्तार भएका कारण रुसमा बौद्ध धर्मलाई प्राचीन धार्मिक संस्कार र ऐतिहासिक सम्पदाको रुपमा लिइन्छ । रुसमा विद्यमान विभिन्न धर्म तथा सम्प्रदायसँगै बौद्ध धर्म पनि रुसभरि नै फैलिएको छ । रुसका धेरै आदिवासी बौद्ध धर्म र संस्कारको पालना गर्छन् ।

पूर्वी एसियाली देशहरुसँग जोडिएका कारण रुसको साइवेरीयामा सर्वप्रथम बौद्ध धर्मको विस्तार भएको थियो । साइवेरीयामा महायानी बौद्ध मध्ये गेलुक्पा परम्पराको अनुशरण गर्नेको बाहुल्यता बढि छ । यसबाहेक अन्य परम्पराको अनुशरण गर्ने पनि उत्तिकै छन् । बौद्ध धर्म तिब्बतबाट मंगोलिया हुँदै रुससम्म पुगेको हो । रुसमा इस्वी सम्वतको ८ औँ शताव्दीतिरै बौद्ध धर्म पुगेको प्रमाण पाइन्छ ।

 

तर १९२९ तिर आएर भने रुसमा बौद्ध धर्म प्रति असहिष्णु व्यवहार प्रदर्शन भयो । कैयौ बौद्ध मन्दिरहरु बन्द गरियो र बौद्ध भिक्षुहरुलाई पक्रने र निर्वासित गर्ने काम पनि भयो । तत्कालिन सोभियत संघमा भएका अन्य धर्महरुको तुलनामा बौद्ध धर्मप्रति बढि नै कडाई गरियो । लामा भिक्षुहरुलाई जापानी जासुसको रुपमा पक्रने र कारावासमा राख्ने काम पनि भयो ।

तर सोभियत संघको विघटनसँगै रुसमा बौद्ध धर्मको पूनर्त्थान सुरु भयो । सन् १९९२ मा दलाई लामाले पहिलो पटक रुसको भ्रमण गरे । अहिले रुसमा बौद्ध धर्मका अनुयायीको संख्या धेरै रहेको छ । कैयौँको संख्यामा बौद्ध विश्वविद्यालय र मन्दिरहरु रुसमा रहेका छन् । रुसमा अहिले ७ लाखदेखि १५ लाखसम्म बौद्ध धर्मावलम्वी रहेको अनुमान गरिन्छ ।

Share

Related posts

Leave a Comment