नेपालको चार दिने भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस मंगलबार भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । लुम्बिनी पुगेका उनले बुद्धको जन्मस्थलबाटै युद्धरत मुलुकहरूलाई शान्तिको मार्गमा लाग्नलाई आग्रह गरेका छन् । गुटरेसले बुद्धका सन्देश, पञ्चशील सिद्धान्त र राष्ट्रसंघको मिसन मिल्दोजुल्दो रहेको भन्दै बुद्धको जन्मस्थानबाट संसारभरका द्वन्द्व रोक्न हातेमालोका लागि आब्हान गरे ।
जलवायु परिवर्तनको प्रभावबारे प्रत्यक्ष अवलोकन गर्न भन्दै नेपाल भ्रमणमा आइपुगेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभरी शान्तिको मार्गमा लाग्न अपिल गरे । मंगलबार विहान अन्नपूर्ण बेस क्याम्प (एबीसी)को भ्रमण सकेर लुम्बिनी पुगेका गुटेरेसले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए । उनले लुम्बिनी शान्ति र अहिंसाको क्षेत्र भएको भन्दै युद्धरत मुलुकहरूलाई शान्तिको बाटो अवलम्बन गर्न पनि आग्रह गरे ।
राष्ट्रसंघका महासचिव गुटेरेसले संसारभरि नै शान्ति स्थापनाका लागि लुम्बिनीको पवित्र उद्यान अत्यन्त महत्वपूर्ण भएको उल्लेख गरे । विश्वभरी नै शान्तिको सन्देश प्रवाह गरेका उनले विकासोन्मुख मुलुकहरुका कारण पछिल्लो समय नेपाल जस्ता मुलुकहरुले जलवायु परिवर्तनको मार खेपेको पनि उल्लेख गरे । गुटेरेसको स्वागतका लागि लुम्बिनी पुगेका माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि शान्तिको कामना गरे । उनले लुम्बिनी बुद्धको जन्मस्थल, बुद्ध धर्मावलम्बीहरुको पवित्र तीर्थस्थल मात्र नभई शान्ति र सद्भावको केन्द्र रहेको र यसले मानवजातिको शाश्वत र प्रबुद्ध शिक्षाको आधारमा प्रेरणा र मार्गदर्शन गरिरहने बताए । संयुक्त राष्ट्रसंघको पहलमा नै लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गरेको भन्दै प्रचण्डले विश्वव्यापीमञ्चमा यसको ऐतिहासिक र सांस्कृतिक महत्व रहेको दर्शाए ।
भ्रमणकै क्रममा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डले लुम्बिनीमा सालको विरुवा पनि रोपेका छन् । त्यसपछि गुटेरेस र प्रधानमन्त्रीले मायादेवीमन्दिर र अशोक स्तम्भमा पुष्पबृक्ष गरेका थिए । गुटेरेसले बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोक स्तम्भको पनि निरीक्षण गरेका थिए ।

