गत जेठ ३ गते निधन भएकी नेपालमै पहिलो विद्याविरिध गरेकी भिक्षुणी डा. अनोजा गुरुमाको शुक्रबार अन्तिम बिदाई गरिएको छ । क्यान्सरका रोगबाट पीडित अनोजाको ६९ वर्षको उमेरमा निधन भएको हो । गुरुमाको बौद्धमार्गी जगतमा मात्र नभई शिक्षा, स्वास्थ्य र साहित्यिक क्षेत्रमा पनि अतुलनीय योगदान छ ।
सुलक्षण किर्ति विहार चोभार, काडमाडौंका संस्थापक अध्यक्ष भिक्षुणी डा. अनोजाको मरणोपरान्त शरिर दान दिएका कारण पार्थिव शरिर धुलिखेल अस्पतालको जिम्मामा लगाइएको छ । गत जेठ ३ गते निधन भएकी अनोजा गुरुमाको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि तीन दिन सुलक्षण किर्ति विहार चोभारमा राखिएको थियो ।
१६ वर्षको कलिलो उमेरमा बुद्धधर्म अध्ययनका लागि भिक्षुणी बन्नका लागि गृहत्याग गर्नु भएकी उहाँले भारतको वाराणसीस्थित सम्पूर्णानन्द विश्वद्यिालयबाट अभिधर्ममा विद्यावाधि गर्नु भएको थियो । उहाँ भिक्षुणाीहरुमा नेपालकै सबैभन्दा पहिले विद्यावारिधि प्राप्त गर्न सफल भिक्षुणी पनि हुनुहुन्थ्यो । नेपाल फर्किएपछि करिव २५ वर्ष अगाडि चोभारमा सुलक्षण किर्ति विहार स्थापना गरी त्यहाँका स्थानीयलाई उहाँले बौद्धशिक्षा सिकाउन सुरु गर्नु भएको थियो ।
उहाँले चोभारमा अनाथ बालबालिका लागि सञ्चालित विद्यालयमा संरक्षकको भूमिका पनि निर्वाह गर्दै आउनु भएको थियो । अन्तराष्ट्रिय बौद्ध जगतमा पनि छाप छोड्न सफल उहाँ बुद्धज्योति अन्तराष्ट्रिय संघल नेपाल शाखाको अध्यक्षको रुपमा पनि काम गर्दै हुनुहुन्थ्यो । उहाँले विहारमै नियमित स्वास्थ्य क्लिनिक पनि सञ्चालन गर्दै आउनु भएको थियो । उहाँको क्लिनिकबाट त्यहाँका स्थानीयलगायत हजारौं लाभाम्वित हुँदै आएका छन् ।
बुद्धको बुजनहिताय बहुजन सुखायको मार्ग अनुसरण गरी नेपालमा दूरदराजसम्म पुगेर पनि बुद्धशिक्षा सिकाउन निरन्तर लागिपर्नु भएकी उहाँको योगदानको मूल्यांकन गर्दै म्यानमार सरकारबाट नेपालमा हालसम्म चारजनाले मात्र प्राप्त गर्न सफल अग्गमहा सद्धम्मज्योतिक धज नामक अन्तराष्ट्रिय सम्मान पनि उहाँले पाउनु भएको थियो ।
उहाँले विभिन्न अन्तराष्ट्रिय बौद्ध सम्मेलनहरुमा सहभागी हुने क्रममा अमेरिका, अष्ट्रेलिया, ताइवान, जापानलगायत ५० भन्दा बढी देशहरुको भ्रमण गर्नु भएको थियो । उहाँका बुद्धशिक्षा प्रचारप्रसारका लागि शान्ति अभिप्रेरणा, शील सन्देश, मंगल उपदेशलगायत एक दर्शन पुस्तकहरु प्रकाशित छन् ।