सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका–२, फेरा गाउँमा अवस्थित ‘ञिङमा साङ्ङाग क्षोलिङ्ग’ गोन्पाको जीर्णोद्धारपछि विधिवत् प्राण प्रतिष्ठा (राब्ने) पूजा सम्पन्न भएको छ। परम श्रद्धेय खेन् रिन्पोछे साङ्ये राङज्युङको बाहुलीबाट बौद्ध धर्म परम्पराअनुसार पूजा सम्पन्न गरिएको हो।
२०७२ सालको विनाशकारी भूकम्पबाट गम्भीर क्षति पुगेपछि जीर्ण बनेको गोन्पा केम्जे क्लब फेरा र देश–विदेशमा रहेका फेराबासीहरूको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको हो। गोन्पा व्यवस्थापन समितिको अगुवाइमा सम्पन्न प्राण प्रतिष्ठा कार्यक्रममा खेन् रिन्पोछेसहित टुल्कु, खेन्पो, लोपोन तथा लामा गुरुहरूको उपस्थिति थियो। बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म धार्मिक पाठपूजा गरिएको थियो।
वि.सं. २०१० सालमा परम पूज्य लामा दानुको अध्यक्षतामा स्थानीयवासीको जनश्रमदानबाट निर्माण गरिएको यो गोन्पा स्थापनाकालदेखि नै बौद्ध शिक्षा, साधना तथा दैनिक पूजापाठको महत्त्वपूर्ण केन्द्रका रूपमा रहँदै आएको छ।
गोन्पामा वार्षिक रूपमा ‘ञ्युन्य’ उपवास पूजा आयोजना गरिनुका साथै दशैँको समयमा हुने बलि प्रथालाई निरुत्साहित गर्ने उद्देश्यले विशेष पूजापाठ गर्ने परम्परासमेत रहेको छ।
धार्मिक अनुष्ठान सम्पन्न भएपछि स्थानीयवासीले परम्परागत शेर्पा नृत्य ‘श्याब्रु’ प्रस्तुत गरेका थिए। जीर्णोद्धारपछि गोन्पालाई थप व्यवस्थित बनाउँदै धार्मिक गतिविधि र बौद्ध परम्पराको संरक्षणलाई प्रभावकारी रूपमा अघि बढाउने गोन्पा व्यवस्थापन समितिले जनाएको छ।


