बौद्ध धर्मको इतिहासको एक खम्बाः फा सियान, जसको कारण बुद्धको जन्मस्थल पत्ता लाग्यो

पुग्न त बौद्ध धर्म सन् ६७ मै चीन पुगिसकेको थियो र विस्तारै लोकप्रिय पनि हुन थालेको थियो । तर लामो समयसम्म यो शुद्ध रूपमा रहेन । शुद्ध रहोस् पनि कसरी र, चीनसँग यो धर्मबारे व्याख्या गर्ने आधिकारिक ग्रन्थ नै थिएन ।

गौतम बुद्धले के भनेका थिए, त्यसैबारे भ्रम थियो । बौद्ध धर्मको व्याख्या गलत ढंगले भइरहेको थियो । यस्तोमा एकजना चिनियाँ भिक्षु फा सियान (कतिपयले फा हियान पनि भन्ने गर्छन्) निस्के, बौद्ध धार्मिक यात्रामा । कालान्तरमा उनको यात्रा नै बन्यो इतिहासको भरपर्दो स्रोत ।

अहिले पनि नेपालसँगै भारतीय बौद्ध धर्मको अध्ययन गर्न फाले लेखेको किताबमा भर नपरेर सुखै छैन । अझ लगभग १ हजार ६ सय वर्षअघि उनले गरेको कपिलवस्तु र लुम्बिनीको भ्रमण आधुनिक नेपालको इतिहासकै लागि पनि अद्वितीय छ । नेपाली भूमिको धार्मिक यात्रा गर्ने उनी ऐतिहासिक कालका पहिलो चिनियाँ हुन् भन्दा पनि हुन्छ ।

फा सियानभन्दा अगाडि पनि बौद्ध धर्मको अध्ययनका लागि केही चिनियाँ भिक्षुले आफ्नो देश छाडेका थिए, तर उनीहरूले आफ्नो यात्रा विवरण लेखेनन् । अथवा उनीहरूले लेखेको भए पनि ती उपलब्ध छैनन् । फापछि अरू केही बौद्ध भिक्षुले पनि दक्षिण एसियाको यात्रा गरे र त्यसबारे विस्तृतमा लेखे ।

यिनै यात्राका कारण गौतम बुद्धको जन्मस्थल लुम्बिनी आधुनिक नेपालमा पर्छ भनेर पत्ता लगाउन र प्रमाणित गर्न ठोस आधार मिलेको हो । ‘फा सियानले आधुनिक नेपालका लागि लगाएको सबभन्दा ठूलो गुण नै यही हो,’ लुम्बिनीबारे लामो अध्ययन गरेका गौतमवीर बज्राचार्य मान्छन्, ‘आजभन्दा धेरै वर्ष अगाडि फा कपिलवस्तु र लुम्बिनी पुगे । उनले त्यसको यात्रा विवरण लेखे । पछि त्यसैको आधारमा अरू चिनियाँ बौद्धभिक्षुले यात्रा गरे र थप लेखे ।’

बज्राचार्य मान्छन्, ‘यी यात्रा विवरणकै आधारमा गौतम बुद्धको जन्मस्थल पत्ता लगाउन मद्दत मिलेको हो ।’ यस्तोमा नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दा सबभन्दा पहिले यिनै फा सियानको नाम आउँछ । इसाको चौथो शताब्दीको अन्त्यतिर उनी मध्य एसियाका दुष्कर मार्ग हुँदै अहिलेको आधुनिक नेपाल, भारत र श्रीलंकाको भूभागसम्म आइपुगेका थिए ।

फाको जन्म चीनको सान्सी प्रान्तमा भएको थियो । उनको धार्मिक यात्राको समय सन् ३९९ देखि ४१४ लाई मानिन्छ । उनले दक्षिण एसियाको धार्मिक यात्रामै १६ वर्ष बिताए । त्यस क्रममा बौद्ध धर्मको गहन अध्ययन गरे र ठेलीका ठेली प्रमाणित बौद्ध ग्रन्थ चीन लगे । स्वदेश पुगेपछि उनले आफ्नो यात्रा विवरणका रूपमा लेखेको प्रसिद्ध पुस्तक हो, ‘बौद्ध राज्यको विवरण’ । आफ्नो धार्मिक यात्राका क्रममा फाले उद्दियान, गान्धार, तक्षशिला, उच्छ, मथुरा, वाराणसी, गयादेखि लिएर पाटलीपुत्रसम्मको भ्रमण गरेका थिए ।

खण्डहर कपिलवस्तु
फा सियान श्रावस्तीबाट लुम्बिनी पुगेका थिए । त्यसक्रममा उनले काश्यप बुद्ध, क्रकुछन्द बुद्ध र कनकमुनि बुद्धको जन्मस्थल देखे । त्यसपछि कपिलवस्तु नगर पुगे । बज्राचार्यले लेखेका छन्, ‘नगरमा न राजा त प्रज्ञा नै थिए । नगर पूर्ण रूपले खण्डहर र उजाड स्थितिमा देखेका थिए । केही श्रवण र दस घर परिवार आदिवासी मात्र उनले त्यहाँ देखे । राजा शुद्धोदनको प्राचीन तिलौराकोट दरबारमा उनले केबल कुमार र मायादेवीको मूर्ति मात्र देखे ।’

फा त्यहाँ पुग्दासम्म बौद्ध धर्ममा ऐतिहासिक महत्त्वका स्थानहरू खण्डहरमा परिणत भइसकेका थिए । जस्तो, बुद्धत्व प्राप्तिपछि पहिलोपल्ट राजा शुद्धोदनलाई भेटेको स्थानदेखि विडडुभले नरसंहार गरेको स्थानसम्म । ती सबै स्थान क्षतविक्षत रहेको भए पनि फाले त्यहाँका स्तूप भने चिन्न सफल रहे । त्यसपछि उनी कपिलवस्तु नगरबाट पूर्वतर्फ रहेको लुम्बिनी बगैंचा पुगे । उनी त्यहाँ सन् ४०९ मा पुगेको मानिन्छ ।

लुम्बिनी यात्राको विवरणमा फा सियानले लेखेका छन्, ‘यहाँ महारानीले एउटा कुण्डमा नुहाएकी थिइन् । त्यसपछि कुण्डबाट उत्तर कुना भएर माथि उत्रिन् । बीस पाइला जति पर पुगेर हातले एउटा वृक्षको हाँगा पूर्व दिशा फर्केर समाइन् । यसपछि कुमारलाई जन्म दिइन् ।’ त्यस क्षेत्रमा घनाजंगल रहेको हुनाले यात्रीले सावधानीपूर्वक यात्रा गर्न पनि फाले सल्लाह दिएका छन् । उनी लुम्बिनीबाट रामग्राम पुगेको र त्यहाँ बुद्धको अस्ति धातु राखिएको स्तूप देखेको पनि फाको किताबमा उल्लेख छ ।

उसबेलाको लुम्बिनी
सन् १८९६ डिसेम्बरमै मात्र हो, गौतम बुद्धको जन्मस्थान लुम्बिनी हो भनेर फेरि पत्ता लागेको । सन् १८०० तिर युरोपतिर बौद्ध धर्म लोकप्रिय हुन थालेको थियो । केही युरोपेली भाषामा प्रमुख बौद्ध साहित्य पनि अनुवाद भए । बौद्ध धर्मबारे थप खोजी हुने क्रम सुरु भयो । लुम्बिनीसँगै बुद्धगया, सारनाथ र कुशीनगरबारे पनि खोजी सुरु भए । यसमध्ये लुम्बिनीबारे पछि मात्र जानकारी आएको हो । पालि साहित्यसँगै फा सियान र स्य्वीयान चाङ (कतिपयले हुएन साङ पनि भन्ने गरेको) को यात्रा विवरणको आधारमा लुम्बिनीको खोजी भएको हो । सुरुमा लुम्बिनी अहिलेको भारतको उत्तर प्रदेशको बस्ती जिल्लावरिपरि रहेको अनुमान थियो ।

लगभग आठ सय वर्षसम्म यसको स्थिति अज्ञात रह्यो । त्यस बीचमा के भएको हुन सक्छ भनेर इतिहासकारहरूले थरीथरीको अनुमान गरेका छन् । स्य्वीयान चाङ लुम्बिनी पुग्दासम्म त्यस बेला त्यहाँ मानवबस्ती धेरै पातलिसकेको थियो । पछि त यो घनाजंगलमा परिणत भयो । इतिहासकार भुवनलाल प्रधानका अनुसार त्यस समयमा त्यहाँ ठूलो भोकमारी चलेको हुन सक्छ । बाढी आएको पनि हुन सक्छ । अथवा भयानक आगलागी भएर बस्ती नष्ट भएको अनुमान पनि गरिन्छ ।
यस्तै कुनै प्राकृतिक प्रकोपका कारण लुम्बिनी त्यति लामो समय सबैको जानकारी बाहिर रह्यो । फा सियानकै भ्रमण र उनले लेखेको पुस्तकबाट प्रेरित भएर सातौं शताब्दीमा स्य्वीयान चाङले लुम्बिनीको भ्रमण गरे र त्यसबारे थप जानकारी छाडेर गए । फाले आफूले गरेको भ्रमणका क्रममा खासखास स्थानमा कुनै न कुनै चिह्न छाडेर गएका थिए । यसले उनीपछिका चिनियाँ यात्रीलाई सजिलो भएको थियो ।

बुद्धभद्रसँग सहकार्य
फा सियान चीन फर्केयता नानचिङमा उनको भेट भयो, बुद्धभद्रसँग । यी दुई बौद्ध विद्वान् मिलेर संस्कृतबाट धेरै बौद्ध दर्शकका सूत्र चिनियाँ भाषामा अनुवाद गरे । त्यसमध्ये सबैभन्दा प्रसिद्ध ग्रन्थ हो– महापरिनिर्वाण सूत्र । चिनियाँ भाषामा लेखिएको एउटा ग्रन्थ छ– गो सेङ चुआन । यसको अर्थ हुन्छ, प्रमुख बौद्ध भिक्षुको जीवन । यसमा बुद्धभद्रको जीवनी पनि उल्लेख छ । चिनियाँहरू उनलाई आफ्नो भाषामा च्वेस्यान भन्थे ।

त्यस पुस्तकमा राम्रोसँग के उल्लेख छ भने बुद्धभद्रको जन्म कपिलवस्तुमा भएको थियो । उनी शाक्यवंशी राजा अमृतोदानका वंशज थिए । अमृतोदान गौत्तम बुद्धका नातेदार हुन् । इतिहासकार विजयनारायण मानन्धरको ठहर छ, सम्भवतस् बुद्धभद्र चीन पुग्ने पहिलो त्यस्तो ऐतिहासिक व्यक्ति हुन्, जसको जन्म आधुनिक नेपालमा पर्ने भूभागमा भएको थियो । यिनै फा सियान र बुद्धभद्र मिलेर चीनमा बौद्ध धर्मको विकास र प्रचारका लागि धेरै सहकार्य गरे, जसको चर्चा अहिले फेरि हुन थालेको छ । हिमेश / कान्तिपुर दैनिक

Share

Related posts

Leave a Comment