बौद्ध रेपा कलेजको स्नातकोत्तर पाठ्यक्रम विकासबारे महत्वपूर्ण छलफल

काठमाडौं । श्रद्धेय गुरु छोग्याल रिन्पोछे ज्यूको अगुवाइमा बौद्ध रेपा कलेजको स्नातकोत्तर तहको पाठ्यक्रम (Curriculum) विकाससम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न भएको छ । छलफलमा खेन्पो, लोपेन तथा कलेजका प्राध्यापकहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा बौद्ध शिक्षालाई आधुनिक शैक्षिक मापदण्डअनुसार एकेडेमिक स्वरूप प्रदान गर्दै यसको मौलिक गुम्बा परम्परा र आध्यात्मिक सारलाई संरक्षण गर्ने विषयमा व्यापक विचार–विमर्श गरिएको थियो । सहभागीहरूले बौद्ध दर्शन, इतिहास, तर्कशास्त्र, मनोविज्ञान तथा समकालीन अनुसन्धानलाई समेटेर उच्चस्तरीय शैक्षिक पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

छलफलका क्रममा विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी ध्यान, मनन, साधना तथा नैतिक जीवनशैलीसँग जोडिएको व्यवहारिक शिक्षण पद्धति विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो । यसले बौद्ध शिक्षालाई आधुनिक समयको आवश्यकता र अनुसन्धानमुखी अध्ययनसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।

गुरु छोग्याल रिन्पोछेले बौद्ध शिक्षाको मौलिकता जोगाउँदै अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी र गुणस्तरीय पाठ्यक्रम विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । आगामी दिनमा नेपाली विद्यार्थीका लागि नेपाली भाषामै बौद्ध उच्चस्तरीय पाठ्यक्रम उपलब्ध गराउने तयारी भइरहेको जानकारी समेत दिइएको छ ।

उक्त पहलले नेपाली भाषामै बौद्ध उच्च शिक्षाको विस्तार, अनुसन्धान प्रवद्र्धन तथा आध्यात्मिक र शैक्षिक ज्ञानको समन्वयमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

Share

Related posts

Leave a Comment