न्यिङ्मा परम्पराः हिमाली बौद्ध धर्मको प्राचीन आध्यात्मिक विरासत

न्यिङ्मा हिमाली (तिब्बती) बौद्ध धर्मको सबैभन्दा पुरानो परम्परा मानिन्छ । यसको स्थापना ८औँ शताब्दीमा पद्मसम्भव र शान्तरक्षित लगायतका महान आचार्यहरूको योगदानबाट भएको हो । न्यिङ्मा शब्दको अर्थ “पुरानो” हो । यसले यो परम्पराको ऐतिहासिक र आध्यात्मिक गहिराइलाई प्रतिबिम्बित गर्दछ ।

न्यिङ्मा परम्पराले बुद्धका शिक्षालाई ध्यान, करुणा र प्रज्ञामार्फत जीवनमा उतार्ने कुरामा विशेष जोड दिन्छ । यस परम्पराको प्रमुख विशेषता “जोगचेन” (महासम्पूर्णता) साधना हो । यसले मानिसको मूल चेतना स्वभावतः शुद्ध र जागृत रहेको शिक्षा दिन्छ । अनुयायीहरूका अनुसार जोगचेन अभ्यासले आत्मज्ञान र मुक्ति प्राप्त गर्न मार्गदर्शन प्रदान गर्दछ ।

नेपालका हिमाली तथा बौद्ध समुदायहरूमा पनि न्यिङ्मा परम्पराको प्रभाव उल्लेखनीय छ । विशेषगरी मुस्ताङ, डोल्पा र सोलुखुम्बु क्षेत्रका गुम्बाहरूमा यस परम्पराका धार्मिक अभ्यास, पूजाविधि र सांस्कृतिक गतिविधिहरू नियमित रूपमा सञ्चालन हुँदै आएका छन् । धार्मिक पर्व, प्रार्थना तथा ध्यान शिविरमार्फत यस परम्पराले स्थानीय समाजमा आध्यात्मिक चेतना अभिवृद्धि गर्न योगदान पु¥याएको धार्मिक अगुवाहरू बताउँछन् ।

वर्तमान समयमा न्यिङ्मा परम्परा केवल धार्मिक अभ्यासमा सीमित नभई शिक्षा, संस्कृति संरक्षण र सामाजिक सद्भाव प्रवद्र्धनमा पनि सक्रिय देखिन्छ । विभिन्न गुम्बा तथा संस्थाहरूले युवापुस्तालाई बौद्ध दर्शन, नैतिक मूल्य र सांस्कृतिक सम्पदाबारे शिक्षित गर्ने कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

बौद्ध धर्म गुरुहरुका अनुसार तीव्र रूपमा बदलिँदो आधुनिक समाजमा न्यिङ्मा परम्पराले शान्ति, सहिष्णुता र आत्मचिन्तनका मूल्यलाई प्रवद्र्धन गर्दै आएको छ । यही कारणले प्राचीन परम्परा भए पनि यसको प्रभाव आज विश्वभर फैलिँदै गएको देखिन्छ ।

Share

Related posts

Leave a Comment