यसकारण भिक्षुहरुले त्रिपिटक लिपिबद्ध गरे

बुद्धले बुद्धत्व प्राप्तिदेखि महापरिनिर्वाणसम्म धर्मसम्बन्धी उपदेश लगातार दिइरहे । बुद्धले उपदेश न कुनै एक खास व्यक्तिलाई मात्र दिएका थिए, न त एक खास स्थान वा खास समुदायलाई । उनले आफूद्वारा स्थापित संघका लागि आवश्यकता अनुसार नियम पनि बनाए । बुद्धको समयसम्म यी सबै उपदेश मौखिक थिए । उनका शिष्यले त्यसलाई कण्ठस्थ पार्थे । भिक्षुहरूमा सबैसँगै मिलेर कण्ठस्थ पार्ने चलन थियो । बुद्धको महापरिनिर्वाणपछि उनका मुख्य–मुख्य शिष्यले सबै उपदेशलाई संग्रहित गर्नु पर्ने आवश्यकता देखे । बुद्धका उपदेशहरु श्रृतिश्रवण परम्परामा मात्रै सिमित राख्दा कालान्तारमा आफु अनुकुल व्याख्या हुने वा सुनाइन सक्ने सम्भावना देखेर नै भिक्षुहरु संग्रहित गर्ने निर्णयमा पुगेका हुन् ।

भिक्षु महाकश्यपले बुद्धको उपदेश संग्रह गर्न सम्मेलन गर्ने निर्णय गरे । त्यतिबेला उनले लगभग संघको नेतृत्व गरिरहेका थिए । बौद्ध धर्मको इतिहासमा यस्ता सम्मेलन संगायनाका नामले प्रख्यात छन् । बुद्ध महापरिनिर्वाणको तीन महिनापछि पहिलो संगायना भएको थियो । सात महिना चलेको यस संगायनामा पाँच सय भिक्षुले सहभागिता जनाए । यसै क्रममा धर्म र विनयसम्बन्धी उपदेश संकलन गरिए । बुद्ध वचनलाई स–साना भागमा विभाजन गरियो ।

त्यसलाई मौखिक परम्परा अनुसार सुरक्षित राख्न फरक–फरक भिक्षुका संघलाई जिम्मा दिइयो । आफ्नो भागमा परेको अंशलाई भिक्षु संघले पाठ गर्ने काम सुरु गरे । यसरी सुदीर्घ परम्परा सुरु भयो र सुरु भयो, बुद्ध वचन सुरक्षित गर्ने काम । ईसापूर्व २९ तिर भिक्षुहरूले फेरि अनुभव गरे, मौखिक परम्पराले बुद्ध वचन सधैँका लागि चिरस्थायी हुने छैन । यसलाई लिपिबद्ध गर्न आवश्यक छ । त्यतिबेला श्रीलंकामा राजा बट्टगामिणीको शासन थियो ।

उनले बुद्ध वचन लिपिबद्ध गर्ने व्यवस्था मिलाए । यसका लागि एक अर्को संगायन भयो । यो टिपिटक संगायनाका नामले प्रख्यात छ । टिपिटक अर्थात् त्रिपिटक । अर्थात, तीन थैलीको समूह । यी हुन्, सुत्तपिटक, विनयपिटक र अभिधम्मपिटक । सुत्तपिटकमा बुद्ध उपदेश संकलित छन् । विनय पिटकमा भिक्षुका नियम छन् । अभिधम्मपिटकमा बुद्ध दर्शन । त्रिपिटकको अध्ययन बिना बौद्ध धर्म वा दर्शन बुझे भन्नु सरासर गलत हुने बौद्ध विद्वानहरु बताउँछन् ।

नेपाल भाषामा त्रिपिटकका धेरै ग्रन्थ प्रकाशित भइसकेका छन् । नेपाली भाषामा पनि एकाधभन्दा बढी बौद्ध ग्रन्थ नेपालीमा अनुवाद भएको छैन । नेपाली छाडेर नेपालका अन्य राष्ट्रिय भाषामा त्रिपिटकको उपस्थिति लगभग शून्यजस्तै छ ।

Share

Related posts