रजनिश ओशो भन्थे : नेपालीले बुद्ध नचिन्नु भूल

भिक्षु कृष्णमान
चार महान् विश्व प्रसिद्ध तीर्थस्थलहरू हुन्ः बुद्ध जन्मस्थल लुम्बिनी, ज्ञान प्राप्तिस्थल बोधगया, धर्मचक्र प्रवर्धन स्थल सारनाथ, महापरिनिर्वाण स्थल कुशीनगर । यी चार पावन तीर्थस्थलमध्ये बुद्ध जन्मस्थल लुम्बिनीलाई प्रमुख एवं महत्वपूर्ण मानिन्छ । किनभने बुद्ध दर्शनको उद्गम स्थल नै लुम्बिनी उद्यान हो, जहाँ गौतमबुद्धको जन्म भयो वैशाख पूर्णिमाको दिन । बुद्धले आजकै दिन बुद्धत्व प्राप्त गर्नुभएको र आजकै दिन देह त्याग गर्नुभएकाले बुद्ध जयन्तीलाई त्रियोग महोत्सवको नामले पनि पुकार्ने गरिन्छ । लुम्बिनी बुद्धको जन्मस्थल भएकाले नै बौद्ध इतिहासमा नेपालले अद्वितीय स्थान हुन पुगेको हो ।

बुद्धको जन्मस्थलमा तीर्थाटन हुन सकोस् भनेर प्रसिद्ध आध्यात्मिक गुरु उपगुप्ताले मौर्य सम्राट् अशोकलाई सल्लाह दिएका थिए । त्यही सल्लाहअनुसार उहाँ लुम्बिनी आउनुभयो र उहाँकै आदेशमा पाषाण स्तम्भ निर्माण भयो, जहाँ शीलालेख कुँदिएको छ । अशोक स्तम्भमा कुँदिएको शिलालेखमा लेखिएको छ, ‘देवताहरूका प्रियदर्शी सम्राट् अशोक राजाको राज्याभिषेकको २० वर्षमा आफैं आएर (यहाँ बुद्ध शाक्यमुनि जन्म भएकाले) पाषाणको एउटा प्राचीन शिला स्तम्भ स्थापना गर्नुभयो । लुम्बिनीलाई ग्राम अष्ट भागीयको रूपमा करमुक्त गरियो ।’

बुद्धको जन्म
मायादेवी कपिलवस्तुबाट आफ्ना दलबलसहित देवदहतर्फ लाग्नुभयो । उतिबेला प्रथम बच्चा आफ्नै माइतीघरमा जन्माउनुपर्ने चलन थियो । बीच बाटोमा रहेको लुम्बिनी उद्यान पुग्दा मायादेवीलाई प्रशव वेदना भयो । मायादेवीले उद्यानसँगै रहेको पुस्करनी तलाउमा स्नान गर्नुभयो । स्नान गरिनसक्दै उहाँलाई चरम प्रशव वेदना भएछ । त्यसपछि उहाँले एक हातले रूखको हाँगा समात्नुभयो अनि आफ्नै कोखबाट अलौकिक तेजश्वी बच्चालाई हर्ष्विभोरका साथ जन्म दिनुभयो । त्यतिबेला उहाँलाई स्वागत गर्न ब्रह्मासहित अन्य देवीदेवता उपस्थित भएका थिए । बुद्ध जन्मबारे कोरिएको शिला मायादेवी मन्दिरमा सुरक्षित छ ।
चिनियाँ तीर्थयात्रीहरू फाइहान र हुयेन साङले लुम्बिनी उद्यानमा अवलोकन गरेका थिए । बुद्ध जन्मबारे चित्रण गरिएको शिला (बुद्ध जन्म पाषण मूर्ति) मा पुष्करनी तलाउ, अशोक स्तम्भ र तेलार नदी आदिको बारेमा वर्णन गरिएको छ ।

बुद्ध जन्मस्थलको प्रमाणित चिह्न अशोक स्तम्भ, शिला र यस अतिरिक्त मायादेवी मन्दिर हुन् । मन्दिर भत्काएर उत्खनन गर्दा प्राप्त भएको मार्कर स्टोनले लुम्बिनी बुद्ध जन्मस्थल हो भन्ने पूर्णरूपमा अंकित÷प्रमाणित गरेको छ । मार्कर स्टोनको संरक्षण गर्न मायादेवी मन्दिरको उद्गम या पुनर्निर्माण गरिएको हो ।

समय जति गुज्रिँदै जान्छ, बुद्धको महत्व र उनका वाणी त्यत्ति नै आकर्षित हुँदै गइरहेको छ । नेपाली जनता र नेपाल सरकारले बुद्ध चिन्न लागिपरेमा बुद्धत्वको तेज बढेर जानेछ ।
बुद्धका उपदेशहरू बहुजनले अनुशरण गर्न पाऊन् भन्ने उद्देश्य राखी मौर्य सम्राट् अशोकले एसियाली देशहरूमा शिला र स्तम्भ कुँदेका थिए । त्यहाँ कुँदिएका बुद्ध वाणीलाई ती देशका वासिन्दा आफ्नो जीवनयापनमा समाहित गराउन सफल भएका थिए । तर बुद्ध उपदेशलाई आम नेपाली जनले बुझ्ने प्रयत्न गरेनन् भन्ने गुनासो दुईजना भारतीय बौद्ध दार्शनिकमध्ये रजनिसले यसरी पोख्नुभएको छः

(नेपालका हिमालयहरू प्रदूषित हुन पाएका छैनन् । नेपाली हिमशिखरहरू प्राकृतिक सुन्दरताले भरिपूर्ण देखिन्छ, जसको अवलोकनबाट जोकोही पनि आध्यात्मिक आनन्दमा डुब्न सक्छन् ।नेपालीहरू कलुषित छैनन् । उनीहरूमा निर्दोषपन छ र आँखामा सरलता छ । तर यी दुवै गुणहरू संसारबाट बिदा हुँदैछ । आफ्नै माटोमा जन्मिएका बुद्धलाई चिन्ने प्रयत्न नेपाली जनताले गर्न सकेनन् । उहाँ अगाडि भन्नुहुन्छ, ‘नेपाली गरिब हुनुको एउटा कारकतत्व बुद्धलाई चिन्न नसक्नु हो, जुन ठूलो भूल हो ।’

यसै सिलसिलामा एक भारतीय उर्दू कवि इकवाल भन्नुहुन्छः
कौमने पैमाने गौतम कि जरा पर्वाह नकी
कद्र पहचानी नअपने गौहरे एक दाना कि
शमाए गौतम जलरहिहै महिफिले अगियारमे ।

बुद्धत्व संसारभर फैलिएको छ । समय जति गुज्रिँदै जान्छ, बुद्धको महत्व र उनका वाणी त्यत्ति नै आकर्षित हुँदै गइरहेको छ । नेपाली जनता र नेपाल सरकारले बुद्ध चिन्न लागि परेमा बुद्धत्वको तेज बढेर जानेछ ।

Share

Related posts