बसन्त महर्जन
प्राचीन बौद्ध वाङमयहरूमा ‘लुम्बिनी’ शब्दको प्रयोग बडो विशिष्ट र शालीनताका साथ हुने गर्दछ । आजभोलि पनि कसैले ‘लुम्बिनी’ नाम लिनुमात्रै पर्दछ, संसार भरका बौद्धहरू गौतम बुद्धको जन्मस्थल भनी बुझ्दछन् र श्रद्धाले झुक्छन् । अन्य सम्प्रदायबाट आएकाहरू पनि यसमा सद्भाव राख्छन् ।
लुम्बिनी कसैका लागि पर्यटकीय स्थल होला तर बौद्धहरूका लागि भने यो पर्यटकीय गन्तव्य मात्रै नभएर तीर्थस्थल नै हो । किन भने ई.पू. ५६३ को वैशाख पूर्णिमाका दिन यहाँ गौतम बुद्ध जन्मेका थिए । यसैले बौद्धहरू यहाँ आएर श्रद्धा व्यक्त गर्दछन् । बुद्धकै अनुसार चार संवेजनीय स्थलहरूमा एक लुम्बिनी पनि हो । अन्य तीन स्थल बोधगया, सारनाथ र कुशीनगर भारतमा पर्दछ । अध्ययन गर्नेहरूका लगि लुम्बिनी एउटा खुल्ला किताब जस्तै रहेको छ । यसलाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्न सकिन्छ । यहाँ ‘लुम्बिनी’ शब्दको प्राचीन लेख्य उल्लेख कहाँ कसरी भएको छ भनी पर्गेल्नेछौं ।
‘लुम्बिनी’ शब्दको लेख्य उल्लेख सर्वप्रथम कहाँ भयो भन्ने प्रश्नको जवाफमा लुम्बिनीमा नै रहेको अशोक स्तम्भको अभिलेखलाई देखाउन सक्छौं । लुम्बिनी भ्रमणका क्रममा मौर्य सम्राट अशोक ई.पू. २४९ तिर लुम्बिनी आएका थिए । यसै बेला उनले यहाँ अभिलेखसहित शिलास्तम्भ स्तम्भन गराएका थिए । उक्त अभिलेखमा ‘लुम्बिनी’ शब्दको उल्लेख छ । ब्राम्ही लिपि र मिश्रित पाली भाषामा रहेको सो अभिलेखमा ‘हिदभगवं जातेति लुंमिनी गामे’ भन्ने उल्लेख गराएका छन् । त्यसअघि त्यसै अभिलेखमा ‘हिदबुधे जाते सक्यमुनीति’ पनि भनेका छन् । गौतम बुद्धको जन्मसम्बन्धी यति थोरै शब्दमा त्यति धेरै जानकारी दिएर मौर्य सम्राटले ठुलो गुन लगाएका छन् । यहाँ भगवान जन्मनु भएको हो, तर ‘यहाँ’ भनेको कहाँ ? भन्ने प्रश्नको जवाफ अन्त खोज्नु पर्दैन, त्यसैमा ‘लुम्बिनी’ भनिएकाले सजिलो भयो । भगवान बुद्ध मात्रै भनेर पुगेन, कुन बुद्ध भन्ने प्रश्नको जवाफ पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

बौद्ध धर्म र दर्शनसम्बन्धी आधारभूत ज्ञान प्राप्त गरि नसकेकाहरु बुद्ध भनेर गौतम बुद्धलाई मात्र बुझ्छन् तर बौद्ध जगतका लागि बुद्ध शब्द नामवाचक नभएर एउटा पद हो । उक्त पदको हकदार जो पनि हुनसक्छन् जसले बुद्धत्व प्राप्त गर्दछन् । गौतम बुद्धभन्दा अघि यो पद अनेकौंले प्राप्त गरेका थिए र भविष्यमा यो पद प्राप्त गर्ने बोधिसत्वहरु पनि असंख्य नै हुन्छन् । बौद्धहरु गौतम बुद्धभन्दा अघिका बुद्धहरुलाई अतीत बुद्धका रुपमा श्रद्धा राख्दछन् भने तिनीहरुमध्ये पालि साहित्यमा २७ जनाको नाम ज्ञात छ भने महायानी साहित्यमा कहीँ ३५ त कहीँ १०० भन्दा बढीको नाम पाइन्छ ।। लुम्बिनीमा कुन बुद्धको जन्म भएको हो भनेर अलमलिनु नपरोस् भनेर होला, अभिलेखमा ‘शाक्यमुनि’ भनेर स्पष्ट नै उल्लेख गराए । गौतम बुद्धलाई बौद्ध जगतमा शाक्यसिंह वा शाक्यमुनि नामबाट पनि सम्बोधन गरिन्छ अर्थात् लुम्बिनीमा गौतम बुद्ध जन्मेको हो भन्ने कुरा यहाँबाट प्रष्ट भयो । यही अभिलेख पढेर गौतम बुद्धको जन्मस्थल लुम्बिनी अन्त होइन, नेपालको पश्चिम तराईस्थित रुपन्देही जिल्ला, राजधानी काठमाडौंबाट ३०० किलोमिटर दूरी र जिल्ला सदरमुकाम भैरहवाबाट २३ किलोमिटर पश्चिम र कपिलवस्तुको सदरमुकाम तौलिहवा बाट २७ किलोमिटर पूर्वमा रहेको स्थल हो भन्ने तथ्य स्थापित भयो ।
निकै समयपछि मात्रै बुद्धका उपदेशहरू लिपिवद्ध गरिएको थियो । त्यसअघि जम्मै उपदेश कण्ठस्थ पारेर मौखिक रुपमा सुरक्षित राखिन्थ्यो । यसै भएर ‘लुम्बिनी’ शब्दको लेख्य प्रयोग ती बौद्ध वाङमयहरूमा भन्दा अघि अशोक स्तम्भमा भएको मान्नु परेको हो ।
‘लुम्बिनी’ शब्दको उल्लेखमात्रै होइन, ‘ललितविस्तर’ नामको संस्कृत ग्रन्थमा लुम्बिनीको विस्तृत वर्णन नै गरिएको छ । ‘ललितविस्तर’को रचनाकाललाई ध्यानमा दिँदा पालि साहित्य लिपिवद्ध हुनुअघि नै ललितविस्तर’ ग्रन्थका रुपमा आइसकेको पाइन्छ । सुरुमा यो सर्वास्तिवादी बौद्ध सम्प्रदायको भएपनि पछि महायानी बौद्ध ग्रन्थको रुपमा परिमार्जित गरिएको थियो । यो भनेको पालिसाहित्यलाई लिपिवद्ध गर्नुअघिको कुरा हो । यस ग्रन्थअनुसार गर्भवती मायादेवी लुम्बिनीलाई नै गन्तव्य बनाएर कपिलवस्तुबाट प्रस्थान गरेकी थिइन् । त्यसै बेला गौतम बुद्धको जन्म भएको थियो । बुद्धको जीवनीमा आधारित पहिलो महाकाव्य ‘बुद्धचरित्त’ मा लुम्बिनीको उल्लेख नहुने त कुरै भएन । महाकवि अश्वघोषद्वारा लिखित ‘बुद्धचरित्त’ र संस्कृत बुद्ध जीवनी ग्रन्थ ‘ललितविस्तुर’ मा लुम्बिनीको विस्तृत र बडो काव्यात्मक ढङ्गमा सुन्दर वर्णन पढ्न पाइन्छ ।
पाली बौद्ध वाङमय ‘त्रिपिटक’को खुद्दक निकायको पाँचौं ग्रन्थ ‘सुत्तनिपात’को ‘नालक सुत्त’मा पनि लुम्बिनी शब्दको उल्लेख पाइन्छ । उक्त सूत्रमा ‘प्राणीहरूको हितको र सुखको निम्ति मनुष्य लोकमा शाक्य जनपदको ‘लुम्बिनी’ ग्राममा उत्तम र अतुल्य बोधिसत्व उत्पन्न भएका छन्’ भन्ने उल्लेख पाइन्छ ।
‘जातकअठ्ठकथा’को अविदूरे निदानमा पनि ‘लुम्बिनी’को अवस्थिति कपिलवस्तु र देवदह दुई नगरको बीचमा पर्दछ भनी देखाएको छ । यही ग्रन्थमा लुम्बिनी वन अत्यन्तै मनमोहक हुने गरेको भन्दै ‘चित्तलता’सँग तुलना गरिएको छ ।
‘मज्झिमनिकाय’ को ‘देवदहसुत्त’मा बुद्ध देवदहबाट हिडी ‘लुम्बिनी’ पुगेको र रात त्यहीं बिताएको वर्णन पाइन्छ । यसरी नै सम्राट अशोकको समयमा तयार पारिए पनि त्रिपिटकमा समाविष्ट ‘कथावत्थु’मा भगवान लुम्बिनीमा जन्मेको भनी दुई ठाउँमा उल्लेख गरिएको छ ।
पछि लेखिएका अवदान ‘कल्पलता’को ‘अभिनिष्क्रमणावदान’, महावस्तु, कर्मविभंग, दिव्यावदान, गण्डव्यूह आदि ग्रन्थहरूमा पनि लुम्बिनीको उल्लेख पाइन्छ । यसरी नै लुम्बिनीको भ्रमणमा आएका चिनियाँ यात्री फाहियानले लुम्बिनीलाई ‘लुनमिन’ र ह्वेनसाङले ‘ल–फ–नि’ भनी यसको वर्णन दिइएको छ । अशोकको अभिलेखमा ‘लुंमिनी’, फाहियानको यात्रा वर्णनमा ‘लुनमिन’ र ह्वेनसाङको यात्रा वर्णनमा ‘ल–फ–नि’ रहेबाट स्थानिय बोलीमा नाम द्रूततर गतिमा अपभंश हुँदै गएको अनुमान गर्न सकिन्छ ।
लुम्बिनी शब्दको अपभं्रश कतिसम्म भएको पाइन्छ भन्ने सन्दर्भमा रुपन्देही, रुपनदेवी, रुपन्देही, रुपादेवी सम्म जान सकिन्छ । भाषामा ‘ल’ र ‘र’ मा भेद छैन । यही भएर अपभ्रंश नामहरुलाई कालान्तरमा लुम्बिनीसम्बन्धी ज्ञानको अभावमा हिन्दूधर्मको कुनै एक देवीको कल्पनासम्म गर्न पुगेको पाइन्छ जब कि उक्त नामको कुनै पात्र हिन्दू ग्रन्थमा पाइँदैन । बोधिसत्वलाई जन्म दिइरहेको मायादेवीको ठूलो पाषाण मूर्तिको उल्लेख प्राचीन कालमा नै भएको पाइन्छ तर पछिका स्थानिय जनताले यसैलाई रुपन्देवी, रुपन्देही र रुपादेवी नाम दिई वनदेवी का रुपमा पुज्दै र पशुबली पनि दिँन थाले । समयक्रममा पछि लुम्बिनी विस्मृतिको गर्भमा विलन हुन पुगेको बेग्लै विषयवस्तु भयो । तर, इ.सं. १८९६ मा अशोक स्तम्भको प्राप्ती र त्यसमा रहेको अभिलेखको पठनपछि बिर्सिएको लुम्बिनी पत्ता लाग्यो र बुद्ध जन्म स्थल भनेर पुनः प्रकाशमा आयो । साथै यसले नयाँ जीवन पनि पायो ।
लुम्बिनी अहिले एउटा ‘ब्रान्ड नेम’ भएको छ जसले गौतम बुद्धसँग सोझै सम्बन्ध राख्छ । तर यो ब्रान्ड नेम’ को प्रयोग बौद्ध मूल्य र मान्यतासँग नमिल्ने सन्दर्भ र प्रसङ्गमा प्रयोग हुँदा विरोधाभास हुने गर्दछ ।




Creative Article