न्युयोर्कको शेर्पाहरुको बिशाल ल्हासो पूजा

पासाङ् फुटी शेर्पा, न्युयोर्क
शेर्पा किदुग अमेरिकाले बसन्त ऋतुको आगमनसंगै धार्मिक तथा सांस्कृतिक परम्परा अनुसार ल्हासोल् पर्व भव्यताका मनाएको छ । अप्रिल १४ का दिन न्युयोर्क शहरबाट डेढ घण्टा उत्तरमा पर्ने काग्यु थुप्तेन क्षोलिङ् गुम्बामा उक्त ल्हासोल् पूजा सम्पन्न गरिएको हो । विहानको ९ बजे देखि लामाहरूबाट बिश्व शान्ति पूजा सहित कार्यक्रम शुरु भएको थियो ।

पुजा कार्यक्रम पछि लामाहरूद्वारा बिश्व शान्ति र प्राणी जगतको कल्याणको लागि विभिन्न धार्मिक नाचहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा शेर्पा कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे । त्यसपछि दानव शक्ति माथि देव शक्तिले विजय हासिल गरेको खुशीयालीमा लामा गुरुगरुका साथमा सबै सहभागीहरूले एकै स्वरमा के के सोसो ल्हा ग्याल्लो भन्दै सहित विजयको प्रतीक सेतो पिठो आकाश तिर उडाएर बिजयोत्सव मनाईएको थियो ।

“ल्हासोल” शब्द हिमाली बौद्धमार्गीहरूको भाषा हो, यसलाई सम्भोटा लिपिमा लेखिन्छ । ल्हासोलको अर्थ ‘ल्हा’ देव र सोल् भन्नाले पुज्नु भन्ने जनाउँदछ । ल्हासोल् गर्दा परम ज्ञानको लागि त्रिरत्न, त्रिदेव र वोधिसत्वहरुलाई पुकारिनुका साथै सांसारिक सुखको लागि सांसारिक देव देवीहरुलाई पनि चित्त बुझाउने कार्य हुन्छ । शास्त्रहरु अनुसार सांसारिक देव देवीहरु स्थानीय रुपमा पानी, जमीन र पहाड़ पर्वतहरुमा पनि बसेका हुन्छन् । यी देव देवीहरु सबै खुशी भएमा लौकिक जीवनमा खुशी मिल्दछ । उनीहरू दुखी भएमा हामीलाई पनि दुख दिन्छन् भन्ने विभिन्न शास्त्र लेखिएको पाईन्छ । यस बारेमा एउटा भनाई पनि छ पहिले तिब्बतमा महासिद्ध मिलारेपाको समयमा गाँउका मानिसहरू सबै विरामी भएका थिए । यो किन भएको हो भनी मिलारेपालाई प्रश्न राख्दा मिलारेपाले “तिमीहरूले खाना पकाउँदा खाना चुल्होमा पोखिएर त्यो धुँवाले स्थानिय देवी देवताहरू विरामी हुनुभएकाले त्यसैको असरले गाँउका मानिसहरू विरामी भएका हुन्, त्यस्को लागि तिमीहरूले साङ पुजा गर्नु सबै शान्त हुन्छ” भन्नु भएको थियो । साङ् पूजा गर्नाले हाम्रा क्लेश नष्ट हुन्छ र मोक्ष प्राप्तिको मार्ग खुल्दछ । यसले पर्यावरणलाई शुद्ध बनाउने काम गर्दछ । सेर्केम पूजाले धर्मपालहरु लगायत सम्पूर्ण सांसारिक देवी देवताहरुलाई तृप्त गराउँछ । ल्हासोल् पूजाले यसरी चराचर जगतको कल्याण गर्दछ ।

यस वर्षको ल्हासोल पूजामा न्यूयोर्क, न्युजर्सी, कनेक्टिकेटका विभिन्न स्थानबाट साथै बोस्टन, मेन, न्यु ह्यम्प्श्यार, पेन्सिल्भनिया, मेरिल्यान्ड, भर्जि्निया, मिचिगन, न्यूमेक्सिको, कोलोराडो, क्यालिफोर्निया जस्ता टाढा टाढाका राज्यहरुबाट पनि उल्लेखनीय सहभागिता रहेको थियो । शेर्पा समुदायका साथमा तामाङ्, गुरुङ, मगर, ह्योल्मो, वालुङ्, मनाङ्गे, क्षेत्री, ब्राम्हण सहित तिब्बती तथा भुटानी समुदायको ठुलो उपस्थिति रहेको थियो । ६ महिना देखि निरन्तर खटेकाले कार्यक्रम ऐतिहासिक रुपमा सफल भएको संस्थाका महासचिब कर्म लामा बताउँछन् ।

ल्हासोलमा सहभागी हुनेहरूका लागि आयोजकले २१ वटा बसको ब्यवस्था बसको व्यवस्था गरेका थिए । त्यस्तै लगभग १५० निजी सवारीबाट पनि लिएर सहभागीहरु उपस्थित भएका थिए । कग्यु थुप्तेन क्षोलिङ् गुम्बाले १५०० भन्दा बढी मानिस नल्याउन आग्रह गर्दा गर्दै पनि सहभागी संख्या १७०० भन्दा बढी हुन पुगेको कार्यक्रम संयोजक सोनाम बरुवा लामाले बताए ।

कार्यक्रममा स्वास्थ्यकर्मीहरुबाट निशुल्क स्वास्थ्य परीक्षण र प्रार्थ्मिक उपचार सेवा उपलब्ध गराईएको थियो भने स(साना बालबालिकाहरुको लागि बिशेष कार्यशाला संचालन गरिएको थियो ।

कार्यक्रमकै दिन सदस्यता वितरण गरेर शेर्पा किदुगले एक लाख दश हज्जार डलर कोषमा जम्मा हुन आएको किदुगका संरक्षक समिति संयोजक पेम्बा ग्याल्जेन शेर्पाले सुनाउँदै थिए । कार्यक्रममा संस्थाका अध्यक्ष उर्गेन शेर्पाले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए भने डोमा शेर्पाले कार्यक्रम संचालन गरेकी थिइन् ।

गुम्बाले तोकेको क्षमता भन्दा धेरै बढी टिकट माग आएको र सबैलाई टिकट पुर्याउन असमर्थ भएको र यस वर्षको ल्हासोमा धेरै मानिस छुट्न पुगेकोमा शेर्पा किदुले क्षमा याचना गरेको छ । साथै भावी दिनहरुमा तोकिएको समय भित्रै टिकट लिएर ढुक्क रहन समेत अनुरोध गरेको छ ।

Share

Related posts