लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष ल्हारक्याल लामाले लुम्बिनीमा रहेको मायादेवी मन्दिरको जीर्णोद्धार तथा विस्तारका लागि ७ करोड रुपैयाँ उपलब्ध गराउने घोषणा गर्नु भएको छ । सरकारबाट हालैमात्र नियुक्त हुनु भएका उपाध्यक्ष लामाले सरकारको आर्थिक सहयोग बिना दाताहरूको सहयोगमा मायादेवी मन्दिरको जीर्णोद्धार तथा मन्दिरमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनु भएको हो ।
लुम्बिनी विकास कोषको शुक्रबार बसेको बैठकमा उपाध्यक्ष लामाले मन्दिरको जीर्णोद्धारको लागि स्थापना गरिने कोषमा व्यक्तिगत रूपमा ७ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता गर्नु भएको छ । मायादेवी मन्दिर जीर्ण भएकाले पानी चुहिने गरेको छ भने कुनै पनि बेला मन्दिर भत्किन सक्ने जोखिममा छ । उपाध्यक्ष लामाले पानी चुहिने र जुनसुकै बेला पनि भत्किन सक्ने जोखिममा रहेको मायादेवी मन्दिरको जीर्णोद्धारको लागि कोष स्थापना गर्ने र त्यसमा सरकारको आर्थिक सहयोग नलिने प्रस्ताव गर्नु भएको हो ।
उपाध्यक्ष लामाको अध्यक्षतामा बसेको बैठकमा कोषाध्यक्ष ढुण्डिराज भट्टराई, सदस्य सचिव सानुराजा शाक्य र योजना प्रमुख सरोज भट्टराई सहभागी थिए । बैठकमा लुम्बिनी विकास कोषको सम्पर्क कार्यालय काठमाडौं स्थापना गर्ने सम्बन्धमा आगामी कार्यकारिणी समिति वा परिषद् बैठकमा प्रस्ताव पेश गर्ने निर्णय समेत भएको छ ।

