११ मंसिर, लुम्बिनी : बुद्ध जन्मस्थल लुम्बिनीको पवित्र उद्यान क्षेत्रलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने उद्देश्यले सरसफाइ अभियानलाई तीव्रता दिइएको छ। लुम्बिनीस्थित शान्तिदीपदेखि मायादेवी मन्दिरसम्म जाने प्रमुख मार्गको दुवैतर्फ सरसफाइ तथा सौन्दर्यीकरणको काम सुरु गरिएको हो।
लुम्बिनी विकास कोषले दर्शन तथा भ्रमणका लागि आउने स्वदेशी तथा विदेशी पर्यटकको आवागमन सहज बनाउनुका साथै पवित्र उद्यान क्षेत्रको वातावरण स्वच्छ र व्यवस्थित राख्ने लक्ष्यसहित सरसफाइ कार्यलाई प्राथमिकता दिएको जनाएको छ। यसअन्तर्गत पैदलमार्ग, पोखरी आसपासका क्षेत्र तथा बाटोका दुवैतर्फ रहेका फोहोर र झारपात हटाउने काम भइरहेको छ।
विशेषगरी शान्तिदीप वरिपरिको पोखरी, पैदलमार्ग र मायादेवी मन्दिर जाने बाटोमा सरसफाइ तथा व्यवस्थापनको काम धमाधम भइरहेको छ। लुम्बिनीको धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्वलाई थप उजागर गर्न उद्यान क्षेत्रको नियमित सरसफाइ र संरक्षण आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
विश्वभरका बौद्ध धर्मावलम्बी तथा पर्यटकका लागि आस्थाको केन्द्र रहेको लुम्बिनीमा स्वच्छ र शान्त वातावरण कायम राख्न यस्ता अभियानले महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। सरसफाइ कार्यसँगै लुम्बिनी पुग्ने पर्यटकले थप व्यवस्थित, सफा र आकर्षक वातावरणमा मायादेवी मन्दिर तथा आसपासका सम्पदाको अवलोकन गर्न पाउने भएका छन्।


